मौसम सक्रिय भए पनि रोपाइँ कम «

मौसम सक्रिय भए पनि रोपाइँ कम

मुलुकभर असार महिनासम्म ७६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।
समयमै वर्षा सक्रिय भए पनि यो वर्ष अघिल्लो वर्षको तुलनामा कम रोपाइँ भएको हो । कृषि विभागका अनुसार ३१ असारसम्म मुलुकभर ७६.४४ प्रतिशत धान रोपाइँ भएको छ । अघिल्लो वर्ष सो अवधिमा ८१.५८ प्रतिशत धान रोपाइँ भएको थियो । यो वर्ष समयमै वर्षात् भए पनि अघिल्लो वर्षको तुलनामा ५ प्रतिशत रोपाइँ कम भएको हो ।
विभागका सूचना अधिकारी डा. महादेवप्रसाद पौडेलले २ नम्बर प्रदेशमा धान रोपाइँ कम भएकाले पनि यो वर्ष अघिल्लो वर्षको तुलनामा कम रोपाइँ भएको जानकारी दिए । सबैभन्दा धेरै २ नम्बर प्रदेशमा धान रोपाइँ हुनेगर्छ, उनले भने, “तराईमा अलि ढिला रोपाइँ हुने र खेतमा पानी जमेकाले पनि कम रोपाइँ भएको हो ।” यो वर्ष समययमा मौसम सक्रिय भएको, रासायनिक मल र बीऊको अभाव नभएकाले पनि धानको उत्पादन बढ्ने अनुमान गरिएको उनले जानकारी दिए ।
मुलुकभर १३ लाख ७१ हजार ७ सय ६ हेक्टर धान रोपाइँ हुने क्षेत्रफल भएकोमा अहिलेसम्म १० लाख ४८ हजार ५ सय ७ हेक्टरमा धान रोपाइँ भएको विभागको तथ्यांक छ । अहिलेसम्म सबैभन्दा धेरै कर्णाली प्रदेशमा ९९.७१ प्रतिशत अर्थात् ३८ हजार १२ हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । यस्तै सुदूरपश्चिम प्रदेशमा ९०.७१ प्रतिशत अर्थात् १ लाख ४९ हजार ३४६ हेक्टर क्षेत्रमा रोपाइँ भएको छ । यस्तै लुम्बिनी प्रदेशमा ८६.९४ प्रतिशत अर्थात् २ लाख ६३ हजार ९४० हेक्टरमा धान रोपाइँ भएको छ । यस्तै बागमती प्रदेशमा ७८ प्रतिशत अर्थात् ९० हजार ३३० हेक्टरमा क्षेत्रमा रोपाइँ भएको छ ।
यस्तै गण्डकी प्रदेशमा ७२.४० प्रतिशत अर्थात् ७८ हजार ३९० हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भएको विभागको तथ्यांक छ । यस्तै प्रदेश २ नम्बरमा ६८ प्रतिशत अर्थात् २ लाख ५० हजार ५८२ हेक्टर क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ । सबैभन्दा कम प्रदेश १ मा ६४.४८ प्रतिशत १ लाख ७७ हजार ९ सय ५ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको विभागको भनाइ छ । सबैभन्दा धेरै धान उत्पादन हेन तराई क्षेत्रमा ७७.७७ प्रतिशत धान रोपाइँ भएको छ । यस्तै मध्यपहाडमा ७३.६३ प्रतिशत र उच्च पहाडमा ६९.५२ प्रतिशत रोपाइँ भएको विभागले जानकारी दिएको छ । तराई क्षेत्रमा ९ लाख ७७ हजार ४१४ हेक्टरमा धानखेती हुनेगर्छ । यस्तै मध्यपहाडमा ३ लाख ४६ हजार ९९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुनेगर्छ । यस्तै उच्च पहाडमा ४८ हजार १९३ हेक्टर क्षेत्रमा धान रोपाइँ हुने गर्छ ।
यो वर्ष समयमा वर्षात भएकाले धानको उत्पादन बढ्ने अनुमान गरिएको छ । आर्थिक वर्ष २०७६-७७ मा ५६ लाख ७१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । सातवटै प्रदेशमध्ये प्रदेश १ र लुम्बनी प्रदेश मात्र धानमा आत्मनिर्भर देखिएको छ अन्य सबै प्रदेशमा धान अपुग रहेको तथ्यांकले देखाएको छ ।
विगत तीन दशककोे अवधिमा मुलुकमा धान उत्पादन ६० प्रतिशतले वृद्धि भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । धानको उत्पादन र उत्पादकत्व वृद्धिका लागि प्रविधि, प्रसार, यान्त्रीकरण, धान भण्डारण, बजार पूर्वाधार सुधार एवं न्यूनतम समर्थन मूल्यको कार्यान्वयनजस्ता कार्यक्रमले सहयोग गरेको मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्