अर्घाखाँचीका टोलटोलमा ट्याक्सी «

अर्घाखाँचीका टोलटोलमा ट्याक्सी

अर्घाखाँची-जिल्लाका ६ स्थानीय तह, ६१ वडा । प्रदेश ५ को पहाडी जिल्ला भए पनि सबैभन्दा पहिले सबै वडामा गाडी र सडक पुग्ने जिल्लाका रूपमा अर्घाखाँचीलाई चिनिन्छ । पहिले जिप, बस पुग्ने ठाउँमा अहिले सरर ट्याक्सीमै यात्रा गर्छन् जिल्लावासी । पहाडी जिल्ला, भूगोलले विकट भएका क्षेत्रका सबै गाउँठाउँमा ट्याक्सी चढेर घुम्न पाइन्छ  । बस र जिप नपुग्ने ठाउँ, हिउँदमा धुलाम्मे सडक र वर्षाको हिले सडकमा पनि ट्याक्सी चल्छन् ।
अर्घाखाँची ट्याक्सी व्यवसायी समिति प्रालिमा दर्ता भएका ट्याक्सी सञ्चालनमा छन्् । लंका यातायात र रातो नम्बर प्लेट्का गरी करिब जिल्लामा १७० ट्याक्सी सञ्चालनमा आएको ट्याक्सी व्यवसायी संघका अध्यक्ष महेन्द्र भुसालले जानकारी दिए । “सुरुवातमा ट्याक्सी सञ्चालनमा ल्याउँदा १० वटाबाट परीक्षण सुरु गरियो, पछि माग बढेपछि विस्तारै ट्याक्सीको संख्या बढ्दै गयो,” भुसालले भने ।
सानो जिल्लामा ट्याक्सी चल्दैन भनी धेरै अवरोध सिर्जना भए, देउराली यातायात र पश्चिम यातायातले अवरोध गरे पनि केही समयपछि अवरोध गर्न छोडे, जिल्लामा ट्याक्सी व्यवसायी सफल भए । ट्याक्सीबाट करिव २०० युवाले रोजगारसँगसँगै राम्रो आम्दानी गर्न सफल भए, सुरुमा ट्याक्सी चलाउने ड्राइभर अहिले मालिक बने अध्यक्ष भुसालले भने ।
रातो प्लेट्ले व्यवसायीलाई अफ्ठ्यारो पारेको बताउँदै चल्न नदिनका लागि प्रशासनलाई जानकारी दिएको ट्याक्सी व्यवसायीले जनाएको छ । कच्ची बाटोमा प्रतिकिलोमिटर ७७ रुपैयाँ र पक्कीमा ४८ रुपैयाँ दररेट कायम भएको छ । “पहाडी जिल्ला घुमाउरो बाटोमा मिटर राख्न सम्भव छैन,” भुसालले भने, “परीक्षणका लागि १० वटा मिटर ल्याउँदै छौं, परीक्षण सफल भए सबै ट्याक्सीमा मिटर जडान गर्छौं कोही यात्रु ट्याक्सीको सेवाबाट ठगिनु पर्दैन, समयमा आरामदायी सेवा दिएका छौं ।
दुर्घटना कम गराउन ट्राफिक प्रहरीसँग सहकार्य गरेर प्रशिक्षण दिने र चालकलाई परिचय पत्र पनि दिइएको छ । जिल्लामा ट्याक्सी सञ्चालनमा आएको ५ वर्ष भयो । दिनभर सदरमुकामको काम गरेर १ घण्टामै बेलुका घर पकाएको भात खान पुग्छन्, जिल्लावासी ।
बिरामी परेका बेला, महत्वपूर्ण काम, वर्षा र हिलो सडकमा पनि ट्याक्सीले सहज भएको छ, जिल्लावासीलाई । २२ वर्षसम्म अन्य यातायातका साधन चलाएर ट्याक्सी चलाउन लागेका डिभर्नाका नामदेव खनाल ट्याक्सी लिएर सबै वडामा पुगेका छन् । “३ वर्ष जिल्लामा ट्याक्सी चलाउँदा हिउँदमा धुलो र वर्षामा हिलोले ट्याक्सी चलाउनै गाह्रो हुने गरेको छ,” खनालले भने । कतिपय ठाउँमा ट्याक्टरले खाल्डा बनाउँदा धकेल्दै भए पनि समस्याको समाधान गरेर यात्रुलाई गन्तव्यसम्म पु¥याउने गरेको खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्