पुनस्र्थापित प्रतिनिधिसभाको अधिवेशन सुरु «

पुनस्र्थापित प्रतिनिधिसभाको अधिवेशन सुरु


सर्वाेच्च अदालतको आदेशानुसार पुनस्र्थापित सङ्घीय संसद् प्रतिनिधिसभाको आठौँ अधिवेशन आइतबारदेखि सुरु भएको छ ।
प्रतिनिधिसभाको पहिलो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन प्रारम्भ भएकामा सबै सांसदलाई स्वागत गर्दै अधिवेशनको सफलताको लागि शुभकामना व्यक्त गरे । मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा जीवनउत्सर्ग गर्ने ज्ञातअज्ञात सहिदको योगदानको स्मरण गर्दै बैठकमा मौनधारण गरिएको थियो ।
सापकोटाले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु तथा सांसदहरुले रचनात्मक भूमिका खेल्ने बताए । सापकोटाले सार्वभौमसत्ता र लोकतन्त्रको अभ्यास गर्ने सर्वोच्च जनप्रतिनिधि संस्था प्रतिनिधिसभा पुनस्र्थापित भएकोमा खुसी व्यक्त गर्दै सांसदहरुलाई बधाई दिए । उनले संविधान सभाबाट निर्मित संविधानको मर्म र भावना एवं लोकतन्त्रको सार्वभौम मान्यता अनुसार प्रतिनिधिसभालाई पुनस्र्थापना गर्ने ऐतिहासिक फैसलाका लागि सर्वोच्च अदालतप्रति आभार पनि प्रकट गरे ।
सार्वभौम जनता नै राज्य शक्तिको एकमात्र स्रोत भएकोले राज्यको शासन व्यवस्थाको सञ्चालन जनताको इच्छा अनुसार जनप्रतिनिधिमूलक संसदबाट हुने मान्यतालाई संविधानले पूर्णतः आत्मसात् गरेको र सोही कार्यलाई अदालतको फैसलाले पुनः स्थापित गरेको उनको भनाइ थियो ।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई धन्यवाद दिए । पुनस्र्थापित प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै देउवाले भने, ‘ओलीले साढे तीन वर्षमा गरेका असल कामका लागि धन्यवाद दिन्छु । विगतमा भएका राम्रा कामलाई निरन्तरता दिने, कमजोरी सुधार्ने र नयाँ काम गर्नु छ । सुुशासन कायम गर्नु छ । सबै राजनीतिक दलको सहमतिका लागि प्रयत्न गर्नेछु । राजनीतिक दलहरु शत्रु होइन, हामी सहयात्री हौं भन्ने हिसाबले काम गर्छु ।’
जनताको ठूलो त्याग, तपस्या र बलिदालने देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको देउवाले बताए । ‘पटक–पटकको प्रतिनिधिसभा विघटनका कारण विगत केही समय देशमा राजनीतिक अन्योल र अनिश्चितताको अवस्था रह्यो । धारा ७६ (३) अनुसार प्रधानमन्त्रीले विश्वासको मत नलिने भएपछि ५ अनुसार सरकार गठनको आह्वान भयो। म उपधारा ५ अनुसार प्रधानमन्त्री भएको छु,’ देउवाले भने ।
देउवाले थपे, ‘अहिले मुलुक निकै जटिल अवस्थाामा छ। कोरोनाको प्रकोपले हामी पीडित भएका छौं । दैनिक संकट बढिरहेको छ । मानिसहरुको मृत्यु भइरहेको छ । कोभिडबाट बचाउने सरकारको प्रयास हुनेछ। रोकथामका लागि सबै प्रयास हुनेछ ।’
नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले शेरबहादुर देउवा २०७१ सालमा श्री ५ बाट र अहिले सर्वोच्च अदालतको फैसलबाट प्रधानमन्त्री बनेको टिप्पणी गरे । ज्ञवालीले बैठकमा सम्बोधन गर्दै २०६१ सालमा प्रधानमन्त्री बनेपछि देउवाले राजाबाट आफूलाई न्याय मिलेको बताएको विषय स्मरण गर्दै उक्त कुरा बताएका हुन् ।
