भारतद्वारा १५० आईसीयू बेड हस्तान्तरण «

भारतद्वारा १५० आईसीयू बेड हस्तान्तरण

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार आयोजित एक समारोहबीच १५० वटा आईसीयू बेड हस्तान्तरण गरेका छन् । हस्तान्तरण समारोहमा राजदूत क्वात्राले अत्यावश्यक स्वास्थ्य पूर्वाधारमा भारतले नेपाललाई सहयोग गर्ने र महामारी व्यवस्थापनमा समग्र रूपमा भारतको निरन्तर सहयोग रहने प्रतिबद्घता जनाए ।
मन्त्री कार्कीले भारत सरकारको कदमको सराहना गर्दै कोभिड–१९ विरूद्धको लडाइँमा एक महत्वपूर्ण कोसेढुंगा भएको र यसले दुवै देशले देखाएको अतुल्य सद्भावलाई दर्शाउँने बताए । महामारी सुरु भएयता अत्यावश्यक औषधि आरटी–पीसीआर टेस्ट, भेन्टिलेटरलगायत अन्य स्वास्थ्य सामग्री उपलब्ध गराई भारतले नेपाललाई ६.५ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहयोग प्रदान गरिसकेको छ । गत जनवरीमा भारतले उपलब्ध गराएको १० लाख डोज कोभिसिल्ड खोप पाउने पहिलो मुलुकमध्येको नेपाल पनि हो । यसका अतिरिक्त भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज खोप प्रदान गर्नुका साथै एन्टिजेन परीक्षण सामग्री, पीपीई, मास्क, एम्बुलेन्स तथा आईसीयू बेडलगायतका स्वास्थ्य सामग्री पनि प्रदान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्