विदेशी कालीगढ नफर्केपछि दक्ष कामदारको अभाव «

विदेशी कालीगढ नफर्केपछि दक्ष कामदारको अभाव

Gold craftsman crafting a design in gold in Thimi on Wednesday.The price of Gold is remaining constant from Shrawan’s 1week to the 2nd week.Today’s gold price is 53 thousand per tola. Photo-Dipendra Rokka/Republica/Nagarik.


कोराना भाइरसको त्रास बढ्दै गएपछि डेढ वर्षअघि आफ्नो देश फर्किएका दक्ष कालीगढ अहिलेसम्म नेपाल फर्किएका छैनन् । भारतीय तथा बंगलादेशी कालीगढमा आश्रित नेपालको सुनचाँदी, इँटाभट्टा, तयारी पोशाकदेखि साना मझौला उद्योगमा उनीहरु नफर्केसँगै दक्ष कामदारको अभाव बढ्न थालेको छ ।
कोभिडको असर कहिलेसम्म रहने भन्ने कुनै यकिन नभएकोले पुरानै कालीगढ फर्किनेमा रोजगारदाता विश्वस्त छैनन् भने नयाँ कालीगढ तयार गर्न समय लाग्ने देखिएको छ । कोभिड विरुद्धको खोप नलगाउँदासम्म कालीगढहरु नेपाल आउन इच्छुक नरहेको घरेलु तथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंह बताउँछन् । घरेलु तथा साना उद्योगमा दक्ष तथा अर्धदक्ष गरी १३ लाख कालीगढ भारतबाट मात्रै आउने गरेको र सिजनमा तीन-चार लाख अझ बढ्ने उनको भनाइ थियो । ‘कालीगढको अभावमा अहिले गुणस्तरीय सामान उत्पादन गर्न नसक्दा बजारमा आफ्नो अस्तित्व जोगाउन उद्योगहरुलाई कठिन भएको छ । अर्कोतर्फ कालीगढ पनि फिर्ता नहुँदा पर्याप्त उत्पादन गर्न सकिएको छैन, घरेलु तथा साना उद्योगीहरु दोहारो मारमा परेका छन्,’ उनी भन्छन् ।
नेपाली नागरिक वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढ्दै जाँदा स्वदेशी बजारमा दक्ष श्रमिक अभाव पनि बढ्दै छ । नेपालमा कालीगढ अभाव नहोस् भनेर सरोकारवालाहरुले सरकारसँग ‘अन द जब ट्रेनिङ’ माग गरी अहिले कार्यविधि निर्माणको चरणमा छ । जसले उद्योगमा काम गर्न चाहन्छ उसलाई उद्योगमा ६ देखि १ वर्षसम्म काममा लगाई सीप सिकाउने ‘अन द जब ट्रेनिङ’को मुख्य आशय हो । सरकारले यस्ता कालीगढलाई आफैंले व्यवसाय गर्न चाहेमा २५ लाखसम्मको सहज कर्जाको व्यवस्था छ ।
सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले भने भारत तथा बंगलादेशबाट कालीगढहरु फर्किने क्रम बढेको बताए । अहिले करिब ६० प्रतिशतको हाराहारीमा कालीगढहरु फर्किएको बताउँदै शाक्यले सुनचाँदी व्यवसायमा १ लाख विदेशी कालीगढ रहेको जानकरी दिए । ‘बिहे तथा चाडपर्वको समयमा सामानको अर्डर धेरै हुन्छ त्यस्तो बेला कालीगढ भएन भने ग्राहक आफ्नो हुँदैन,’ उनी भन्छन्, ‘बढी पैसा दिएर भए पनि कालीगढ ल्याउनुपर्र्ने अवस्था अहिले सिर्जना भएको छ ।’ पछिल्लो समय व्यवसाय सुचारु भएसँगै सुनको माग तथा कालीगढको काम पनि बढ्न थालेको छ तर कालीगढ नेपाल नफर्केपछि पुरानो अवस्थामा व्यवसाय फर्काउन कठिन भएको अध्यक्ष शाक्य बताउँछन् ।
यता घरेलु तथा साना उद्योग महासंघले दर्ता भएका ४ लाख १८ हजार उद्योगमा २६ लाखलाई रोजगारी दिएको जनाएको छ । दर्ता नभएका उद्योगमा पनि कामदारको संख्या सोही बराबरको हुन सक्ने अनुमान महासंघको छ । आकर्षक झ्याल ढोका, तोरण र टुँडालहरूमा आफ्नो कला खोप्नेहरूदेखि घरको झ्याल ढोका हुँदै इन्टेरियर डिजाइन गर्नेहरु भारत तथा बंगालदेशबाट आउने गरेका छन् । तेस्रो लहरको कोराना भाइरस पनि फैलिए कालीगढ फर्किनेमा थप आशंका बढेको छ ।

प्रतिक्रिया दिनुहोस्