कर्णाली राजमार्गका खाल्डा पुरिएनन् «

कर्णाली राजमार्गका खाल्डा पुरिएनन्

जुम्ला-क. क्षेत्रीय ट्राफिक कार्यालय कोहोलपुरका अनुसार ५ वर्षको अवधिमा ३३० सवारी दुर्घटना, ३०९ जनाको मृत्यु र ५५४ घाइते
क. हाल कर्णालीमा दुई लेनको सडकभन्दा पनि पुरानै सडकको स्तरवृद्धि तथा खाल्डा पुरेमा जोखिम घट्ने मृत्युमार्गको उपनामले चिनिने कर्णाली राजमार्गका खाल्डा वर्षौंसम्म पनि पुरिएका छैनन् । पछिल्लो समय कर्णाली राजमार्गमा बढ्दै गएको आर्थिक गतिविधिले एकातर्फ चहल पहल बढेको छ । तर सडकको अवस्था भने दयनीय छ । डर र त्रासकै बीच यात्रा गर्न बाध्य छन् कर्णालीका नागरिक ।
साँघुरो एक लेनको सडक त्यसैमा पनि खाल्डैखाल्डा भएको सडक । जुम्लादेखि सुर्खेतसम्म पर्ने २ सय ३२ किमि सडकमा खाल्डा नभएको ठाउँ खाली छैनन् । निकै महत्वकाँक्षी योजना सार्वजनिक गरेको कर्णाली सरकारले राजमार्गको स्तरवृद्धिका विषयमा अहिलेसम्म केही गर्नसकेको छैन । सयौंको ज्यान जाने गरी जोखिम सडकै कारण कर्णालीमा दुर्घटना भइसकेका छन् ।
ठाउँठाउँमा साइरन जडान गरी दुर्घटना कम गर्ने भनिए तापनि प्रभावकारी देखिएको छैन । विकास मेरुदण्ड पाँच ‘स’ लाई विशेष प्राथमिकता दिने कर्णाली सरकारको नीति तथा कार्यक्रमले कर्णाली राजमार्गलाई छुन सकेको छैन । तल्लोडुंगेश्वरदेखि  ल्ताडासम्मको सडक गाडी गुड्न लायक छैन । पूरै धुलो माटोले रूपै फेरिने अवस्था छ । साथै, दही खोला, खल्लाघाट, किटु खोला, पिलीलगायत दर्जनौं ठाउँ कर्णाली राजमार्ग दुर्घटनाका हिसाबले निकै जोखिमपूर्ण छन् ।
तर त्यही बाटोमा सवारी गुडेको डेढदशक पुग्न लागिसक्दा पनि जोखिपूर्ण ठाउँमा कालोपत्र त कुरै नगरौं ग्राबेल पनि भएको छैन । जहाँ कालोपत्रे भएको थियो ती ठाउँमा वर्ष नपुग्दै खाल्डा परिसकेका छन् । तर वर्षौं बित्यो, कर्णाली राजमार्ग दुई लेन, गर्ने खाल्डा पुर्ने भनिएको तर आजसम्म कर्णाली राजमार्गको अवस्था ज्यूँका त्यूँ छ ।
सरकार जति परिवर्तन भए पनि कर्णालीवासी र राजमार्गको अवस्था भने उस्तै छ । कालिकोट खाँडाका स्थानीय अम्मर शाहीले भने, २०६१ सालबाट गाडी गुडेको सडक आजसम्म उस्तै छ । सरकारले गफमात्र लगाउने काम भने कछुवाको गति छ । उनले थपे, अहिले कर्णालीमा दुईलेनको सडक आवश्यकता होइन । मात्र भएको सडकलाई व्यवस्थित बनाउने र खाल्डा पुरेमा सुरक्षित यात्रा हुने उनको भनाइ छ । तर सरकारको ध्यान गएको छैन ।
गुणस्तरहीन काम भएको र सडकमा पानी बग्ने, जम्ने र ढलनिकास नभएका कारण ओटासिल एकडेढ वर्ष नपुग्दै उप्किँदै जाने गरेको स्थानीय लोकबहादुर परियारले बताए । निमार्णपछि मापदण्डअनुसार भए नभएको हेर्ने निकाय नहुँदा खाल्डैखाल्डा परेको हो ।
दुई वर्ष पहिलेमात्रै गरेको कालोपत्रे एक वर्ष बित्न नपाउँदै उप्किँदै जान थालेको छ । खाल्डै खाल्डाको कर्णाली राजमार्ग हुन थालेको छ । खाल्डा खुल्डीकै कारण दैलेखको तल्लो डुंग्गेश्वरदेखि ताडीसम्मको ५० किलोमिटर पार गर्न ५ घण्टा यात्रा गर्नुपर्छ ।

