जडिबुटीको मूल्य दोब्बरले घट्दा व्यवसायी चिन्तित «

जडिबुटीको मूल्य दोब्बरले घट्दा व्यवसायी चिन्तित

नेपालगन्ज-जडिबुटी संकलन र निकासीका बेलामा नै दोब्बरले मूल्य घटेपछि जडिबुटी किसान र व्यवसायी निरास भएका छन् । मूल्य घटेपछि कृषकले आफूले उत्पादन गरेका जडिबुटी व्यवसायीलाई बिक्री गर्न मानिरहेका छैनन् भने व्यवसायीले आफ्नो गोदाममा पहिल्यै स्टक रहेको जडिबुटी पनि बिक्री गर्न सकेका छैनन् ।
मूल्य घटेको तथा निकासीमा दिनदिनै नयाँनयाँ समस्या आउने गरेका कारण जडिबुटी निर्यातको अवस्था यतिबेला शून्यमा झरेको नेपाल जडिबुटी व्यवसायी संघले जनाएको छ ।
धेरै प्रकारका जडिबुटी भारतमा निकासी गर्न रोक लगाइएकाले भारतबाट माग नआएपछि उनीहरुको मूल्य घटेको जनाउँदै नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष मोहम्मद याकुब अन्सारीले सोही कारणले निकासी शून्यमा झरेको बताए ।
जडिबुटी व्यवसायी संघका अनुसार सबैभन्दा बढी निर्यात हुने टिम्मुर, पखान बेद, तेजपत्ता, रिठ्ठा जस्ता जडिबुटीको मूल्य दोब्बरले कम भएपछि सिजनमा जडिबुटी बिक्री गरेर आम्दानी गरौंला भनेर बसेका किसान र व्यवसायी निकै निरास बनेका छन् ।
गत वर्षको सिजनमा प्रतिकेजी १२ सयसम्म बिक्री भएको टिम्मुरको मूल्य अहिले साढे ६ सयसम्म झरेको छ । पखान बेदको मूल्य ८० रुपैयाँ प्रतिकेजी भएकोमा अहिले ६० रुपैयाँमा झरेको छ ।
त्यस्तै तेजपत्ता ५५ रुपैया प्रतिकेजीबाट ४० रुपैयाँमा झरेको छ । रिठ्ठा प्रतिकेजी ५५ बाट ४० रुपैयाँमा झरेको छ । अर्को प्रकारको पखान बेदको मूल्य गतवर्ष ५५ रुपैयाँ प्रतिकेजी रहेकोमा अहिले ४० रुपैयाँमा झरेको छ ।
गत वर्ष सिजनमा टिम्मुर मात्र १ लाख ६६ हजार किलोग्राम भन्दा बढ निर्यात भएको थियो । रिठ्ठा मात्र ५ लाख ६९ हजार किलोग्राम बिक्री भएको थियो । त्यस्तै पखानवेद ८ लाख किलो, तेजपत्ता ४ लाख ३७ हजार किलो बिक्री भएको थियो ।
मध्यपश्चिमका पहाडी जिल्लामा पाइने टिम्मुर, काउलो र रिठ्ठा खरिद गरी व्यवसायीले विदेश निकासी गर्दै आएका छन् । तर निकासीका क्रममा जडिबुटी व्यवसायीले झन्झट ब्यहोर्नुपरेको र धेरै जडिबुटीलाई भारतले निकासीका लागि सूचिकृत नगरेका कारण निकासी अतिनै न्यून भइरहेको नेपाल जडिबुटी व्यवसायी संघका पूर्व अध्यक्ष मधुकर थापाले बताए । “थुप्रै प्रकारका जडिबुटीको माग तेस्रो देशमा बढ्दै गएको छ, तर छिमेकी भारतकै उत्तरप्रदेश सरकारको विभिन्न अड्चनका कारण निर्यातमा धेरै ठूलो समस्या झेल्नु परेको छ,” पूर्वअध्यक्ष थापाले भने । भारतको उत्तर प्रदेश सरकारले नेपाल–भारत पारवहन सन्धी विपरीत जडीबुटी निर्यातमा ‘ट्रान्जिट परमिट’ लिनुपर्ने व्यवस्था लागू गरेपछि केही वर्षयता निरन्तर रुपमा जडीबुटी व्यवसायीले थप सास्ती भोग्नुपरेको छ ।
हाल निकासीमा रोक लगाइएका ५४ प्रकारका जडिबुटीको निकासी खुलाउन भारत सरकारसँग पहल गरिदिन यस क्षेत्रका किसान, संकलनकर्ता र व्यवसायीले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्