बजारको अवस्था, लगानी र कारोबार रणनीति «

बजार अंकले केवल मानसिक उत्साह र निराशा मात्र दिन्छ, वास्तविक लाभ किनबेच अनि लागत र लगानी व्यवस्थापन सीपमा निर्भर हुन्छ ।

बजारको अवस्था, लगानी र कारोबार रणनीति

आर्थिक वर्ष २०७७-७८ पुँजीबजारको विकास र विस्तारका हिसाबले निकै उत्साह र उमंगपूर्ण रह्यो । २०७७ साउन १ मा १३६२.३४ बाट खुलेर ३२.४३ ले बढेर परिसूचक (इन्डेक्स) १३९४.७७, कारोबार रकम रु. १.०४ अर्ब र बजार पुँजीकरण रु. १८.३५ खर्बको बजार २०७८ असार मसान्तमा इन्डेक्स २८८३.३८, कारोबार रकम रु. ८.१४ अर्ब र बजार पुँजीकरण रु ४०.११ खर्ब पुगेको छ । हुन त बजारमा दैनिक कारोबार रु. १९.५५ अर्ब, इन्डेक्स ३०२५.८२ र बजार पुँजीकरण रु. ४२.१६ खर्बसम्म पुगेको थियो । बजार सञ्चालक, नियामक, स्टक ब्रोकर, सरकार अर्बौंको लाभकर र कमिसन अनि कारोबारी पुँजीगत लाभबाट रमाउँदै गर्दा लगानीकर्ता पोर्टफोलियो मोटाएकोमा दंग छन् । एकै वर्षमा १५२१.०४ बिन्दु (१११.६५ प्रतिशत) ले बढेको बजार, वर्षान्त नजिक ७ प्रतिशत हाराहारी घट्दा र नियामकीय हस्तेक्षपसँगै बजारको अवस्थासम्बन्धी विवादास्पद आवाजहरू पनि उठे ।

बजारको अवस्था र अन्योलता
सामान्यतः बजारको अवस्था बढ्दो (बुल), घट्दो (बियरिस) र सामान्य (साइडवेज) का रूपमा जनाइन्छ । बुललाई पनि ‘बुल’ र ‘बुल रन’ तथा बियरिसलाई ‘सिजनल बियरिस’, ‘बियरिस’ र ‘क्र्यास’मा चित्रित गरिन्छ । विगत १८–२० महिनादेखि बढ्दै इन्डेक्स ३०२५.८२ र दैनिक कारोबार रु. १९.५५ अर्ब पुगेको बजार इन्डेक्स केही घटेर २८०१.१३ र कारोबार रु. ४.२२ अर्बमा ओर्लिएसँगै बजार अवस्था सम्बन्धमा तर्कवितर्क भए । विज्ञता र स्वार्थअनुरूप केहीले सिजनल बियरिस र बियरिसको सम्भावना औंल्याए भने कतिपयले बजार बुलरनमा नै रहेकाले सामान्य करेक्सन भने । जीडीपी बराबरको बजार पुँजीकरणसँगै सैद्धान्तिक रूपमा बढ्दो वा बुलको चरित्र प्रस्तुत गरिसकेको बजारका तथ्यांकले बियरिस वा क्र्यासको संकेत भने दिइसकेको थिएन । बजार उच्चतम बिन्दुबाट ७.५ प्रतिशत हाराहारी मात्र घटेको थियो, जबकि बियरिसमा बजार २० प्रतिशत बढीले घट्छ र क्र्यासमा हतास मानसिकता र मूल्यमा भारी गिरावट देखिन्छ ।
तर, बजारको तथ्यांकले एक वर्षमा इन्डेक्स १११.६५ प्रतिशतले बढ्दा बजार पुँजीकरण १२३.७० प्रतिशतले बढेको देखिन्छ । उपसूचकहरूमध्ये सबैभन्दा बढी व्यापार समूहको ३२५.०७ र कम लगानी समूहको ६.२६ प्रतिशतले बढ्दा सबैको चासो रहने बैंकिङ ७०.३६ प्रतिशतले बढेको छ । होटल तथा पर्यटन र अन्य समूह पुनःमिलान तथा लगानी समूह थप हुँदा उपसूचकको वृद्धिदरमा केही अन्योल देखिन्छ ।

