एप्पलले पट्याउन मिल्ने आइफोन ल्याउने «

एप्पलले पट्याउन मिल्ने आइफोन ल्याउने

सोल : विश्वको हाइ इन्ड स्मार्टफोन बजारमा सामसङ र एप्पलबीच चर्को प्रतिस्पर्धा रहँदै आएको छ । दुवै कम्पनीले उपभोक्तालाई आपूmतर्फ आकर्षित गर्नका लागि नयाँ नयाँ विशिष्ट सुविधा सहितका फोन ल्याउने गरेका छन् । 

यी दुई कम्पनीबीच स्मार्टफोनको अर्को वृत्तमा पनि प्रतिस्पर्धा हुने देखिएको छ । सामसङले आगामी २०१८ मा मोड्न मिल्ने स्मार्टफोन ग्यालेक्सी एक्स ल्याउने बताइरहेको समयमा एप्पलले पनि एलजी डिस्प्लेका साथ पट्याउन मिल्ने आईफोन ल्याउने तयारी गरिरहेको छ ।

कोरियाली वेबसाइट ‘द इन्भेस्टर’ का अनुसार एप्पलले आफ्नो विशिष्ट फिचर चुहावट हुने आशंकाका कारण एलजीका साथ मिलेर पट्याउन मिल्ने आईफोन ल्याउने तयारी गरेको छ ।द बेलका अनुसार एलजी डिस्प्लेले हालैमात्र पट्याउन मिल्ने ओएलईडी स्क्रीनको विकासका लागि टास्क फोर्स तयार पारेको छ । पट्याउन मिल्ने अर्थात् फोल्डेबल आइफोन प्यानलको उत्पादन २०२० बाट सुरु हुन सक्ने रिपोर्टमा बताइएको छ ।

एलजीले बारम्बार पट्याउन मिल्ने ओएलईडी प्यानलको प्रोटोटाइम अर्थात ढाँचा तयार पारेको बताउँदै आएको छ । यसको टिकाउ र इल्ड रेटलाई आधुनिकिकरण पनि गर्न थालिएको एलजीले जनाएको छ ।

कम्पनीले हालैमात्र फोनका लागि आवश्यक पर्ने पहिलो ओएलईडीको उत्पादन गुमीको ई–फाइभ प्लान्टमा सुरु गरेको छ । एप्पलले पनि ओएलईडि उत्पादनलाई तीव्र बनाउन लगानीका लागि सोच बनाएको बताएको छ । हाल सामसङले पहिलो ओएलईडी आईफोन आईफोन एक्सका लागि प्यानलको  आपूर्ति गर्दै आएको छ ।

“मोबाइल ओएलईडी उत्पादनमा लगभग सामसङको एकाधिकार रहेको  अवस्थामा एप्पलले एलजी डिस्प्लेका साथ आफ्नो साझेदारीलाई बलियो बनाएको छ । एप्पल लामो समयदेखि एलजीसँग एलसीडीको साझेदार रहँदै आएको छ,” रिपोर्टमा भनिएको छ ।

यो वर्ष सामसङले एक्टिभ म्याट्रिक्स ओएलईडी डिस्प्ले प्यानलको बजारमा झन्डै ८९ प्रतिशतको हिस्सा ओगट्ने यूबीआई रिसर्चका विश्लेषकहरुले हालै मात्र बताएका छन् । हाल ओएलईडी स्क्रीन भएका केही स्मार्टफोनहरुमा आईफोन एक्स, सामसङ ग्यालेक्सी एस एट, सामसङ ग्यालेक्सी एस एड प्लस, सामसङ ग्यालेक्सी नोट एड, वन प्लस फाइभ, एलजी भी–३० र भिभो एक्स नाईन एस रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्