पोखराका मेयर जिसीको सफल शल्यक्रिया, स्वास्थ्यमा सुधार «

पोखराका मेयर जिसीको सफल शल्यक्रिया, स्वास्थ्यमा सुधार

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको शनिबार सफल शल्यक्रिया भएको छ । मस्तिस्कघातका कारण श्ुक्रबार पोखरादेखि दिउँसो हेलिकोप्टर चार्टर गरी काठमाडौं लगिएको मेयर जिसीको काठमाडौं बाँसबारीस्थित न्युरो अस्पतालमा २ घण्टामै हेमीक्राइनेक्टमीको सफल शल्यक्रिया भएको मेयरका प्रेस संयोजक माधव बरालले बताए ।


न्युरो सर्जनहरुको टिमले गरेको शल्यक्रिया सफल भएको भएसंगै मेयर जिसीकोे स्वास्थ्य अवस्था हाल सुधारात्मक रहेको बरालले जनाए । मस्तिस्कघातले गर्दा बेहोस भएका मेयर जिसीको थप उपचारको लागि हेली एभरेष्ट हेलिकोप्टरको सहायताबाट काठमाडौं लगिएको हो । मेयर जिसी शुक्रबार करिब ४ बजे स्वास्थ्यमा समस्या देखिएपछि पोखराको मेडि प्लसमा उपचार गर्न लगिए पनि त्यहाँबाट रिफर गरी मणिपाल शिक्षण अस्पतालमा लगेसंगै उनको थप उपचारको लागि काठमाडौं लगिएको हो ।


मेयर जिसीको उपचारमा संलग्न भएका डा. बालगोपाल कर्मचार्यले मेयर जिसीको देब्रे तर्फको हात खुट्टा भने चल्न सक्ने अबस्था नभएको जनाए । मस्तिस्कघात भएको केही घण्टा ढिलो भएकोले गर्दा मणिपालमा रगत पातलो बनाउने औषधि समेत मेयर जिसीलाई दिएकोले थप उपचारको लागि भनेर काठमाडौं रिफर गरिएको हो । मेयर जिसी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट मेयरमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्