पर्यटक बढाउन पूर्वाधारमा जोड «

पर्यटक बढाउन पूर्वाधारमा जोड

 कर्णालीमा पर्यटन बहस

जुम्ला-नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को नयाँ सय गन्तव्यमा कर्णालीका १८ वटा ऐतिहासिक, पुरातात्विक तथा धार्मिक गन्तव्य परेका छन् । यसमा सुर्खेतका ६ वटा क्षेत्र रहेका छन् भने जुम्लाका सिञ्जा सभ्यता र डुडुल चैत्यमात्रै समावेश गरिएका छन् ।
१४ सय वर्ष पुरानो ऐतिहासिक महत्व बोकेको चन्दननाथ मन्दिर, तातोपानी, पातारासी, विश्वकै उच्च स्थानमा धान फल्ने क्षेत्र, छुमचौर जिउलो, गिडि दह, गुठिचौरलगायत अरु कुनै पनि पर्यटकीय क्षेत्र सय गन्तव्यमा पर्न सकेनन् ।
जहाँ हेर्ने तथा देख्ने अवलोकन गर्ने प्रशस्त ठाउँ छ, ती गन्तव्यको सूचीमा परेका छैनन् । सुर्खेतको मदन पार्कलगायत अन्य क्षेत्र भने सूचीमा परेका छन् । यसले गर्दा कर्णालीका पर्यटन सम्भावना ओझेलमा पर्ने भन्दै कर्णालीबासीले चासो व्यक्त गरेका छन् ।
पर्यटकीय हब मानिने कर्णाली क्षेत्रका विभिन्न सम्भावनालाई उजागर गर्न जुम्लाबासीले पर्यटन बहसको अभियान थालेका छन् । बिहीबार जुम्लाको पर्यटनको अवस्था र कर्णालीमा पर्यटन सम्भावना तथा चुनौती विषयक पर्यटन बहस पहिलो पटक गरिएको छ । नेपाल पर्यटन पत्रकार महासंघ स्थापना दिवसको अवसरमा जिल्लाका होटल व्यवसायी र सरोकारवालासँग बृहत् छलफल गरिएको हो ।
बहसमा जुम्लाको पर्यटकीय सम्भाव्यता, स्थानीय जनसहभागिता र प्रवद्र्धन विषयमा अवधारणापत्र प्रस्तुत गरिएको थियो । जुम्लाका पत्रकार तथा लेखकद्वय राजबहादुर कुँवर र रामसिंह रावलले सो संक्षिप्त घोषणापत्र प्रस्तुत गरेका हुन् ।
पत्रमा कर्णालीमा पर्यटन प्रवद्र्धनका लागि पर्यटनका लागि मानवनिर्मित सम्पदाहरू, ऐतिहासिक पुरातात्विक सम्पदाहरू, धार्मिक सांस्कृतिक सम्पदाहरू, गाउँहरू, इतिहास, मौलिक तथा ऐतिहासिक सांस्कृतिक सम्पदा र परम्पराहरू, हिमाल र पहाडलाई पर्यटनका सम्भावनाको रुपमा प्रस्तुत गरिएको छ । अवधारणापत्रमा कर्णालीलगायत जुम्लाका सबै स्थानीय तहले पर्यटन नीति निर्माणमा राजनीतिक सक्रियतालाई जोड दिइएको छ ।
अवधारणापत्र प्रस्तुतकर्ता राजबहादुर कुँवरले यस्ता क्रियाकलापमा स्थानीय नागरिकको भूमिका महत्वपूर्ण रहेकामा जोड दिए । जुम्लामा सम्पन्न पहिलो पर्यटन बहसले पर्यटक भित्र्याउन पूर्वाधार निर्माणमा विशेष जोड दिने निष्र्कष निकालेको छ ।

