टेलिकमको प्रबन्ध निर्देशकमा अधिकारी «

टेलिकमको प्रबन्ध निर्देशकमा अधिकारी

नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) को प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त भएका छन् । अन्तिम तीन प्रतिस्पर्धीमा रहेका पूर्वप्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य र संगीता अर्याललाई पछाडि पार्दै अधिकारी टेलिकमको प्रबन्ध निर्देशक नियुक्त भएका हुन् । अधिकारी कम्पनीको १० औं तहमा कार्यरत कर्मचारी हुन् ।
टेलिकमको प्रबन्ध निर्देशकका लागि माग गरिएको आवेदनमा १० जनाको आवेदन परेको थियो । छनोट समितिले ८ जनाको नाम मात्रै छनोटको सूचीमा समावेश गरेर व्यावसायिक कार्ययोजना प्रस्तुति र अन्तर्वार्ताका लागि बोलाएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले जनाएको छ ।
अधिकारी प्रबन्ध निर्देशककै कार्यालयमा प्राविधिक सल्लाहकारको रूपमा कार्यरत थिए । यसअघि ब्याकबोन डिपार्टमेन्टमै काम गरेका अधिकारी गत भदौदेखि प्रबन्ध निर्देशकको कार्यालयमा सरुवा भएका थिए । मन्त्रालयका अनुसार गत सोमबार डा. विमल आचार्य, बुद्धिप्रसाद आचार्य, सनाउल्लाह खान, गोकर्णप्रसाद सिटौला र संगीता पहाडी अर्यालले छनोट समितिसमक्ष व्यावसायिक कार्ययोजना प्रस्तुत गरेका थिए । त्यसैगरी, मंगलबार डिल्लीराम अधिकारी, चन्द्रमोहन झा र प्रदीपराज उपाध्यायले व्यावसायिक कार्ययोजना प्रस्तुत गरेका थिए । आवेदन दिएकामध्ये अनिलकुमार झा र रामदेव यादवलाई छनोट सूचीमा समावेश गरिएको थिएन ।
टेलिकममा सरकारको ९१.४९, सर्वसाधारणको ४.४४, कर्मचारीको ४.०४ र नागरिक लगानी कोषले ०.०३ प्रतिशत सेयर स्वामित्व छ । टेलिकमको मोबाइल र आधारभूत टेलिफोन सेवा गरेर दुई करोड भन्दा बढी प्रयोगकर्ता रहेका छन् । अब कम्पनीलाई उचित ढंगले प्रतिस्पर्धामा अगाडि बढाउने जिम्मेवारी अधिकारी माथि आएको छ ।
टेलिकमले चालू आर्थिक वर्षमा २२ अर्ब रूपैयाँ बराबरको पुँजीगत लगानी बढाउने योजना सार्वजनिक गरिसकेको छ । कम्पनीले जिएसएम मोबाइल, फाइवर टु दी होम, ७७ वटै जिल्लामा वाइफाई सेवाको पूर्वाधार विस्तार तथा सेवा विस्तार तथा गुणस्तर सुदृढीकरणलगायतका परियोजनामा यो लगानी बढाएको हो । दूरसञ्चार क्षेत्रमा मोबाइल तथा डाटा सेवाको माग बढ्दै गएकाले फोरजी÷एलटीई सेवा कम्पनीको उच्च प्राथमिकतामा छ । कम्पनीले विद्यालय, स्वास्थ्य संस्था र गाउँपालिकामा वाइम्याक्स प्रविधिमार्पmत् न्यूनतम ५ सय १२ केबीपीएस क्षमताको ब्रोडब्याण्ड इन्टरनेट सेवाको हट स्पट स्थापना गर्ने काम अगाडि बढाएको छ । ७७ वटै जिल्ला सदरमुकाम तथा प्रमुख व्यापारिक केन्द्रमा वाइफाई सेवा सञ्चालनमा ल्याइने तथा एकद्वार ग्राहक सेवा प्रणालीबाट ग्राहकका गुनासा सम्बोधन गर्ने योजना छन् । प्रबन्ध निर्देशक अधिकारीले अब पुराना योजनाका साथै पछिल्ला प्रविधिसँगै समयसापेक्ष रूपमा कम्पनीलाई अगाडी बढाउनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्