बाढीसँगै बिग्रिन्छन् पूर्वसूचना दिने प्रणाली «

बाढीसँगै बिग्रिन्छन् पूर्वसूचना दिने प्रणाली


जल तथा मौसम विज्ञान विभागले कुनै नदीमा आउन सक्ने बाढीको पूर्वसूचनाका लागि स्वचालित प्रणाली जडान गरेको भए पनि बाढी आएसँगै ती बिग्रने गरेका छन् । बाढीबाट हुन सक्ने ठूलो जनधनको क्षतिलाई न्यूनीकरण गर्न राखिएका ती प्रणालीहरु बाढी आएसँगै बगेर र अन्य कारणले क्षति भएर बिग्रने गरेका हुन् । विभागका अनुसार, देशभरका १ सय १० वटा स्वचालित पूर्वसूचना प्रणाली रहेकोमा १८ वटामा क्षति पुगेको छ भने ९२ वटा मात्र सञ्चालनमा छन् ।
बिग्रिएका १८ वटा पूर्वसूचना प्रणाली मर्मतको तयारीमा रहेको विभागको भनाइ छ । बाढीसम्बन्धी पूर्वसूचना प्रणालीले काम गर्न नसक्दा सर्वसाधारण बाढीको बढी जोखिममा पर्दै आएका छन् । स्वचालिन पूर्वसूचना प्रणालीले नदीमा पानीको बहाव बढेको थाहा पाउने र पानीको बहाव कति बढ्दा कुन क्षेत्र जोखिममा रहेको मूल्याङ्कनको आधारमा सरकारले सर्वसाधारणलाई सूचना सम्प्रेषण गरिरहेको छ ।
मनसुन सुरुवात भएको एक साता नपुग्दै मेलम्चीमा आएको बाढीको पनि पूर्वसूचना दिएको भए जोखिम कम हुने विज्ञको भनाइ छ । तर विभागले भने नदीमा पानीको बहाब नबढी पहिरो थुनिएर एक्कासि नदीको पानी खोलिँदा मेलम्चीमा क्षति बढी भएको बताएको छ ।
विभागका बाढी पूर्वानुमान शाखाका प्रमुख विक्रम श्रेष्ठले बाढीका कारण ४ वटा पूर्वसूचना प्रणाली बगाएको र बाँकी १४ वटा बिग्रिएकाले मर्मतको तयारी भइरहेको जानकारी दिए । ‘स्वचालित पूर्वसूचना प्रणाली बिग्रिएपछि हाल कतिपय ठाउँमा बाढी सम्बन्धी पूर्वानुमान गर्न असहज भएको छ । बिग्रिएका पूर्वसूचना प्रणालीको छिट्टै मर्मत गर्ने तयारीमा छौं,’ उनले भने ।
उनका अनुसार यो वर्ष ३० वटा तराई र उपत्यकाका खोलाहरुमा पूर्वसूचना प्रणाली जडान गर्ने योजना छ । हिमालमा ३ वटा तत्काल जडान गरिने उनको भनाइ छ । यो वर्ष बढी पानी पर्ने भएकाले अझै बाढी पहिरो जस्ता मनसुनजन्य घटना बढ्न सक्ने विभागको भनाइ छ । विपत व्यवस्थापनविद् डा. धर्म उप्रेतीले बाढी पहिरोजस्ता मनसनुजन्य घटनाबाट हुने धनजनको क्षति कम गर्नका लागि पूर्वसूचना प्रणालीलाई व्यवस्थित गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्