पूर्वाधार निर्माणमा जोड
कर्णालीमा अथाह पर्यटन सम्भवानाका बीच पनि पूर्वाधारको अभावले अपेक्षाअनुसार पर्यटकहरू भित्र्याउन सकिएको छैन । सडक, संचार, विद्युत्, आवासलगायत पूर्वाधारहरू कर्णालीमा छैनन् । कर्णाली पर्यटकहरूको आकर्षण केन्द्र भएता पनि पर्यटकहरूले खोजे जस्तो सुविधा, सुरक्षा दिन पनि सकिरहेको अवस्था छैन ।
रारा पर्यटन वर्ष घोषणापश्चात् पर्यटकहरूको ओइरो लागेको छ । तर सहज यातायात छैन । त्यस्तै, जुम्ला चन्दननाथ, पातारासी छुमचौर ज्युलो, गुठिचौर जान सहज सडक छैन । चन्दननाथ नगरपालिका मेयर कान्तिका सेजुवालले भनिन्, “पर्यटन विकासका लागि पूर्वाधार निर्माणमा विशेष जोड दिनुपर्छ । यसका साथै मौलिकता झल्काउने संरचना निर्माण पहिलो प्राथमिकतामा रहनुपर्छ ।”
पहिलोपटक भएको पर्यटन बहस निकै फलदायी भएको र प्रस्तुत अवधारणापत्रको आधारमा पर्यटन विकासका लागि पूर्वाधार निर्माणका योजना बनाउने उनले उल्लेख गरिन् । सडक, संचार, विद्युत्को पहुँचमा वृद्धि गर्दै मौलिकता झल्काउने पहिरन, पुराना शैलीका घर, एकीकृत बस्ती निर्माण लगायतका विषयमा गम्भीर भएर लाग्ने उनको भनाइ छ ।
“पर्यटन प्रवद्र्धनका लागि पहल समिति गठन गर्नुपर्छ,” नागरिक समाजका अध्यक्ष राज बहादुर महतले भने, “जुम्लाका आठै स्थानीय तहले गुरुयोजना बनाएर पाँच वर्षभित्र पर्यटकीय जिल्ला बनाउने अभियान चाल्नुपर्छ । अपर्याप्त लगानीकै कारणले पूर्वाधार निर्माण हुन सकेन ।”
पर्यटन वर्ष २०२० मा २५ लाख पर्यटक भित्र्याउने सरकारको योजना छ । कर्णालीमा मात्रै १० लाख पर्यटकको लक्ष्य छ । त्यसका लागि स्थानीय तथा प्रदेश सरकारले पूर्वाधार निर्माण विशेष जोड दिनुपर्ने देखिन्छ ।

सरोकारवालाले गरे प्रतिबद्धता
कर्णालीमुखी पर्यटन विकासका लागि सबै एकजुट भएर जाने यहाँका जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । उनीहरूले सबै स्थानीय तह मिलेर पर्यटन गुरुयोजना निर्माणका लागि एक भएर जाने बताएका हुन् । चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले चन्दननाथ नगरपालिका क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रलाई आर्थिक समृद्धिसँग जोड्न कार्ययोजना बनाइरहेको बताइन् ।
नेपाल सरकार पर्यटन मन्त्रालयले सार्वजनिक गरेको नयाँ सय गन्तव्यमा जुम्लाको प्रसिद्ध चन्दननाथ मन्दिर सूचीकृत नभएकोमा भने उनले दुःख व्यक्त गरिन् । उनका अनुसार बेरोजगार न्यूनीकरण गर्न मेयर स्वरोजगार कार्यक्रम सञ्चालन गरिएको छ र पर्यटनसँग पनि यस कार्यक्रमलाई जोड्न पहल भइरहेको छ ।
सिञ्जाको खस सभ्यताबारे लामो समय सामाजिक क्षेत्रमा काम गरेका भक्तबहादुर बोगटीले १० वर्षे सिञ्जा गुरुयोजना निर्माण भएको बताए । जिल्लामा ३ सय ५ ऐतिहासिक सम्पदा रहेको उनको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले सांस्कृतिक सम्पदा, खस संस्कृति विकास र विस्तार हुन नसकेको बताए । नेकपा प्रदेश सदस्य पूर्ण धितालले पूर्वाधारबिना पर्यटन आवश्यक सरकारको नीतिमा नयाँ गन्तव्य खोजी, हिमाली पदमार्ग निर्माण र स्थानीय स्तरमा पर्यटकीय गन्तव्य विकास गर्ने विषयमा व्यापक रूपमा अघि बढिरहेको बताए । पर्यटन बहसले प्रदेश स्तरमा बोल्न तथा लगानी बढाउन आवश्यक बाटो देखाएको उनले उल्लेख गरे । पर्यटन पत्रकार महासंघ जुम्लाले सबै स्थानीय तहमा पर्यटन बहस लाई निरन्तरता दिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्