स्पोर्ट ग्राममा मुलुककै नमुना कवर्डहल निर्माण «

स्पोर्ट ग्राममा मुलुककै नमुना कवर्डहल निर्माण

विराटनगर-मोरङको सुन्दरहरैंचास्थित स्पोर्ट ग्राममा मुलुककै नमुना कवर्डहल निर्माण गरिएको छ ।
जनसहभागितामा निर्माण भएको कवर्डहललाई मुलुककै सबैभन्दा सुविधासम्पन्न र नमुना भएको दाबी गरिएको छ । उद्योगी एवं समाजसेवी भोलेश्वर दुलाल (भोला) को सक्रियतामा कवर्डहल निर्माण भएको हो । दुर्गादेवी दुलाल सुन्दरहरैंचा स्पोर्ट ग्रामअन्तर्गत हल निर्माण गरिएको छ । १० कठ्ठा क्षेत्रफलमा ग्राम निर्माण गरिएको छ । कवर्डहल निर्माण गर्न १ करोड ८३ लाख ७३ हजार लगानी भइसकेको छ । अझै केही लगानी लाग्नेछ । सबै लगानी जोड्दा २ करोड पुग्ने स्पोर्ट ग्रामका अध्यक्षसमेत रहेका दुलालले जनाए ।
स्पोर्ट ग्राममा टेबल टेनिस, बास्केटबल र भविलब कोर्ट पनि निर्माण गरिनेछ । सुन्दरहरैंचा नगरपालिकाको १८ लाख, राष्ट्रिय खेलकुद परिषद्को १४ लाख सहयोग र स्थानीय व्यवसायी र सर्वसाधारणको सहयोगमा स्पोर्ट ग्राममा कवर्डहल निर्माण गरिएको हो । निर्माण सम्पन्न भएको कवर्डहलमा अन्तर्राष्ट्रिय व्याडमिन्टल प्रतियोगिता आयोजना गर्न लागिएको दुलालले जानकारी दिए । कवर्डहल निर्माणमा ४५ लाख ऋण तिर्न बाँकी रहेको बताउँदै उनले पुस २७ गतेबाट खुला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागेको बताए ।
“हामीले नेपालकै नमुना हल निर्माण गरेका छौं,” उनले भने, “सम्भवतः यस्तो सुविधासम्पन्न हल नेपालका अन्य ठाउँमा छैन ।” हलमा १ सय ६५ फिट लम्बाई, ७५ फिट चौडाइ र ३५ फिट उचाइ छ । उनका अनुसार २ वटा काठ पार्केटिङ गरेको व्याडमिन्टन पोट, बास्केटवल, भलिबल र टिटिसहित छ । हलभित्र महिला तथा पुरुषका लागि छुट्टाछुट्टैै चेन्जिङ रुम तथा बाथरुम पनि छ । १ सय ७० जना भीआईपी अटाउन सकिने प्याराफिट छ भने ७ सय दर्शकदीर्घाबाट हेर्न सकिने व्यवस्था गरिएको छ । हलमा बिहान–बेलका जुनसुकै समयमा खेल्न सकिने व्यवस्था मिलाइएको अध्यक्ष दुलालले बताए । ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७२ फागुन १ गते निर्माण सुरु गरिएको थियो ।
यसैबीच, पुस २७ गतेबाट खुल्ला अन्तर्राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । माघ २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका ३ सय खेलाडीले सहभागिता जनाउने अध्यक्ष दुलालले बताए । दुलालका अनुसार खुला पुरुषतर्फ विजेताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै खुला पुरुष–महिलातर्फ प्रथम पुरस्कार ५० हजार दोस्रो २५ हजार र तेस्रो १० हजार रुपैयाँ तोकिएको छ । त्यस्तै ४५ वर्षमाथिका खेलाडीहरूका लागि भेट्रान प्रतियोगिता पनि आयोजना गरिनेछ । प्रतियोगिता सञ्चालनका लागि १५ लाख खर्च लाग्ने दुलालले जानकारी दिए । पुरस्कारका लागि मात्र ५ लाख रुपैयाँ छुट्याइएको छ । खेलकुदको विकासका लागि नगरपालिकाले जस्तोसुकै सहयोग गर्न तयार रहेको सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले बताए । “नगरपालिकाको गौरवकै रुपमा ऐतिहासिक प्रतियोगिता हुँदैछ,” उनले भने, “त्यसका लागि नगरपालिकाका तर्फबाट कुनै कमी हुन दिंदैनौं ।”

 

प्रतिक्रिया दिनुहोस्