वार्षिक तथ्यांकले उत्साहजनक अवस्था प्रस्तुत गर्दै गर्दा तत्कालीन अवस्थाले बजारको अन्योलता र अनिश्चितता प्रस्ट्यारहेको छ । मौद्रिक नीतिसँगै बजारको दिशा प्रस्टिने अपेक्षाविपरीत बढ्दो राजनीतिक अन्योलता, २०७८ असार २९ गते भएको सरकार परिवर्तनसँगै विगत सरकारले अध्यादेशबाट ल्याएको बजेट र नीति तथा कार्यक्रमको अन्योलताले बजारलाई पनि अन्योल र अस्थिर बनाएको छ । बजारको उचाइसँगै नियामकहरूबाट हस्तक्षेप र नियन्त्रणका प्रयासले बजारलाई अन्योलपूर्ण र लगानीकर्ता÷कारोबारीलाई थप त्रसित बनायो । नयाँ आवबाटै होल्ड अवधिका आधारमा व्यक्तिलाई ५ र ७.५ प्रतिशतको फरक दरमा लाभकर, प्रिओपनमा घटाएर कायम २ प्रतिशतको मूल्यान्तर सीमा, रुपैयाँबाट १० पैसामा हुने मोलमोलाइको बजारमा प्रभाव अनिश्चित छ । बजार के हुन्छ ? स्पष्ट जवाफ कोहीसँग छैन र हुँदैन पनि । सरकारको निरन्तरता; नीति तथा कार्यक्रम; मौद्रिक नीति; धितोपत्र बोर्डको नीति; कोभिडको अवस्था र आर्थिक गतिविधि; कम्पनीहरूको मुनाफा र सम्भावित लाभांशजस्ता धेरै कुरासँगै लगानीकर्ता-कारोबारीको सोच र व्यवहारले बजारको अवस्था डो¥याउनेछ ।

