जुत्ता–चप्पल तथा छालाजन्य औद्योगिक प्रदर्शनी सम्पन्न «

जुत्ता–चप्पल तथा छालाजन्य औद्योगिक प्रदर्शनी सम्पन्न

काठमाडौं-काठमाडौंको भृकुटीमण्डपमा गत पुस १३ गतेबाट सुरु भएको जुत्ता–चप्पल तथा छालाजन्य वस्तुहरूको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी शुक्रबार एक कार्यक्रमकाबीच सम्पन्न भएको छ । नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेको उपस्थितिमा समापन गरिएको हो । ‘राष्ट्र समृद्धिको आधार, स्वदेशी उत्पादनको प्रयोग’ भन्ने मूलनाराका साथ सम्पन्न प्रदर्शनीमा देशभरका विभिन्न साना, मझौला एवं ठूला उद्योगहरूद्वारा उत्पादित जुत्ता–चप्पल तथा छालाजन्य वस्तुहरूको १ सय ९१ वटा स्टल प्रतिस्पर्धात्मक रूपमा थिए ।
उक्त प्रदर्शनीमा बिभिन्न सेलिब्रेटी, व्यवसायी, नेता, नियमक निकायका प्रतिनिधिलगायत १ लाख ५० हजार अवलोकन कर्ताले अवलोकन गरेको आयोजकले बताएको छन् । प्रदर्शनीको अन्तिम दिन आयोजन भएको समापन कार्यक्रममा बोल्दै फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसनका अध्यक्ष कृष्णकुमार फुँयालले नेपालमा उत्पादित जुत्ता आन्तरिक तथा अन्तर्राष्ट्रिय बजार विस्तारका लागि व्यावसायिक रूपमा लागिपरेको बताए । “हाम्रो पछिल्लो उत्पादन र उपभोगलाई हेर्दा क्रमशः आत्मनिर्भर बन्दै गएका छौँ, मागको ६० प्रतिशत धान्न सक्ने भएका छांै, यसले के सन्देश दिन्छ भने नेपाल जुत्तामा आत्मनिर्भर बन्दैछ ।”
उपभोक्ता, सरकार र सञ्चारमाध्यमको सहयोगले नै आफूहरूको सफलता मिलेको उनको भनाइ छ । उत्पादित जुत्तामध्ये कच्चा पदार्थको आयात र चुनौती बन्दै गएको छ । आधुनिक निर्माण सामग्री, आवश्यक दक्ष जनशक्ति र कच्चा पदार्थको अभावमा जुत्ता–चप्पल व्यवसायले अपेक्षित प्रगति गर्न नसकेको उनले बताए ।
उक्त समापन कार्यक्रमका प्रमुख अतिथि चन्द्रकुमार घिमिरेले बोल्दै, ‘यो औद्योगिक प्रदर्शनीले उपभोक्ता र व्यवसायीबीचको दूरी कम गरेको छ । प्रदर्शनीको स्तर बढ्दै गएको देख्दा खुसी लागेको र आगामी दिनमा पन अझै सुधार गर्दै जान सुभकामना समेत दिए । साथै, आगामी दिनमा प्रदर्शनीलाई सहयोग गर्ने बाचासमेत गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्