आन्तरिक राजस्व कार्यालय पोखराद्वारा करिब ५ अर्ब संकलन «

आन्तरिक राजस्व कार्यालय पोखराद्वारा करिब ५ अर्ब संकलन

पोखरा-आन्तरिक राजस्व कार्यालय पोखराले आर्थिक वर्ष २०७७-०७८ मा ४ अर्ब ६७ करोड ८५ लाख ६३ हजार राजस्व संकलन गरेको छ । उक्त राजस्व कार्यालयको लक्ष्य भन्दा करिब ३ प्रतिशतले कमी हो ।
आर्थिक वर्ष २०७७-०७८ मा ४ अर्ब ८२ करोड २७ लाख ८५ हजार संकलन गर्ने लक्ष्य रहेकोमा ९७ प्रतिशत लक्ष्य मात्र पूरा भएको कार्यालयका सूचना अधिकारी विजयप्रसाद लामिछानेले बताए ।
कार्यालयले अघिल्लो वर्षको तुलनामा भने १६ प्रतिशतले अर्थात ६४ करोड ७४ लाख ७२ हजार रुपैयाँ बढी राजस्व संकलन गर्न सफल भएको उनको दाबी छ । कोरोना महामारीको कारण यस वर्ष भने सतप्रतिशत राजस्व संकलन गर्न नसकिएको सूचना अधिकारी लामिछानेले बताए ।
अघिल्लो आर्थिक वर्ष २०७७-०७८ को असार मसान्तरसम्म कार्यालयले ७१.७७ प्रतिशत मात्र लक्ष्य पूरा गरेको छ । ५ अर्ब ६१ करोड ६७ लाख ५२ हजार राजस्व संकलनको लक्ष्य रहेकामा अघिल्लो वर्ष कार्यालयले पहिलो लहरको कोरोनाको कारण ४ अर्ब ३ करोड ११ लाख २३ हजार मात्र राजस्व संकलन गरेको थियो ।
आव २०७७-०७८ मा कार्यालयले आयकरतर्फ २ अर्ब ८५ करोड २ लाख ४३ हजार राजस्व संकलन गर्न सफल भएको छ । आयकरतर्फ १०२.५८ प्रतिशत लक्ष्य हासिल गरेको कार्यालयले आयकरतर्फ २ अर्ब ७७ करोड ८६ लाख २७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको थियो । व्यावसायिक घर बाहल करतर्फ ११ करोड ७२ लाख ७५ हजार राजस्व संकलनको लक्ष्य पाएको आन्तरिक राजस्व कार्यालयले ४७.३२ प्रतिशत राजस्व संकलन गरेको छ ।
व्याजतर्फ कार्यालयले ११४ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ । २४ करोड ५१ लाख ४८ हजारको राजस्व संकलनको लक्ष्य पाएकोमा कार्यालयले गत असार मसान्तरसम्ममा २८ करोड ५ लाख ८६ हजार राजस्व संकलन गर्न सफल भएको हो ।
अन्त शुल्कः मदिरा, चुरोटसहितका अन्य वस्तुबाट कार्यालयको अघिल्लो वर्ष ८६.३९ प्रतिशत अर्थात १ अर्ब २९ करोड २० लाख ३२ हजार राजस्व संकलन गरेको लामिछानेले जनाए । गत वर्ष कार्यालयले १ अर्ब ४९ करोड ५५ लाख ८५ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेको थियो । स्वास्थ्य सेवामा ३८.६६ प्रतिशत र शिक्षामा २.५२ प्रतिशत मात्र राजस्व संकलन गर्न सफल भएको कार्यालये जनाएको छ ।
सूचना अधिकारी लामिछानेका अनुसार कार्यालयमा १ लाख ६५ हजार ४ सय ८७ जना करदाता रहेका छन् । आव २०७७-०७८ मा ३० हजार ९ सय ३४ जना नयाँ करदाता थपिएको उनले जनाए । हालसम्म पोखराबाट १ लाख ९ हजार ३ सय ५१ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन् । व्यावसायिक स्थायी लेखा नम्बर लिनेहरुको संख्या भने ५६ हजार ८४ जना रहेको सूचना अधिकारी लामिछानेले बताए । भ्याटमा ११ हजार ३ सय ३४ वटा संस्था रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्