सम्भावना र रणनीतिहरू
समयानुसार गति परिवर्तन गर्दै बजार चलिरहन्छ । माग र आपूर्तिअनुसार वैधानिक सीमाभित्र रहेर मूल्यान्तरका खेलाडीहरू धितोपत्र किनबेच गरिरहन्छन् भने मूल्यमा उतारचढाव पनि भइरहन्छ । घट्दो (बियरिस) बजारमा सुस्ताएको धितोपत्र आपूर्ति बढ्दो (बुल) बजारमा मूल्य बढेसँगै जुर्मराउँछ, जसले पुनःमूल्यमा दबाब दिँदै बजार सुस्ताउन बाध्य बनाउँछ । हेर्दा कारोबारीले निर्धारण गरेजस्तो लाग्ने मूल्य वास्तवमा धितोपत्रको माग–आपूर्तिमा निर्भर रहँदै बुलले बियरिस र बियरिसले बुललाई डो¥याउँछ ।
बजारको अवस्था जनाउने अंकहरूले केवल मानसिक उत्साह र निराशा मात्र दिन्छ । कारोबारीको वास्तविक लाभ किनबेचको सीप र लगानीकर्ताको लाभ लागत र लगानी व्यवस्थापन सीपमा निर्भर हुन्छ । अझ इन्डेक्स र पुँजीकरणको शुद्धतामै बारम्बार प्रश्न उठेको र इन्डेक्स कारोबार नहुने नेपाली बजारमा परिसूचक र पुँजीकरण केवल इक्विटी मार्केटका अंक मात्र हुन् ।
त्यसैले आफू कारोबार वा लगानी के गर्ने ? स्पष्ट हुँदै कुन र कति लाभका लागि कति जोखिम लिने ? बजार फरक अवस्थाको मूल्यगत अवसर र जोखिमको व्यवस्थापन कसरी गर्ने ? तुलनात्मक रूपमा लाभदायक कम्पनी छान्ने ? सीप र क्षमतामा खरो उत्रिन सके जुनसुकै बजारमा लाभ लिन वा नोक्सानी कम गर्न सहज हुन्छ । लहलहै र बजार परिसूचकको भरमा कारोबार वा लगानी केवल ज्यान र धनको क्षतिमात्र हुन सक्छ ।
कारोबारीले कम्पनीको आधारभूत पक्ष (फन्डामेन्टल) भन्दा बजारको तत्कालीन अवस्था र सम्भावित परिवर्तन, माग र आपूर्ति, मूल्यान्तरका खेलाडी र मनोदशा, मूल्यान्तरको सम्भावना र अवसर, आस र त्रास, विभिन्न जोखिम र अवसरको तथ्यांकीय÷प्राविधिक र व्यावहारिक विश्लेषण (टेक्निकल एनालाइसिस) गर्दै जोखिमवहन क्षमता, मूल्य हस्तक्षेप र मूल्यान्तरमा खेल्ने क्षमतासँगै लक्षित मुनाफाको आधारमा नाफा लिनु (प्रफिट बुक) वा नोक्सानी रोक्नु (स्टप लस) पर्छ । जति नै क्षमता र लाभको सम्भावना भए पनि अति धेरै र केन्द्रिकृत (कन्सट्रेड) जोखिम लिनु घातक हुनसक्छ । ‘घाँटी हेरर हाड निल्नु’ र ‘लोभले लाभ, लाभले विलाप’ अनि बढेको बजार कुनै न कुनै बिन्दुबाट घट्ने र घटेको पनि बढ्ने पक्ष मनन गर्नुपर्छ ।
कारोबारीले क्षणिक जोखिम लिँदा लगानीकर्ताले बहुपक्षीय र दीर्घकालीन जोखिम लिनुपर्ने हुँदा लगानीमा बढी नै चनाखो हुनुपर्छ । बजारको जुनसुकै अवस्थामा पनि लगानीकर्ताले धितोपत्रको बजार मूल्यभन्दा लागत र प्रतिफलमा अनि प्रतिफलभन्दा पहिले लगानी संरक्षणमा ध्यान दिनुपर्छ । तत्कालको अवस्थामा,
१. पोर्टफोलियोमा रहेका कम्पनीहरूको वित्तीय, व्यावसायिक र व्यवस्थापिक अवस्था, औसत लागत र मूल्यगत लाभको विस्तृत विश्लेषण गर्नुस् । अल्पकालीन लगानी, उल्लेख्य मुनाफा भएका, घाटामा भएका वा बढी घाटाको सम्भावना भएका सेयर केलाएर व्यवस्थापन गर्नुस् ।
२. मध्य वा दीर्घकालीन धारण वा पाल्ने (होल्ड) गर्ने सेयर वा कम्पनीको बजारको मूल्यान्तर, मूल्य, इन्डेक्सको चिन्ता छोडेर कम्पनीको व्यवसाय, सुशासन, सञ्चालक अनि व्यवस्थापन, मुनाफा, लाभांश र वृद्धिदरमा ध्यान दिनुस् ।
३. लगानीमा प्रतिफल मूल्यमा नभई लागतमा निर्भर हुने हुँदा औसत लागत बजार मूल्यभन्दा कम कायम गर्दै प्रतिफल बढाउन क्रियाशील रहनुस् । प्रत्येक न्यून मूल्यमा केही न केही सेयर किन्दै जानुस् । लगानीयोग्य रकम वा पछिका मूल्यगत अवसरका लागि उच्च मूल्यगत लाभका अथवा मर्ज-प्राप्तिको लाभकर छुटका सेयर बेचेर भए पनि केही रकम जोहो गर्नुस् ।
४. लगानीमा क्षणिक नाफाघाटाबाट उत्साहित र त्रसित नभई दीर्घकालीन र चक्रिय (कम्पाउन्डिङ) प्रतिफलमा ध्यान दिनुस् । अझ सेयरमा गरिने लगानीको वास्तविक प्रतिफल प्राप्त गर्न अन्य व्यवसायको तुलनामा निकै धैर्य र समय लाग्न नबिर्सनुस् । बजारको हरेक अवस्थाका लागि रणनीति र तयारी गर्नुस् ।
५. कारोबारीले विगतको छोटो अवधिमा राम्रो मुनाफा र मूल्य बढेकै आधारमा सुनिश्चित नाफा, घाटा नहुने र सदैव बढ्ने (बुमबुम) बजारका रूपमा बुझ्नु र किनबेच गर्नु घातक हुनेछ । प्रफिट बुक र स्टप लसमा चनाखो हुनुस् ।
६. लगानी सकेसम्म ऋणबाट नगर्न सुझाइन्छ । ऋणबाट लगानी गर्नेले बजारको अवस्था अनुसार मार्जिन कल, सावाँ–ब्याज भुक्तानीका लागि वैकल्पिक व्यवस्थासहित केही रकमको जोहोमा ध्यान दिनुस् ।
७. बजारको परिवर्तित अवस्थाअनुसार बढी जोखिमपूर्ण सेयरमा केही घाटा बुक गरेर भए पनि कम जोखिमपूर्ण सेयरमा सिफ्ट हुनुस् ।
८. बजारमा कोही पनि निपुण हुँदैन, हिजोको सफलता वा असफलताबाट सिक्दै अगाडि बढ्ने हो । त्यसैले लगानी वा कारोबार दुवै अवस्थामा सफलता र असफलताको समीक्षा गर्दै सुधारका लागि तत्पर रहनुस् । जुनसुकै अवस्थामा बजारबाट नभाग्नुस् । खेलमा टिक्न सके जितको सम्भावना सदैव रहन्छ ।

प्रतिक्रिया दिनुहोस्