कांग्रेस क्रियाशील सदस्यता छानबिन अन्तिम चरणमा «

कांग्रेस क्रियाशील सदस्यता छानबिन अन्तिम चरणमा


नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पर्टीमा क्रियाशील सदस्यताको छानबिन अन्तिम चरणमा पुगेको बताएका छन् । जिल्लाहरुबाट पठाइएका क्रियाशील सदस्यहरुको फाइल हेरेर छानबिन प्रक्रिया टुंगिएको अवस्थामा पु¥याइएको नेता पौडेलले बताए ।
अबको केही दिनमै बाँकी रहेका केही जिल्ला र क्षेत्रहरुको पनि छानबिन गरेर प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने निर्णय भएको बताउँँदै पौडेलले पार्टीको १४ औँँँ महाधिवेशनमा ८ लाख ५२ हजार क्रियाशील सदस्यको इन्ट्री भएको बताए । तर यसमा कतिपय सदस्य उजुरीका आधारमा हट्नेछन् भने केही वडामा थपिन पनि सक्छन् ।
अहिलेसम्म जनसम्पर्क समितिका क्रियाशील सदस्यता नआइसकेकोले ८ लाख ५० हजार क्रियाशील सदस्य कायम हुनसक्ने नेता पौडेलको भनाइ छ । साथै पुरानो कार्यतालिका पनि केही फेरबदल हुन सक्नेछ । ‘अब टेक्निकल पाटोको मात्रै काम बाँकी छ । ३,४ दिनमा क्रियाशील सदस्यहरुको हार्ड कपी बुझाउँछौँ, सभापतिले केन्द्रीय समितिमा राखेपछि समितिबाट पास हुँँदै निर्वाचन समिति र त्यहाँँबाट वडामा जानेछ,’ पौडेलले भने ।
क्रियाशील सदस्यता प्रारम्भिक मतदाता नियमावली भएकोले यो टुंगिएपछि धेरै काम सकिने र महाधिवेशनको काम चलिरहने नेता पौडेलले बताए । क्रियाशील सदस्यताका लागि अधिकांश विषय सहमतिमै टुंगिसकेकोे र यसबाट नटुंगिएकालाई मापदण्डबाट टुंग्याएको बताउँँदै नेता पौडेलले मर्यादा उल्लंघन गरेर असहमति जनाउने विषयलाई कडाइका साथ रोक्नुपर्ने बताए । सहमति र मापदण्ड दुवैबाट नटुंगिएकालाई पदाधिकारीहरुकोमा पठाइएको र यसरी नेताहरुकोमा पठााउने वडाको संख्या ७० भन्दा बढी रहेको नेता पौडेलको भनाइ छ ।

आक्रमणकारीलाई कारवाही हुने
नेपाली कांग्रेसले पार्टीका केन्द्रिय सदस्य तथा क्रियाशील सदस्यता छानवीन समितिका सदस्य श्याम घिमिरेमाथि आक्रमण गर्ने पार्टीका नेता, कार्यकर्तालाई कडा कार्वाही गर्ने भएको छ ।
प्रधानमन्त्री एवम् पार्टीका सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको पार्टीको पदाधिकारी बैठकले पार्टीको आशन्न १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता छानवीनका लागि गठित छानवीन समितिका सदस्य घिमिरेमाथि आक्रमण गर्ने सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत र त्यसमा संलग्न अन्य कार्यकर्ताहरुलाई कारवाही गर्न पार्टीको अनुशासन समितिलाई निर्देशन दिएको हो ।
शनिबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले आक्रमणको सो घटनामा संलग्न नेता, कार्यकर्ताहरुलाई २४ घण्टा भित्र स्पष्टिकरण लिई ३ दिन भित्र कारवाही गर्न सभापति देउवाले पार्टीको अनुशासन समितिलाई निर्देशन दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बस्नेत नेतृत्वको टोलीले शुुक्रबार विहान पार्टीका केन्द्रिय सदस्य एवम क्रियाशील सदस्यता छानवीन समितिका सदस्य घिमिरेमाथि समितिको कार्यालयमै पुगेर हातपात गरेका थिए । बैठकले क्रियाशील सदस्यता छानवीन समितिलाई सहयोग गर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरेको छ । विधिसम्मत प्रक्रियालाई आत्मसात गर्दै क्रियाशील सदस्यता छानवीन समितिले काम गरिरहेको र त्यसलाई सहयोग गर्न पनि पार्टी पंक्तिलाई आह्वान गरिएको प्रवक्ता शर्माले बताए । बैठकले महाधिवेशनको क्रममा कुनै पनि खालको अराजक गतिविधि नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएको छ । नेपाली कांग्रेसको आगामी भाद्र १६–१९ गते हुने १४ औं महाधिवेशन हुँदैछ ।

संसदीय दलको बैठक आज
नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ ।
पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि दलको पहिलोपटक बैठक बस्न लागेको हो । विसं २०७४ को निर्वाचनपछि प्रमुख प्रतिपक्षी दलका रुपमा सदनमा भूमिका निर्वाह गर्दै आएको कांग्रेस गत साता सरकारको नेतृत्वमा पुगेपछि परिवर्तित परिस्थितिमा दल र सांसदले खेल्नुपर्ने भूमिकाका विषयमा बैठकमा छलफल हुने बताइएको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थितिमा पार्टीले सदनमा निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा पनि छलफल हुनेछ । आइतबार दिउँसो ४ बजे संसद् बैठकसमेत बोलाइएको छ । यसअघि बिहान १० बजे संसद्को कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्