टेलिकमको ५५ प्रतिशत नगद लाभांश पारित «

टेलिकमको ५५ प्रतिशत नगद लाभांश पारित

नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) का सेयरधनीहरूले २०७३/७४ को नाफाबाट प्रतिसेयर ५५ प्रतिशत नगद लाभांश पाउने भएका छन् । कम्पनीको आइतबार सम्पन्न १० औँ साधारण सभाले यो प्रस्ताव पारित गरेको हो । सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०७४ आषाढ मसान्तको वासलात तथा सोही आव २०७३/७४ को नाफानोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणलाई छलफल गरी सर्वसम्मत पारित गरेको छ । सभाले सर्वसाधारण सेयरधनीमध्येबाट निर्वाचित हुने सञ्चालकको कार्यकाल ३ वर्ष वा नियुक्ति भएको मितिदेखि तीनवटा साधारण सभा बस्ने मिति मध्ये जुन पहिलो हुन्छ, सो मितिसम्म मात्र हुने व्यवस्था गरेको छ ।
कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले साधारणसभामा प्रतिवेदन पेस गर्दै नेपालको दूरसञ्चार क्षेत्रको समग्र विकास र विस्तारमा उल्लेख्य योगदान पुराउदै ग्राहक आधारमा उत्साहप्रद विस्तार तथा मुनाफा आर्जन गर्न सफल भएको बताए । गुणस्तरीय सेवा तथा सेवाको सहज उपलब्धतामार्फत आप्mनो बजार हिस्सालाई मजबुत गर्न तथा व्यावसायिक उद्देश्य हासिल गर्न कम्पनी निरन्तर सेवाको संख्यात्मक विस्तार र गुडात्मक  सुधार गर्न प्रतिबद्ध रहेको बताए । आव २०७३/७४ मा खुद मुनाफा १५ अर्ब ३७ करोड रुपैयाँ कायम राख्न कम्पनी सफल भएको र गत आवको तुलनामा १७ दशमलव २३ प्रतिशतले ग्राहक संख्यामा वृद्धि भई १ करोड ७६ लाखभन्दा बढी ग्राहकलाई नयाँ प्रविधिमा आधारित सस्तो तथा भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराएको जानकारी दिए ।
सेवा विस्तारको कार्यलाई नाफामूलक क्षेत्रहरूमा मात्र सीमित नराखी तुलनात्मक रूपमा लगानी बढी हुने मुलुकको अति विकट तथा ग्रामीण क्षेत्रहरूमा समेत सूचना तथा सञ्चार प्रविधि उपलब्ध गराई मुलुकमा व्याप्त डिजिटल डिभाइड न्यूनीकरण गर्ने र डिजिटल इन्क्लुजनको अवधारणालाई साकार पार्ने कार्यमा कम्पनी लागेको बताए । कम्पनीबाट सञ्चालित आयोजनाहरू तोकिएको समयमा सम्पन्न गर्ने उद्देश्यले आयोजना कार्यान्वयनको अनुगमन प्रणालीलाई प्रभावकारी बनाई कम्पनीको सेवा विस्तार तथा सेवाको गुणस्तर कायम गर्न अहम् भूमिका निर्वाह गर्ने आपूर्तिकर्ता, परामर्शदाता र निर्माण व्यवसायीलाई थप जिम्मेवार भई कम्पनीसँग सहकार्य गर्न अभिपे्ररित गर्न खरिद सम्झौतामा नै यथोचित व्यवस्था मिलाउने गरी प्रकृया सुरु भएको समेत जानकारी दिए । रणनीतिक साझेदारको नियुक्ति, कार्यान्वयनलगायत आवश्यक कार्यहरूमा परामर्श तथा सहजीकरणको लागि परामर्शदातासँग सम्झौता गरी यसका लागि आवश्यक तयारी कार्य अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।
सेयरधनीहरूलाई लाभांश रकम मंगलबारदेखि उपलब्ध गराउने व्यवस्था गरिएको छ । यो लाभांश अहिलेसम्म वितरण गरिएको लाभांश रकम मध्ये सबैभन्दा बढी हो । साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन २०६३ को प्रावधान अनुरूप आर्थिक वर्ष २०७४/७५ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउन्टेन्ट सुबोध कुमार कर्ण र अच्युतराज जोशीलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै उनीहरूको पारिश्रमिक पनि पारित गरेको छ ।

२८ महिनाभित्र देशभर फोरजी सेवा
टेलिकमले फोरजी सेवा देशैभर विस्तार गर्न २८ महिना लाग्ने बताएको छ । टेलिकमले फोर जी सेवालाई देशभर विस्तार गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढिसकेको बताएको छ । साधारणसभामा अध्यक्ष केदार बहादुर अधिकारीले २८ महिनाभित्र ६५ लाख ग्राहकलाई फेरजी सेवा उपलब्ध गराउने बताए ।
नेपाल टेलिकमले एक वर्षअघि फोर जी सेवा सुरु गरेकामा त्यो सेवा काठमाडौं र पोखरामा मात्र सीमित छ । साधारणसभामा सहभागी सेयरधनीहरुले फोर जी सेवा विस्तारमा ढिलाइ गरेको भन्दै टेलिकमको व्यवस्थापनको आलोचना गरे । उनीहरुले टेलिकमभन्दा पछि सेवा सुरु गरेको निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले देशका २१ वटा शहरमा फोरजी विस्तार गरिसकेको भन्दै स्रोत साधन सम्पन्न सरकारी कम्पनी कछुवाको गतिमा अगाडि बढ्नु आपत्तिजनक भएको बताए ।
टेलिकमले ग्राहकलाई उच्च गतिको डाटा सेवा उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको भन्दै फोरजी सेवा विस्तार गर्न टेण्डर आव्हान गरिसकेको बताएको छ । सञ्चालक समितिका अध्यक्ष अधिकारीले टेलिकमले फोन प्रयोग भन्दा फोर जी सेवा विस्तार गरेरै आम्दानी बढाउने लक्ष्य लिएको बताए । यस्तै, नेपाल टेलिकमका सेयरधनीहरुले प्रशासनिक खर्च घटाउन व्यवस्थापनसँग आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्