सरकारको योजनामात्रै
प्रदेश सरकारले योजनामात्रै बनाउने कि अवस्था अनुसारको व्यवस्था गरी नागरिकलाई सेवा दिने स्थानीय प्रश्न गरिरहन्छन् । दुर्घटना कम गर्न यातायात व्यवसायीले नाफाभन्दा सेवाभाव राख्नुपर्ने कर्णाली यातायात व्यवस्था संघ जुम्लाका अध्यक्ष मिनबहादुर थापाले बताए । उनका अनुसार सरकार योजनामात्रै बनाउने, गाडी व्यवसायी कमाउ धन्दा चलाउने अनि कसरी हुन्छ सडक समृद्धि ।
“सयौं ठाउँमा कालोपत्रे गरेको अनुमान नै नहुने गरी सडक बिग्रिएको छ, धेरै ठाउँमा पहिरोले पिच पनि भत्काएको छ,” नागरिक समाजका सदस्य मानदत्त रावलले भने । उनका अनुसार कर्णाली सरकार यसबारे सुतेको नाटक गरेको उनको भनाइ छ । २०७२ असार मसान्तमा ओटासिल प्रविधिबाट कर्णाली राजमार्ग कालोपत्रे सम्पन्न भएको थियो । राजमार्गको राचुली, खल्लागाड, पिलीभीर, मान्मको सुनार खोला, सेरिघाट, दैखोलाल र सुर्खेतका बड्डीचौरदेखिदैलेखको डुगेश्वरसम्मको ६० किलोमिटर खण्डमा पुरै कालोपत्रे उप्किएको छ ।

दर्जनौं पुल अलपत्र
सरकारले यहाँ भएका विभिन्न अप्ठ्यारा सडक र पुलहरूलाई छिटो निर्माण सम्पन्न गरेर सहज यात्रा गराउनका लागि करोडौं रकम खर्च गरेको छ । खर्च गरेका रकममध्ये कतिपय काम सम्पन्न भएर पनि गुणस्तरीय भएका छैनन् भने कतिपय काम निर्माण कम्पनीको लापरबाहीका कारण सम्पन्न हुन सकेका छैनन् ।
कर्णाली राजमार्गमा पर्ने दर्जनौं पुलमध्ये अहिले बल्ल बिहानी खोलाको पुल बनेर सञ्चालनमा आएको छ । अन्य सबै अलपत्र छन् । दैलेख र कालिकोटको सिमानामा रहेको किट्टुभीर नजिक ४ करोड ५१ लाख लागतको घट्टेखोला पुल निर्माणका लागि २०६९ सालमा सम्झौता भए पनि अहिलेसम्म अधुरै छ ।
सो पुल निर्माणका लागि १५ महिनाभित्र काम सक्ने भन्दै याक्थुमहार गोल्डेन जेभी काठमाडौंले जिम्मा लिएको थियो । तर, सो कम्पनीले अहिलेसम्म १० प्रतिशत पनि काम नसकेको र उल्टै सडक बिगारेको कारण यात्रु मर्कामा परेका स्थानीयको आरोप छ । राजमार्ग प्रयोग गर्दै आइरहेका आठबिस नगरपालिका दैलेखका नैनबहादुर शाहीले पुल अड्याउने फलामका रडमा खिया लागिसकेको बताउँदै सम्बन्धित निकायले चासो नदेखाएको गुनासो गरे ।
सरकारले योजना निर्माणको जिम्मा दिएपछि त्यसको अनुगमन, गुणस्तर मापन, कार्यविधि अनुसार सार्वजनिक सुनुवाइ, लेखापरीक्षण, जन श्रमदानलगायत कुरामा सुरुदेखि चासो नदेखाउने गरेकोले ठेकेदारले लापरबाही गरेका छन् । अधिकांश स्थानीयले अलपत्र परेका निर्माणाधीन पुलको जिम्मा लिएका निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने र लाइसेन्स खारेज गर्नुपर्ने माग राख्दै आएका छन् ।
दैलेख खण्डमा पर्ने गोठखोला र कुमाले खोलामा ४ करोड बढी लागतमा पुल निर्माणको जिम्मा लिएको बिटी धर्मेन्द्र १४ जेभी निर्माण कम्पनीले कामै सम्पन्न नगरेपछि सडक डिभिजन कार्यालय सुर्खेतले सो कम्पनीलाई कालोसूचीमा राखिसकेको सडक डिभिजन सुर्खेतका प्रमुख बेलबहादुर भुजेलले बताए ।
राजमार्गको दैलेख खण्डको जाक्सी खोलामा पुल निर्माणका लागि ढलान गर्न मात्र बाँकी राखेर अलपत्र छोडेको छ । पुल निर्माणको जिम्मा लिएको सिरुवार सुनकोसी र कवीर जेभीलाई तत्काल काम सम्पन्न गर्न ताकेता गरेपछि एक साताभित्रै काम सुरु गर्ने सडक डिभिजन सुर्खेतले जनाएको छ । पुल निर्माणका लागि १५ महिनाभित्र काम सक्ने भन्दै याक्थुमहार गोल्डेन जेभी काठमाडौंले जिम्मा लिएको थियो ।
दैलेख, कालिकोट र जुम्ला खण्डमा पक्की पुल निर्माणको जिम्मा लिएका विभिन्न दर्जन बढी कम्पनी निर्माण छाडेर बेखबर बनेका छन् । दैलेख, कालिकोट हुँदै जुम्लासम्म जोड्ने कर्णाली राजमार्गअन्तर्गत घट्टेखोला, कालेखोला, टाकुल्ला खोला, छिडेना खोला, खल्लागाड, बालीगढ, सिम्ला खोलाको पुल निर्माणको जिम्मा लिएका ठेकेदारहरू फरार छन् पुल अलपत्र छन् ।
विश्व बैंकले यसवर्ष कर्णाली राजमार्गको यात्रा सहजताका लागि सानाठूला पुलहरू गरेर ७६ करोड रुपैयाँ बराबरको निर्माणकार्य कम्पनीलाई दिएको सडक डिभिजन सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्