‘हेटौंडा नेपालकै प्रमुख औद्योगिक हब’ «

‘हेटौंडा नेपालकै प्रमुख औद्योगिक हब’

देशकै ठूलो क्षेत्रफलमा फैलिएको औद्योगिक क्षेत्र रहेको हेटौंडालाई नेपालकै प्रमुख औद्योगिक हब बनाउनुपर्नेमा जोड दिइएको छ । भौगोलिक हिसाबले नेपालकै मध्य भागमा रहेको र ठूला राजमार्गसँग जोडिएको कारण हेटौंडाको औद्योगिक विकास सहज भएको भन्दै त्यसतर्फ सरकारले ध्यान दिनुपर्नेमा उद्योगी व्यवसायीहरूले जोड दिएका छन् ।
त्यसतर्फ सरकारले ध्यान दिनुपर्नेमा उद्योगी व्यवसायीहरूले जोड दिएका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघको शनिबार भएको ५२ औं वार्षिक साधारणसभामा बोल्ने नेपालका उद्योगी व्यवसायी तथा सांसदले हेटौंडालाई ३ नम्बर प्रदेशको स्थायी राजधानी बनाई औद्योगिक प्रतिष्ठानको विकास गर्दै लैजानुपर्नेमा जोड दिएका हुन् ।
हेटौंडा औद्योगिक क्षेत्रमा नयाँ उद्योगहरू थप्ने तथा बन्दै गरेको मयुरधाप औद्योगिक क्षेत्रमा आन्तरिक तथा बाह्य लगानी भिœयाई रोजगार सिर्जना गर्नुपर्नेमा उनीहरूको जोड थियो । औद्योगिक विकासले मात्र नेपालको समृद्धि सम्भव रहेको भन्दै त्यसका लागि सरकारले उचित वातावरण तयार गर्नुपर्ने उद्योगी व्यवसायीको भनाइ थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कृषि, पर्यटन र उद्योगको विकास गरे मात्रै नेपाललाई मध्यम आय भएको देश बनाउन सकिने भन्दै नयाँ औद्योगिक क्षेत्रहरू पनि थप गर्दै लैजानुपर्ने बताए । संघीयतालाई सार्थक बनाउनकै लागि ३ नम्बर प्रदेशको राजधानी हेटौंडा उचित हुने उनको तर्क थियो । “म काठमाडौंवासी भएर पनि हेटौंडा नै राजधानी हुनुपर्छ भन्ने पक्षमा छु, किनकि अब काठमाडौंले जनसंख्याको चापलाई धान्न सक्दैन ।” देशको नीति कमजोर भएकाले उद्योग क्षेत्रमा बाह्य लगानी आउन नसकेको भन्दै उनले सरकारले पनि नीति नियम बनाउँदा उद्योगमैत्री बनाउनुपर्नेमा उनले सरकारलाई सुझाव दिए ।
गैरआवासीय नेपाली संघ (एनआरएन)का अध्यक्ष भवन भट्टले हेटौंडा–काठमाडौं सुरुङमार्ग निर्माणको काम पनि केही समयमा नै सुरु हुने भन्दै हेटौंडाको औद्योगिक विकासको ढोका खुल्ने दाबी गरे । नेपाल पूर्वाधार विकास कम्पनीका अध्यक्षसमेत रहेका भट्टले विभिन्न देशसँग लगानीका लागि सम्झौता भइसकेको र अन्य देशबाट पनि लगानीका लागि पहल भइरहेको कम्पनीको नेतृत्वमा चाँडै नै सुरुङमार्ग पूरा हुने विश्वास दिलाए । विभिन्न क्षेत्रमा लगानी ल्याउनको लागि अन्तर्राष्ट्रिय क्षेत्रसँग सम्बन्ध बढाउन पनि उनले सरकारलाई सुझाव दिए ।
बेलारुसका आवासीय महावाणिज्यदूत तथा नेपालका चर्चित व्यवसायी अजेयराज सुमार्गीले देशको विकास लागि अन्तर्राष्ट्रिय लगानी भिœयाउन कन्जुस्याईं गर्नु नहुने तर्क गरे । नेपालमा व्यवसायको लागि आफूहरूले विदेशबाट लगानी ल्याउन थाल्दा सरकारले अनुमति नदिइरहेको भन्दै उनले गुनासो गरे । “देशको विकासको लागि विदेशबाट पैसा ल्याउँछु भन्ने किन रोक्ने, हामी कसैले लगानी गर्छुभन्दा भाँडो पनि राम्रोसँग थाप्न नजान्ने अनि कसरी विकास हुन्छ ?” सुमार्गीले भने ।
कार्यक्रममा प्रतिनिधि सभाका सांसद विरोध खतिवडाले हेटौंडाको भाग्य र भविष्य बलियो रहेको तर्क गर्दै मकवानपुरलाई औद्योगिक जिल्ला बनाउन आफूहरूले धेरै अघिदेखि पहल गरिरहेको बताए । हेटौंडा नै प्रदेशको स्थायी राजधानी हुने र हेटौंडा औद्योगिक हब बन्नेमा कुनै शंका नरहेको खतिवडाको भनाइ थियो । सरकारले उद्योग व्यवसायसँग जोडिएका नीति बनाउँदा निकै छलफल गर्ने र देशको विकासको लागि औद्योगिक उत्पादनलाई प्राथमिकतामा राख्ने उनको प्रतिवद्धता रहेको थियो ।
उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले देशको समृद्धिका लागि औद्योगिक विकास आवश्यक रहेको औंल्याए । औद्योगिक प्रतिष्ठानको विकास भए रोजगारी सिर्जना हुने र जनताको आयस्तरमा सुधार हुने उनको विश्वास थियो । कार्यक्रममा ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, संघका सल्लाहकार भरत पराजुली, उद्योग वाणिज्य महासंघका ३ नम्बर प्रदेश अध्यक्ष दिनेश श्रेष्ठ, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी, संघका सदस्य राजेशमोहन प्रधान लगायतले मुलुकको आर्थिक विकासको मुल आधार नै उद्योग व्यवसाय भएको भन्दै सरकारको ध्यान औद्योगिक विकासमा हुनुपर्ने औंल्याएका थिए ।

