नेपाली गुड उद्योगले उखु पाएनन् «

नेपाली गुड उद्योगले उखु पाएनन्

भारतीय बजारमा उखु प्रतिक्विन्टल ४ सय भारतीय रूपैयाँ र नेपाली बजारमा ४ सय नेपाली रूपैयाँमा बिक्री हुने गरेको छ ।

सिमावर्ती क्षेत्रबाट उखु भारत निकासी

कञ्चनपुर-महाकाली पारीका दोधरा चाँदनी गाउँबाट सिमावर्ती सहर भारतमा उखु निकासी हुने गरेको छ । नेपाली गुड उद्योगमा भन्दा भारतीय गुड उद्योगमा बढी मूल्य पाएपछि किसानले उखु बिक्री गर्न भारत लैजाने गरेका हुन् ।
महाकाली नगरपालिकास्थित पदमा गुड उद्योगका सञ्चालक पुरनबहादुर चदारोले नेपाली किसानले उखु बिक्री गर्न भारततर्फ लैजाने गरेको बताए । भारतीय बजारमा उखु प्रतिक्विन्टल ४ सय भारतीय रूपैयाँ र नेपाली बजारमा ४ सय नेपाली रूपैयाँमा बिक्री हुने गरेको छ । उखु किसानलाई नेपालभन्दा भारतमा बिक्री गर्दा बढी फाइदा हुने भएकाले किसानले उखु बिक्री गर्न भारतमा लग्ने गरेको चदारोले बताए ।
नेपाली किसानले उखु बिक्री गर्न भारत लैजाने र भारतीय गुड सस्तोमा नेपाली बजारमा आउँदा नेपाली गुड उद्योगी मर्कामा परेका छन् । दुई वर्षअघि १५ लाख रूपैयाँ ऋण लिएर पदमा गुड उद्योग सञ्चालन गरेका चदारोले नेपाली गुड उद्योग फस्टाउन नसकेको बताए ।
उनले निजी र भाडामा गरी तीन विघा जमिनमा उखु खेती गरेका छन् । उखु खेतीबाट राम्रो आम्दानी हुने भए पनि पछिल्लो समय भारतीय गुड सस्तोमा नेपाल भित्रिनु र सिमावर्ती क्षेत्रका नेपाली किसानले भारतमा उखु बिक्री गर्नुले गुड उद्योग मारमा परेको उनले गुनासो गरे । “उखुको उचित मूल्य निर्धारण नहुनुले किसान मारमा परेका छन्,” उनले भने, “प्रतिक्विन्टल पाँच सयका दरले उखु बिक्री भए किसान पनि फाइदामा हुन्छन्, गुड उद्योगीले पनि उखु पाउँछन् ।” चदारोले भारतीय गुडलाई भन्सारले रोक्नुपर्ने बताए । उनका अनुसार भारतीय गुड प्रतिकेजी २० र नेपाली गुड ४० रूपैयाँमा बिक्री हुने गरेको छ ।
गत वर्ष सवै खर्च कटाएर २ लाख रूपैयाँ बचत गरेको बताउने चदारोले गुडले बजार पाए यो वर्ष तीन लाख आम्दानी गर्ने अनुमान गरेका छन् । उनले गुड उद्योगमा १५ जनालाई रोजगारी दिएका छन् । उद्योगमा एक जनावाहेक सबै भारतीय नागरिक कामदार रहेको उनले जानकारी दिए । नेपाली कामदार नपाउँदा भारतीयको भर पर्नुपरेको उनको भनाइ छ । “नेपालीहरू यहाँ काम गर्न रुचाउँदैनन्, बरु भारतमा काम गर्न जान्छन्,” उनले भने, “भारतीय कामदारलाई खाना बस्न दिएर मासिक भारु नौ हजार तलब दिएको छु, नेपाली कामदार भए यो पैसा पनि नेपालमै बस्थ्यो ।”
महाकाली नगरपालिकाको दोधरा–चाँदनीका अधिकांश किसान उखु खेती गर्छन् । यहाँको खेतीयोग्य जमिन जोगबुढा नदीले कटान गरेर सखाप पारेपछि किसानले उखुखेती गरेरै जिविकोपार्जन गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्