तरुलमा आत्मनिर्भर बन्दै «

तरुलमा आत्मनिर्भर बन्दै

अधिकांश वस्तुमा परनिर्भरता बढीरहेका बेला मुलुक तरुलमा भने आत्मनिर्भर बन्दै गएको छ । तरुलको व्यावसायिक खेति विस्तार हुँदै गएपछि मुलुक आत्मनिर्भर बन्दै गएको हो ।स्वेदेशी उत्पादनले माग पुरा गरेपछि न्यून परिणाममा मात्र आयात हुने गरेको कालीमाटी बजार विकास समितिको तथ्यांकले देखाएको छ । माघे संक्रान्तिका बेला मात्र नभएर अन्य समयमा पनि तरुलको खपत हुँदा पछिल्लो समय यसको खेती विस्तार हुँदै गएको छ । नेपालीको मुख्य चाडको रूपमा मानिने माघे संक्रान्तिमा अनिवार्यरूपमा तरुलको उपभोग हुने गर्दा खपत धेरै हुने गरेको हो ।
माघे संक्रान्तिमा तरुलको खपत धेरै हुँदा उपत्यकाको मुख्य कालीमाटी बजारमा अहिलेसम्म साढे सात सय टनभन्दा धेरै तरुल भित्रिसकेको छ । कालीमाटी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले माघे संक्रातिमा तरुलको खपत धेरै हुँदा सात सय टन भित्रिसकेको बताए । “बजारमा माघे संक्रान्तिका दिनमा तरुलको खपत धेरै हुने गर्छ,” उपनिर्देशक श्रेष्ठले भने, “सर्लाहीसँगै छिमेकी जिल्लाबाट ठूलो परिणाममा तरुल भित्रिने गरेको छ ।” सगरखण्ड, सेतो तरुल, रातो तरुल, वन तरुल, पिँडालु, स्कुसका जरालगायतका अन्य प्रकारका तरुल बजारमा खपत हुने गर्छन् । सर्लाहीबाट तुषारोका कारणले गर्दा कम मात्र तरुल बजारमा भित्रिएकाले मूल्यमा सामान्य वृद्धि भएको उनले जानकारी दिए ।
पछिल्लो समय बजारमा तरुलको खपत बढ्दै गएको व्यवसायी भरत खतिवडाले जानकारी दिए । उपत्यकाको मुख्य तरकारी बजार कालीमाटी बजारमा मात्र माघे संक्रान्तिमा आठ करोड रूपैयाँभन्दा बढीको तरुल कारोबार हुने गरेको उनले बताए । माघे संक्रान्तिमा मात्र १० देखि १२ करोड रूपैयाँको एक हजार टन तरुलको कारोबार हुने गरेको उनको भनाई छ ।
उपत्यकाको मुख्य तरकारी बजारसँग अन्य बजारमा तरुलको कारोबार धेरै भएको छ । विशेष गरी बल्खु, बानेश्वर, तीनकुने, कोटेश्वर, बालाजुलगायत अन्य साना तरकारीबजारमा २ सय ५० टन तरुलको कारोबार हुने गरेको व्यवसायी बताउँछन् ।
व्यवसायी खतिवडाका अनुसार पछिल्लो समय तरुलको व्यापार निकै फस्टाएको छ । पहिले नरुचाउने उपभोक्ता पनि स्वास्थ्यका लागि लाभदायक मानिने भएकाले यसको प्रयोग बढ्दै गएको उनको भनाई छ । समितिका अनुसार उपत्यकामा हुने तरुलको कुल कारोबारमध्ये ९५ प्रतिशत स्वदेशी र पाँच प्रतिशत भारतको उत्तर प्रदेशबाट आयातित तरुलको हिस्सा छ ।
बजारमा अत्यधिक महँगो मानिएको वन तरुलसहित घर तरुल, हात्तीपाइले तरुल, रातो पत्ताले तरुल, मुढे तरुल, सिमल तरुल, पानी तरुल, सर्लाही तरुललगायत बजारमा उपलब्ध छन् ।यो वर्ष पनि धादिङ, नुवाकोट, काभ्रे, दोलखा, चितवन, मकवानपुर, सर्लाही, तनहुँ, पाल्पा, स्याङ्जा, गोरखा, नवलपरासी, ललितपुरलगायत जिल्लामा उत्पादन भएका १३ प्रकारका तरुल काठमाडौं भित्रिएका छन् । बजारमा आएका तरुलमध्ये ७० प्रतिशत तराईको स्थानीय र १० प्रतिशत उपत्यका वरिपरीका जिल्लाबाट ल्याइएको छ ।
बजारमा खुद्रा व्यापारीले भने तरुलको फरक–फरक मूल्य निर्धारण गरिररहेका छन् । पसलैपिच्छे फरक–फरक मूल्य लिई व्यवसायीले उपभोक्ता ठगिरहेका छन । कालीमाटी बजारको होलसेल मूल्यभन्दा बाहिरी खुद्रा बजारमा तरुलको मूल्य उच्च छ ।

 

प्रतिक्रिया दिनुहोस्