खप्तड गोल्डकपको खेलतालिका सार्वजनिक «

खप्तड गोल्डकपको खेलतालिका सार्वजनिक

धनगढी-देशकै सर्वाधिक धनराशीको ‘तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप’को खेलतालिका सार्वजनिक भएको छ । काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको अन्तिम चरणको खेलतालिका आएपछि आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले गोल्डकपको खेलतालिका सार्वजनिक गरेको हो ।
पुस २४ गतेदेखि माघ ५ गतेसम्म आयोजना हुने प्रतियोगिताको सार्वजनिक गरिएको खेल तालिका अनुसार सहभागी १२ टीमहरुलाई दुई समूहमा विभाजन गरिएको छ । पहिलो समूहमा आयोजक सुदूरपश्चिम– ११ स्पोर्टस क्लबसहित मेची नेत्रालय काकँरभिट्टा झापा, नेपाल एपिएफ, भ्याली च्यासल युवा क्लब, रुस्लान थ्री स्टार र दिल्ली एफसी रहेका छन् ।
यो समूहबाट नेपाल एपिएफ र रुस्लान थ्रीस्टार पहिलो चरणमा बाई पाएर सिधै क्वाटरफाईनलका खेल खेल्नेछन् । उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम– ११ स्पोर्टस क्लब र मेची नेत्रालय काकँडभिट्टा झापाबीच खेल हुने छ । यो खेलको विजेताले क्वाटरफाईनलमा नेपाल एपिएफएसँग प्रतिस्पर्धा गर्नेछ । भ्याली च्यासल युवा क्लब र दिल्ली एफसीबीच हुने खेलको विजेता टोलीले क्वाटरफाईनलमा रुस्लान थ्रीस्टारसँग खेल्नेछ ।
अर्को समूहमा सिग्नेचर मनाङ मस्र्याङ्दी, सिएमजी संकटा, नेपाल पुलिस, गोर्खा ब्वाईज स्पोर्टस् रुपन्देही, मोरङ ११ स्पोर्टस क्लब र क्यामरुनको धाउफिन्स टिम फ्यामिली क्लब रहेका छन् । यो समूहबाट पनि सिग्नेचर मनाङ मस्र्याङ्दी र क्यामरुनको टीम पहिलो चरणमा बाई पाएर सिधै क्वाटरफाईनलमा पुगेका छन् । मनाङले नेपाल पुलिस र मोरङ ११ स्पोर्टस् क्लबको विजेतासँग सेमिफाइनल प्रवेशका लागि खेल्ने छ । क्यामरुनको टिमले सेमिफाइनल जानका लागि सिएमजी संकटा र गोर्खा ब्वाईज स्पोर्टस रुपन्देहीबीचको विजेतासँग खेल्नेछ ।
प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । विभिन्न उप–समितिहरु गठन गर्दै पुसको सुरुवातदेखि तिव्र रुपमा तयारी थालिएपछि तयारी अन्तिम चरणमा पुगेको आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबका अध्यक्ष सुरेश हमालले बताए । प्रतियोगिताका लागि मैदान मर्मतको काम गर्नमात्रै बाँकी रहेको छ । प्रतियोगिता अवलोकनका लागि टिकट दरसमेत तोकिएको छ । क्वाटरफाईनलसम्मको लागि एक सय र एक सय ५० तथा सेमिफाईनल र फाईनलका लागि एक सय ५० र दुई सय रुपैयाँ तोकिएको छ ।
तेस्रो संस्करणको खप्तड गोल्डकपको विजेताले नगद २१ लाख र उपविजेताले नगद १० लाख हात पार्नेछन् । उत्कृष्ट खेलाडीले मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही १५÷१५ हजार पाउने आयोजकले जनाएको छ । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने छ । प्रतियोगिता धनगढीमा पुस २४ गतेदेखि सुरु भएर माघ ५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्