उनले अहिले देउवा सर्वोच्च अदालतका पाँच न्यायाधीशको आदेशमा प्रधानमन्त्री बनेको बताए । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा सुनुवाइ गर्न पाँच जना न्यायाधीश सम्मिलित संवैधानिक इजलास गठन गरिएको थियो । सोही इजलासले संसद् विघटन बदर गरेको थियो भने शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएको थियो । ज्ञवालीले कुनै पनि लोकतन्त्रले सर्वोच्च अदालतले प्रधानमन्त्री तोक्छ भनेर कल्पना पनि नगरेको बताए ।
ज्ञवालीले भने, ‘जतिसुकै अप्रिय भए पनि सर्वोच्च अदालतको फैसला स्वीकार्य स्वीकार्य छ ।’ यद्यपि लोकतन्त्र अडिएका पिलर खलबलिएको भन्दै ज्ञवालीले चिन्ता व्यक्त गरे । उनले भने, ‘हाम्रो चिन्ता प्रणालीप्रति हो । विघटन गलत थियो भने जहाँबाट गल्ती भयो अदालतले त्यहींबाट सुधार भन्नुपर्ने थियो ।’
नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले सत्ता कसरी चल्छ, अब देख्न पाइने उद्घोष गरे । संसद्को बैठकमा आइतबार उनले कांग्रेसले चलाउने सत्ता हेर्न लायक हुने बताएका हुन् ।
रिजालले भने, ‘बीपी कोइरालाको पार्टी हो कांग्रेस । शेरबहादुर देउवा सभापति भएको पार्टी हो। जितमा उन्माद हुँदैन । जित नपाएको दिन संविधानको संरचनालाई भत्काउन हिँड्दैन कांग्रेस ।’
दुई तिहाइ भएपछि जे पनि गर्न पाइन्छ भनेर संविधान मिच्दै केपी ओली अघि बढेको बताउँदै रिजालले भने, ‘संविधान भत्काउने प्रयत्न भएपछि अदालतमा गएका हौं । अदालतले प्रधानमन्त्री नियुक्त गरेको होइन। मिलेमतोमा पदीय मर्यादा बिर्सेर काम गरेकाहरुलाई संविधान छ भनेर सम्झाउन खोजको हो । लोकतन्त्रको जित भएको छ । अदालतको कामप्रति अदालतलाई सम्मान गर्नुपर्छ । हामी सबैले मिलेर बनाएको संविधान हो यो । अहंकार नपाल्नुहोस् । सत्ता कसरी चल्छ, अब हेर्नुस्, सत्ता कस्तो चल्छ भन्ने अब देखिन्छ ।’
देउवा नेतृत्वको सरकारले सदनलाई सम्मान गर्ने उनले बताए । विपक्षीबाट हरेक दिन सुनेका टिकाटिप्पणीबाट सरकार सच्चिने र ओली सरकारले गरेका राम्रा कामको निरन्तरता हुने उनले सुनाए ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान प्रधानमन्त्री केपी ओलीमा लोकतान्त्रिक संस्कार नरहेको भन्दै संसद्मा कटाक्ष गरे । प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ ग्रहण गर्ने र विश्वासको मत लिने कार्यक्रममा निवर्तमान प्रधानमन्त्रीका रूपमा उपस्थित हुनुपर्ने परम्परा रहेपनि ओली अनुपस्थित भएपछि प्रचण्डले यस्तो कटाक्ष गरेका हुन् ।
’प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ लिने कार्यक्रममा पनि ओली जानु भएन। नयाँ प्रधानमन्त्रीले शपथ लिएपछि नयाँ र पुरानो प्रधानमन्त्रीको कुर्सी साटिन्थ्यो । तर उहाँ त्यहाँ जानुभएन,’ प्रचण्डले थपे, ’यो अधिवेशनको यो पहिलो बैठक हो। पहिलो बैठकमा निवर्तमान प्रधानमन्त्रीका हैसियतामा उहाँकै मुखबाट उहाँका कुरा सुन्न पाउने अपेक्षा गरेका थियौँ तर उहाँ आउनुभएन ।’

प्रतिक्रिया दिनुहोस्