रुपन्देही प्रहरी कार्यालयमा कम्प्युटराइज्ड नागरिक सेवा केन्द्र

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नागरिक सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । कार्यालयमा आउने सेवाग्राहीलाई थप सजिलो र सहजता होस् भन्दै डिजिटल प्रविधिमा आधारित नागरिक सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।
सेवा केन्द्रको आइतबार लुम्बिनी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डिआइजी) मुकुन्द राज आचार्यले शुभारम्भ गरे । उनले नागरिकका कामहरु छिटो छरितो सम्पादन गर्ने उद्देश्यले स्थापना भएको सेवाकेन्द्रले कार्यसम्पादनमा थप सजिलो हुने बताए । नागरिकको शान्ति सुरक्षाका लागी प्रहरी कटिबद्ध रहेको जनाउँदै उनले डिजिटल प्रविधिमा आधारित सेवा केन्द्र सञ्चालनले अब नागरिकलाई फाइदा हुने र कुनै पनि काम लिएर प्रहरी कार्यालयमा गएपछि पद्धति अनुसार काम हुने बताए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख तथा प्रहरी उपरीक्षक मनोज केसीले नागरिक सेवा केन्द्रलाई कम्प्युटरकृत बनाइएको बताए । ‘अब कुनै पनि नागरिक समस्या लिएर आउँदा पहिला गेटमै रहेको नागरिक सेवा केन्द्रमा आफ्नो काम र फाँट उल्लेख गरेपछि सेवा केन्द्रका प्राविधिकले कम्प्युटरमा निवेदन इन्ट्री गरेपछि सो सम्बन्धित फाँटमा पुग्ने भएकाले काममा सहजता आउने र जो पहिला आउँछ उसैको काम अगाडि हुने र उनीहरुलाई टोकन समेत दिइने प्रहरी उपरीक्षक केसीले बताए । पछाडि आएर मेरो पहँुच छ छिटो काम हुन्छ भन्ने हुँदैन, सबै टोकन प्रणाली अनुसार हुन्छ,’ उनले भने ।
डीआईजी आचार्यले सिद्धार्थनगर नगरपालिका वडा नम्बर १को बेलहिया–परासी बाइपासमा प्रहरी चेक प्वाइन्ट कक्षको उद्घाटन गरे । प्रहरी कक्ष निर्माण ५ लाख रुपैयाँ लागतमा तयार भएको रुपन्देही प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी)सत्य नारायण थापाले बताए । राजमार्गमा चेकिङ गर्न बस्ने प्रहरी जवानहरुका लागी त्यहाँ कुनै कक्ष नहँुदा बाटोको छेउमा अस्थायी कुटी बनाई प्रहरी बसेका देखिन्थे । प्रहरी कक्ष निर्माणले अब घाम पानीमा पनि सेवामा खटने अधिकृत एवं जवानहरुलाई सजिलो हुने प्रहरी प्रवक्ता थापाले बताए ।