पौने १२ खर्ब खर्च «

पौने १२ खर्ब खर्च

आर्थिक वर्ष २०७७-०७८ मा करिब पौने १२ खर्ब रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थ सचिव शिशिरकुमार ढुंगानाले आर्थिक वर्ष २०७७-०७८ मा ११ खर्ब ८० अर्ब खर्च भएको जानकारी दिए । ‘२०७७-७८ मा हामीले १४ अर्ब ७४ अर्बको कुल बजेट सार्वजनिक गरेका थियौँ,’ उनले भने, ‘मध्यावधि समीक्षा गर्दा त्यसलाई १२ खर्ब ६६ अर्ब खर्च हुन्छ भन्ने संशोधित अनुमान थियो । तर, प्रारम्भिक अनुमान अनुसार ११ खर्ब ८० अर्ब खर्च भएको र यो सुरुको अनुमानको ८०.०८ प्रतिशत र संशोधित अनुमानको ९३.२० प्रतिशत हुन आउँछ ।’
अर्थसचिव ढुंगानाले चालु खर्चतर्फ ८ खर्ब ५१ अर्ब खर्च भएको बताए । चालु खर्चको अनुमान ९ खर्ब ४९ अर्ब रहेको र संशोधित अनुमान भने ८ खर्ब ६७ अर्ब रहेको पनि उनले जानकारी दिए । त्यस्तै पुँजीगत खर्चतर्फ ३ खर्ब ५२ अर्ब रुपैयाँ विनियोजन गरिएको र संशोधित अनुमान २ खर्ब ५१ अर्ब रुपैयाँ रहेकोमा पुँजीगत खर्चतर्फ २ खर्ब २८ अर्ब ४८ करोड रुपैयाँ खर्च भएको उनले बताए ।
उनका अनुसार, वित्तिय व्यवस्थापन अन्तर्गत कुल १ खर्ब ७२ अर्ब रुपैयाँ विनियोजन गरिएको र संशोधित अनुमान १ खर्ब ४५ अर्ब रुपैयाँ रहेकोमा कुल १ खर्ब रुपैयाँ मात्र खर्च भएको छ ।
त्यसैगरी बजेटमा राजस्व १० खर्ब ११ अर्ब रुपैयाँ उठ्ने अनुमान गरिएको थियो । पछि संशोधन गरेर ९ खर्ब ५९ अर्ब गरिएकोमा गत आर्थिक वर्षभरीमा ९ खर्ब ३८ अर्ब संकलन भएको ढुंगानाले बताए । त्यसमध्ये कर राजस्व ८ खर्ब ७० अर्ब रुपैयाँ र गैरकर राजस्व ६८ अर्ब रुपैयाँ रहेको भन्दै उनले त्यसबाहेक अन्य प्राप्ति मार्फत ४० अर्ब रुपैयाँ प्राप्त गरेको पनि बताए ।
अर्थसचिव ढुंगानाका अनुसार गत आर्थिक वर्षमा १ खर्ब ६२ अर्ब ६५ करोड रुपैयाँ वैदेशिक सहायता परिचालन भएको छ । त्यस्तै आन्तरिक ऋणको सिलिङ २ खर्ब २५ अर्बको रहेकोमा २ खर्ब २४ अर्ब रुपैयाँ संकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्