अतिथि भवन निर्माण गर्न ४० लाख सहयोग
मकवानपुर उद्योग वाणिज्य संघले निर्माण सुरु गर्न लागेको अतिथि गृह निर्माणका लागि ४० लाख रुपैयाँ संकलन भएको छ । संघको शनिबार भएको साधारणसभामा उपस्थित अतिथिहरूले संघको अतिथि गृह निर्माणका लागि सहयोग रकम हस्तान्तरण गरेका हुन् । भवन निर्माणका लागि व्यवसायी तथा नेपालका लागि बेलारुसका आबासीय महावाणिज्य दूत अजयराज सुमार्गीले २० लाख रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष तथा नेपाल पूर्वाधार विकास कम्पनीका अध्यक्ष भवन भट्टले ५ लाख, उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले ५ लाख, संघका अध्यक्ष कृष्ण कटुवालले ५ लाख र व्यवसायी सुरेशकुमार श्रेष्ठले ५ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् ।करिब ५ करोडको लागतमा निर्माण हुन लागेको अतिथि गृहको यसअघि नै भूमिपुजन भइसकेको छ । अब केही समयमा नै निर्माण सुरु गरिने मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

५ जना पुराना व्यवसायी सम्मानित
माधवराज सुमार्गी ट्रष्टले स्थापना गरेको माधवराज सुमार्गी स्मृति पुरस्कारबाट ५ जना पुराना व्यवसायी सम्मानित भएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको ५२ औं साधारणसभाको अवसरमा व्यवसायी विष्णुराम प्रधान, गंगाविष्णु ढकाल, प्रताप इन्जिनियरिङ वर्कशप हेटौंडा सञ्चालक शोभनसिं रानाभाट, सोना शाह र बुद्धिबहादुर श्रेष्ठलाई सम्मानित गरिएको हो । ट्रष्टका तर्फबाट अरुणराज सुमार्गी, अजयराज सुमार्गी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, संघका अध्यक्ष कृष्ण कटुवाललगायतले उनीहरूलाई सम्मानपत्रसहित नगद पुरस्कार हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्