बिमा समितिको नयाँ सर्भर सफ्टवेयर «

बिमा समितिको नयाँ सर्भर सफ्टवेयर

बिमा समितिको नयाँ सर्भर र नयाँ सफ्टवेयर सञ्चालनमा आएको छ । बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले नयाँ सर्भर र सफ्टवेयरको उद्घाटन गरेका हुन् ।
अध्यक्ष सिलवालले परिवर्तित समयसँगै परिवर्तन हुन सक्नुपर्ने बताए । “प्रविधिलाई प्रयोग गर्दै इन्टरफेस्टलाई खटाउनुपर्छ भन्ने हाम्रो मान्यतालाई आत्मसाथ गर्दै यो चरणमा आइपुगेका हौं” उनले भने, “यो अन्त्य होइन, प्रारम्भ हो, हामीले संसारमा आएका धेरै टेक्नोलोजीलाई अवलम्बन गर्नैपर्छ ।” फिजिकली इन्टरफेशलाई जति घटाउन सक्यो त्यति सशक्त हुँदै जाने बताउँदै अध्यक्ष सिलवालले यसबाट समयको वचतसँगै इमान्दार व्यवसायिक प्रयास भएको बताए ।
समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बिमा कम्पनीसँग पटक पटक बिमा विवरण माग्नुपर्ने र सही विवरण आउन नसक्ने भएकाले नयाँ सफ्टवेयर नयाँ सर्भर ल्याएको बताए । बिमकहरुबाट समितिलाई पठाउनुपर्ने महत्वपूर्ण तथ्यांकहरु उपलब्ध गर्ने कार्य कठिनाई भएकोले समग्र बिमा व्यवसायको तथ्यांक व्यवस्थापन गर्न र समितिमा सेवा लिन आउने सेवाग्राही तथा सरोकारवालाहरुलाई काम छिटो, छरितो रुपमा सम्पन्न गर्न सूचना प्रविधिको प्रयोग गरी समितिको संस्थागत तथा बिमा व्यवसायसँग सम्बद्ध बिमा नियमनकारी व्यवस्थापन सूचना प्रणालीलाई थप व्यवस्थित गर्न नयाँ सर्भर र सफ्टवेयर जडान गरिएको समितिले जनाएको छ ।
समितिमा अब कम्पनीहरुले आफ्ना वित्तीय विवरणलगायतका अन्य प्रतिवेदन कागजी प्रक्रियामा नभइ सफ्टवेयरबाट नै अनलाइन माध्यमबाट तपसिलबमोजिम दैनिक, मासिक, त्रैमासिक, वार्षिक रुपमा पेश गर्न सक्नेछन् । यसमा कानून, उजुरी, नियमन, नीति विश्लेषण, परिपालन, दाबी तथा सम्पति शुद्धिकरण, बिमालेख तथा बिमाङ्की, अण्डराइटिङ, वित्तीय लेखापरीक्षण, सूचना प्रविधि सम्बन्धी विवरणहरु प्राप्त गर्नेछन् ।
त्यस्तै स्थलगत सुपरीवेक्षण, गैरस्थलगत सुपरीवेक्षण, कृषि तथा लघु बिमा, पुनर्बीमा, इजाजत, बिमा अभिकर्ता र सर्भेयर, व्यवस्थापन सूचना प्रणालीसम्बन्धी विवरणहरु पनि अनलाइन माध्यमबाटै पेश गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्