नेपालगञ्जमा छात्रा कलेज स्थापना गरिने «

नेपालगञ्जमा छात्रा कलेज स्थापना गरिने

नेपालगन्ज उपमहानगरपालिकाले मधेशी र मुस्लिम किशोरीलाई लक्षित गरी अत्याधुनिक किसिमको छात्रा स्कुल र कलेज खोल्ने तयारी गरेको छ । मधेसी मुस्लिम समुदायका बालिकाहरुको शिक्षामा पहुँच बढाउन भन्दै स्कुल तथा कलेज सञ्चालनको तयारी थालेको उपमहानगरले जनाएको छ ।
छात्रा कलेजका लागि नगरपालिकाको आकस्मिक कोषवाट ८ करोड रुपैयाँ बजेट छुट्याइएको नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले बताए । २०७६ को कात्तिकसम्म छात्रा कलेज निर्माण सक्ने गरी काम अगाडि बढाएको उनको भनाइ छ । “हाल डीपीआर तयार भइरहेको छ । आगामी कात्तिकपछि सञ्चालनमा आउछ ।”
छात्रा कलेज निर्माणका लागि हाल संचालनमा रहेको मङ्गलप्रसाद माध्यमिक विद्यालयमा आवश्यक पूर्वाधार निर्माण गरिने उनको भनाइ छ । त्यस्तै नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर ४ मा छात्रा स्कुल सञ्चालन गर्ने तयारी भइरहेको छ । मेयर राणाले करिब ५० लाख खर्च लाग्ने छात्रा विद्यालय वैशाखदेखि संचालनमा आउने बताए । सो वडामा हाल संचालनमा रहेको आधारभूत विद्यालयलाई १२ कक्षासम्म पढाइ हुने गरी छात्रा स्कुल बनाउन थालिएको वडा नम्वर ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले बताए । यसले मधेसी, मुस्लिमलगायत समुदायका बीचमै पढाइ छाड्ने छात्राहरुलाई सहज हुने उनको भनाइ छ । यसअघि विभिन्न कारणले पढाइ छाड्न बाध्य भएपनि अब कुनै बालबालिकाले पढाइ छाड्न नपरोस् भनेर आफू लागिपरेको उनी बताउँछन् ।
छात्रा स्कुल र कलेजमा मधेसी र मुस्लिम समुदायका छात्राहरु मात्रै नभई अन्य जुनसुकै समुदायका छात्राहरु समेत अध्ययन गर्नेछन् । महिलामात्रै अध्ययन गर्ने कलेज नहुँदा मुस्लिम बालिकाहरुले बीचमै पढाइ छोड्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्