पर्यटन प्रवद्र्धन गर्न कालापत्थरमा फेसन रनवे शो «

पर्यटन प्रवद्र्धन गर्न कालापत्थरमा फेसन रनवे शो


नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा विश्वको सबैभन्दा उचाइमा ‘माउन्ट एभरेष्ट फेसन रनवे शो’ को दोस्रो संस्करण हुने भएको छ । नेपालसहित विश्वका विभिन्न देशका सेलिब्रेटी मोडल सहभागी हुने शो आगामी ६ सेप्टेम्बर २०२१ अर्थात् २१ भदौमा सगरमाथाको कालापत्थर क्षेत्रमा आयोजना हुने भएको हो ।
के फिल्म्स र एमई टू फिल्म्सको सहकार्यमा कार्यक्रम हुने आयोजकले जानकारी दिएका छन् । फेसन रनवेको पहिलो संस्करण २०७६ पुस–माघमा आयोजना भएको थियो, जुन कार्यक्रमले गिनिज बुक अफ वल्र्ड रेकर्डबाट विश्व कीर्तिमानको उपाधि प्राप्त गरेको थियो । यो वर्ष पनि कार्यक्रमलाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा रेकर्ड गराउने आयोजकको योजना छ । कार्यक्रमका अतिरिक्त सहभागी दुई सय जनाले समेत व्यक्तिगत रुपमा वल्र्ड रेकर्ड दर्ता गराउनेछन् ।
कार्यक्रमबारे जानकारी दिन सोमबार काठमाडौंमा आयोजना गरिएको पत्रकार भेटघाटमा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले नेपालको हिमाल, पहाड र तराईको पर्यटन प्रर्वद्धनका लागि बोर्डले छुट्टाछुट्टै योजना अघि सारेको सन्दर्भमा यो कार्यक्रमले नेपालको पर्यतीय पर्यटनमा नयाँ आयाम थप्ने बताए । विश्व समुदायले नेपाललाई मौसमी (सिजनल) पर्यटकीय गन्तव्यका रूपमा बुझ्ने गरेको भन्दै उनले असोजमा आयोजना गरिने यो कार्यक्रमले नेपाल सबै उमेर समूह र सबै सिजनको पर्यटकीय गन्तव्य हो भन्ने सन्देश दिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा ग्लोबल आइएमई बंैकका सीईओ रत्नराज बज्राचार्यले यस प्रकारका कार्यक्रमले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय समुदायमा परिचित गराउन थप सहयोग पुग्ने बताए । के फिल्म्सका प्रमुख कार्यकारी अधिकृत पंकज के गुप्ताले विश्वकै सबैभन्दा उचाइमा गरिने यो कार्यक्रमले दिगो पर्यटनको अवधारणालााई आत्मसात गरेको र यसले विश्वको ध्यान खिच्ने बताए ।
कार्यक्रमको निर्देशन भारतका एमई टू फिल्म्सका सञ्चालक तथा रियालिटी शो निर्देशक श्रुति आनन्दिता वर्मा र अमिताभ एस वर्माले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्