विकल्प हुदाँहुँदै विकासको नाममा विनाश

गुल्मीमा विकल्प हुदाँहुँदै विकासको नाममा विनाश गरेको स्थानीयले गुनासो गरेका छन् ।
जिल्लाको धुर्कोट गाउँपालिकाको वडा नम्बर ६ मा सडक विस्तार गर्ने क्रममा थुप्रै विकल्प हुँदाहुँदै विकासको नाममा विनाश गरिएको स्थानीय रविलाल भण्डारीले गुनासो गरेका छन् । सडक विस्तार गर्दा विकल्प हुँदाहुँदै घरलाई ठूलो क्षति हुने गरी सडक विस्तार कार्य अगाडि बढाएको भण्डारीको आरोप छ । साथै वडा नम्बर ६ कै किटेनी ओबान खोलामा कल्बर्ट राख्दा पनि स्थानीयको चाहनाविपरीत १० मुरी धान उत्पादन हुने खेतमा रोपाइँ गरेको सबै धान खोलाले बगाएको छ । “हामीले वडामा पटकपटक भने पनि आफ्नै तरिकाले खोलामा आउने पानीको आकारभन्दा साना कल्बर्ट राखेका छन्,” स्थानीय भण्डारीले भने, “खोला थुनिएर खेतमा पसेपछि धान उत्पादन हुने सबै खेत बगरमा परिणत भएको छ ।”
स्थानीय भण्डारीले वडा स्वतन्त्र नभएकाले आफूहरूले यस्ता थुप्रै समस्या भोग्नुपरेको र गाउँपालिकाबाट गरिएका काम वडाले अनुगमन नगरेकाले आफूहरूलाई समस्या भएको वडाध्यक्षसामु गुनासो गरे । धुर्कोट गाउँपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ गुल्मीको सहकार्यमा भएको सार्वजनिक सुनुवाइमा उपस्थित स्थानीयले वडाले गाउँपालिका र गाउँपालिकाले वडामा पठाउने कुराले आफूहरू वाक्क परेको गुनासो गरेका थिए ।
गाउँपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष कृष्णबहादुर नेपालीले गाविस र वडामा धेरै अन्तरभएकोले गाउँपालिकामा निर्णय गर्ने र कार्यान्वयन वडामा गर्ने बताए । वडाले ३ लाखसम्मका योजना अनुगमन गर्न मिल्ने भएकोले ठूला योजनामा आफ्नो ध्यान नभएको स्वीकार गरे । सडक विस्तार, बाढीपहिरो र अन्य कारणले जोखिममा परेका प्रतिघरलाई पाँच हजार दिने कार्यविधि रहेकाले त्यसअनुसार सहयोग गर्ने बताएका छन् । विकास गर्दा थोरैधेरै क्षति पुग्ने भन्दै कम क्षति हुनेगरी विकास निर्माण काम गरिने वडाध्यक्ष नेपालीले स्पष्ट पारे ।