रेल सञ्चालनका लागि ‘स्पिड टेस्ट’ पूरा

सरकारले कुर्था–जनकपुर–जयनगर खण्डमा रेल सञ्चालनको तयारी पूरा गरेको छ । रेल सञ्चालनका लागि आइतबार रेल्वे ट्र्याकको स्पिड टेस्ट (गति परीक्षण) गरिएको छ । योसँगै रेल सञ्चालनको प्राविधिक तयारी पूरा भएको हो ।
केही औपचारिक तयारीमध्ये प्राविधिक तयारी पूरा भएको रेल विभागका महानिर्देशक दीपक भट्टराईले बताए । उनले भने, ‘ट्र्याकको परीक्षण पूरा भएको छ । अब सर्टिफिकेसनको प्रक्रिया अगाडि बढ्छ ।’ परीक्षणको सर्टिफिकेसनपछि पूर्वाधार, स्टेशन लगायत बनेका पूर्वाधार भारत सरकारले हस्तान्तरण गर्ने छ ।
आइतबार ३४ किलोमिटर कुर्था–जनकपुर–जयनगर खण्डमा गति परीक्षण गरिएको थियो । जसकोे संयोजन नेपाल सरकारले मिलाएको रेल्वे कम्पनी जनाएको छ । रेल सञ्चालनको लागि सरकारले रेल्वे कम्पनी नै स्थापना गरेको छ । स्पिड टेस्ट गर्दा रेल जयनगरबाट प्रतिघण्टा ६० किलोमिटरको गतिमा आएको र कुर्थाबाट फर्किंदा ११५ को गतिमा परीक्षण गरिएको थियो ।
रेल्वे ट्र्याकको परीक्षणमा नेपाली टोलीसहित भारतीय प्राविधिक टोली संलग्न थियो । रेल सञ्चालनको लागि नेपाल सरकार र भारतीय पक्षबीच भएको सहमतिअनुसार नेपालका प्राविधिक कर्मचारीलाई रेल्वे सम्बन्धी तालिम र सञ्चालनको क्षमता विकास गर्ने गरी प्याकेजमा समावेश गरिएको छ ।
रेलको नियमित सञ्चालन भने कहिले हुने भन्ने अझै टुंगो लागेको छैन । विभागीय मन्त्री नियुक्त भएपछि दुई पक्षको समन्वयमा रेल सञ्चालनको मिति तोकिने रेल कम्पनीले जनाएको छ । पहिलो चरणमा भारत बिहारको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३४ किलोमिटर रेल सेवा सञ्चालन हुनेछ । दोश्रो खण्ड कुर्थादेखि बिजलपुरासम्म चाँडै रेल सञ्चालन तयारी समेत अघि बढाएकोे कम्पनीले जनाएको छ । १३ सय यात्रु क्षमता भएको क्षमता भएको सो रेल ६ पटक अफ एन्ड डाउन (जनकपुर–जयनगर) गर्ने योजना पनि कम्पनीले बनाइसकेको छ ।
नेपाल सरकारले भारत सरकारसँग सरकार–सरकार (जीटूजी) अन्तर्गत दुई थान रेलको कुल रकम भ्याटबाहेक करिब ८५ करोड रुपैयाँमा भारतको सरकारी कम्पनी कोकन रेल्वे कर्पोरेसनसँग किन्ने सम्झौता गरेको थियो । दुवै रेलको पाँच वटा डिब्बा छन् । लामो समयदेखि रेल सेवा नेपालमा बन्द रहेकोले गर्दा सरकारले पाइलट प्रोजेक्टको रुपमा मन्त्रिपरिषद्को सहमति लिएर रेल सञ्चालन गर्ने तयारी कम्पनीले गरेको थियो ।
रेल ऐन संसद्मा प्रस्तुत
दोश्रो पटक प्रतिनिधिसभा पुनस्र्थापना भएपछि आइतबार कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादर कार्कीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको हैसियतमा रेलवे ऐन सम्बन्धी अध्यादेश प्रतिनिधिसभामा प्रस्तुत गरेका छन् । मन्त्री कार्कीले रेलवे सम्बन्धी कानुन अभावले सञ्चालनको तयारीमा रहेको रेल सेवा सञ्चालन गर्न समस्या भएकाले अध्यादेश ल्याउनुपरेको बताए ।