Logo

खोप वितरण प्रणालीमा प्रभावकारिता हुनु जरुरी

विश्वभरि नै कोरोनाले महामारीको रूप लिएको अवस्थामा कोरोनाको खोप बनाउन सफल भई मानिसहरूले खोप लगाउन पाउनाले अब मानिसहरूमा केही मात्रामा भए पनि रोगसँग लड्न सकिने विश्वस्तता प्राप्त भएको छ । सुरु–सुरुमा खोपप्रति मानिसहरूको अवधारणा निकै संकुचित तथा अविश्वासिलो थियो । अधिकांश मानिस खोप लगाउन डराउने गर्थे । सबैको मनमा कस्तो खोप हो ? खोप लगाएर मारिने पो हो कि ? तथा परीक्षणको खोप पो हो कि ? भन्ने जस्ता प्रश्न थियो । दिनप्रतिदिन खोपको व्यापक प्रयोग भएको विभिन्न सञ्चारमाध्यम तथा प्रत्यक्ष देखेपश्चात् बिस्तारै–बिस्तारै मानिसहरूको मनमा खोप लगाउनैपर्छ, खोप लगाएमा कोरोना नै लागे पनि रोगसँग सजिलै लड्न सकिने, अरूलाई सर्ने सम्भावना कम हुने तथा रोग प्रतिरोधात्मक क्षमतामा विकास हुने रहेछ भन्ने भावनाको सिर्जना भयो ।
स्वयम् म आफैं यो कस्तो खालको खोप होला, खोप लगाएर बाँचिने भए यतिका मानिसहरूले किन देहत्याग गर्नुपथ्र्योे झैँ लाग्थ्यो । तर, मैले मेरै घरछिमेकमा चार जनाको परिवारमा कोरोना लाग्दा खोप लगाएको दम्पतीमा अन्य दुई जनामा भन्दा स्वास्थ्य समस्या कम देखिएको र शीघ्र स्वास्थ्यमा सुधार आएको कारणले गर्दा खोप लगाउन अनिवार्य रहेछ भन्ने महसुस भयो । जसरी खोप लगाउन जरुरी छ, त्यसरी नै खोपको वितरण प्रणालीमा नियमितता हुन जरुरी छ । सुरुवातको चरणमा विभिन्न अस्पताल तथा स्थानहरूमा खोपको वितरण भएको थियो । सबैले त्यतिबेला लाइनमा बसी आफ्नो नागरिकता देखाएर खोप लगाएका थिए ।
त्यतिबेला सबैमा खोपका बारेमा सकारात्मक सोच पनि थिएन । तर, अहिलेको समयमा सबैमा जसरी हुन्छ खोप लगाउन पर्छ भन्ने छ । तर, सबैमा खोपको पहुँच पुग्न सकेको छैन । अहिले सरकारले ५९ वर्षमाथिका व्यक्तिहरूलाई खोप दिने भनिए तापनि यी वर्गका सम्पूर्ण मानिसहरूले खोप लगाउन पाएका छैनन् । प्रत्येक खोप केन्द्रमा सम्बन्धित व्यक्तिहरूले भनसुन तथा सिफारिसद्वारा आ–आफ्नो मानिसहरूलाई खोप लगाइ दिएका छन् । यहाँ नातावादको सिलसिला चलिरहेको हुनाले जसलाई उक्त खोपको आवश्यकता छ त्यही व्यक्तिले लगाउन पाएका छैनन् । यसो गर्नाले कतिपय मानिसले प्रथम डोज लगाएर दोस्रो डोज लगाउन पाएका छैनन् । जब कि दोस्रो डोज लगाउन पाइएन भने पहिलो डोज लगाउनुको अर्थ हुँदैन । खोप केन्द्रमा दिनभरि वर्षा, घाम, भोक, प्यास नभनी लाइनमा बसी दुःख खेप्नुपरेको तथा लाइनको बीचबीचमा अन्य मानिसहरूलाई पसाएको गुनासोसमेत आमजनताले गरेका छन् ।
तर, यो दुखेसो गर्ने हामीले कसलाई ?? सरकारलाई या स्वयम् हामी आफैंलाई ? विकास तथा सुधारको पहल आफैंबाट पो गर्ने हो कि ? र ५९ वर्ष माथिका व्यक्तिहरू पनि सबै सक्षम तथा खोप केन्द्रमा गएर लाइन बस्न सक्छन् भन्ने हुँदैन । असक्षम तथा दीर्घरोगी जो केन्द्रमा जान सक्षम छैनन्, त्यस्ता व्यक्तिहरूलाई के गर्ने ? त्यस्ता व्यक्तिहरूको हितका लागि उनीहरूको घरदैलोमा खोपको व्यवस्था पो गर्ने हो कि ? समुदायमा कति जना त्यस वर्गका मानिसहरू छन्, आँकडा निकालेर लिस्ट बनाएर त्यहीबमोजिम खोप वितरण पो गर्ने हो कि ? दिनभरि यस्तो घाम र पानी नभनी उभिएर भिडमभीड गरेर खोप लगाउन बस्दा दीर्घरोगी तथा अशक्त व्यक्तिहरूले समस्या खेप्नुपरिराखेको छ भने त्यहीबाट झनै संक्रमण बढ्न सक्ने सम्भावना पनि छ । त्यसैले केन्द्रमा पनि सबैले स्वास्थ्यको मापदण्ड नियमपूर्वक पालना गर्न तथा गराउन अत्यावश्यक जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्