बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि म्याराथन «

बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि म्याराथन

तनहुँको पर्यटकीय नगरी बन्दीपुरको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले मिनी म्याराथन प्रतियोगिता हुने भएको छ । बन्दीपुर गाउँपालिकाले माघे सङ्क्रान्ति पर्वको अवसरमा माघ १ गते मिनी म्याराथन दौड प्रतियोगिता आयोजना गर्न लागेको हो ।
गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले म्याराथन दौडले व्यक्तिको शारीरिक विकासको साथसाथै बन्दीपुरको पर्यटन प्रबद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिएको बताए ।
उनले भने, “बन्दीपुरलाई पर्यटनको माध्यमबाट परिचित गराउन गाउँपालिकाले विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ, त्यसैको सन्दर्भमा मिनी म्याराथन गर्न लागेका हौं ।” गाउँपालिकाले केही समय अगाडि मात्रै बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफाभित्र टेबलटेनिस प्रतियोगिता र कविता वाचन प्रतियोगितासमेत सम्पन्न गरेको थियो ।
गाउँपालिका–१ डुम्रे बजारदेखि वडा नं ४ टुँडिखेलसम्मको ८ किमि दूरीको म्याराथन दौडमा प्रथम हुनेलाई ४० हजार रुपैयाँ, द्वितीय हुनेलाई २० हजार, तृतीय हुनेलाई १० हजार र सान्त्वना हुनेलाई ५ हजार रुपैयाँ प्रदान गरिने गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिए ।
गाउँपालिकाले सोही अवसर पारेर ७५ वर्ष उमेर पुगेका एकल महिलालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रमसमेत तय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्