हुण्डी कारोबारी साढे ८३ लाखसहित पक्राउ «

हुण्डी कारोबारी साढे ८३ लाखसहित पक्राउ

जनकपुरधाम-जनकपुरबाट ८३ लाख ५७ हजार रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ परेका छन् । प्रदेश प्रहरीले आइतबार जनकपुरधाम उप–महानगरपालिका वडा नं. ११ भानुचोक स्थित किशोरी नगरबाट रुपैयाँसहित ४ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको बिहार प्रान्त अन्तर्गत मधुवनी जिल्लाको बासोपट्टी बस्ने सन्तोष महतो र नरेश महतो, जनकपुरधाम उपमहानगरपालिका वडा नं. १९ का विजय यादव र उप–महानगरपालिका वडा नं. २ बस्ने महमद मोख्तार रहेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रदेश नम्बर २ को प्रहरीको विशेष टोली र धनुषा प्रहरीको विशेष अनुसन्धान टोलीले उनीहरुलाई पक्राउ गरेको धनुषाका प्रहरी उपरिक्षक गोविन्द थपलियाले जानकारी दिए ।
बिहान १० बजेको समयमा जनकपुरधाम उप–महानगरपालिका वडा नं. ११ स्थित किशोरीनगरमा रहेको रामेश्वर साहको घरमा अवैध कारोबार हुने गरेको गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले सो नगदसहित हुण्डी कारोबारीलाई प्रहरीलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट विभिन्न बैंकको ३० थान चेक, बैंक भौचर र हुण्डी कारोबारको लागि प्रयोग भएका हिसाबकिताबका खाता समेत बरामद भएको प्रहरीले जनाएको छ । यसैगरी उनीहरुले प्रयोग गर्ने ६ थान मोबाइल, सिमकार्ड पनि बरामद गरिएको प्रहरी नायव उपरिक्षक दिपेन्द्र शाहीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्