रेल सञ्चालन तयारी

सरकारले नौ महिनाअघि भारतबाट ल्याएर थन्क्याएको रेल सञ्चालनको तयारी सुरु गरेको छ ।
रेल सञ्चालनका लागि कुर्था–जनकपुर–जयनगर खण्डमा आइतबार रेल्वे ट्रयाकको स्पिड ट्रायल टेस्ट गर्न लागेको छ । भारत सरकारले ट्रयाक बुझाउने तयारी गरेकाले गर्दा ट्रयाक टेस्ट गरेर भारत सरकारले नेपाल हस्तान्तरण गर्न लागेको हो । “कति गतिमा रेल सञ्चालन गर्न सकिन्छ, सोही अनुसार ट्रयाक तयार भएको छ कि छैन सोही अनुसार रेल्वे टेस्ट गर्न लागिएको छ” रेल विभागका महानिर्देशक दीपक भट्टराईले भने, “रेल्वे ट्रयाकको परीक्षणका लागि नेपाली र भारतीय प्राविधिकसहितको टोलीले परीक्षण गर्न कार्यक्रम तय भएको छ ।”
ट्रयाक परीक्षणका लागि भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजेल लोकोमोटिभद्वारा ट्रयाकको गति परीक्षण गर्नेछ । यसको लागि भारतीय टोलीले भारतबाट आउने रेलले कुर्था–जनकपुर–जयनगर खण्डमा गति परीक्षण गर्नेछ । ३४ किलोमिटर सो खण्डमा प्रतिघण्टा रेलको गति १२० किलोमिटरको गतिमा सञ्चालन हुनेछ । रेल सञ्चालनको लागि सरकारले रेल्वे कम्पनी नै स्थापना गरिसकेको छ ।
रेल सञ्चालनको लागि नेपाल सरकार र भारतीय पक्षबीच भएको सहमति अनुसार नेपालका प्राविधिक कर्मचारीलाई रेल्वे सम्बन्धी तालिम र सञ्चालनको क्षमता विकास गर्ने गरी प्याकेजमा समावेश गरिएको छ ।
दोश्रो खण्ड कुर्थादेखि बिजलपुरासम्म चाँडै रेल सञ्चालन गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ । १३ सय यात्रु क्षमता भएको रेल्ले हाल ६ पटक अफ एन्ड डाउन (जनकपुर–जयनगर) गर्न योजना रहेकोे छ । जनरलमा क्लासमा प्रतिकिलोमिटर २ रुपैयाँ र वातावरण अनुकुल क्लास (एसि)मा अलि बढी भाडादर रहने जनाइएको छ ।
नेपाल सरकारले भारत सरकारसँग सरकार–सरकार (जीटूजी) अन्तर्गत दुई थान रेलको भ्याटबाहेक करिब ८५ करोड रुपैयाँमा भारतको सरकारी कम्पनी कोकन रेल्वे कर्पोरेसनसँग रेल किन्ने सम्झौता गरेको थियो । दुवै रेलको पाँच वटा डिब्बा छन् । लामो समयदेखि रेल सेवा नेपालमा बन्द रहेकाले सरकारले पाइलट प्राजेक्टको रुपमा मन्त्रिपरिषद्को सहमति लिएर रेल सञ्चालन गर्ने तयारी कम्पनीले नौ महिना अघिदेखि गरेको थियो ।
सरकारले रेल्वे कम्पनी गठन गरेर जेठको तेश्रो साता इन्जिनियर गुरु भट्टराईलाई सरकारले रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेको थियो । २०७७ को असोजमा रेल नेपाल आएको थियो । सरकारले १० महिना पछि रेल सञ्चालनको तयारी गरेको हो । आन्तरिक तयारी नपुगेको, जनशक्ति,कानूनको अभावले गर्दा समयमानै रेल सञ्चालन गर्न नसकिएको कम्पनीले बताउँदै आएको छ । सरकारले विगतमा निष्क्रिय रहेको सरकारी स्वामित्वको नेपाल रेल्वे कम्पनीलाई रेल सेवा सञ्चालनको जिम्मा दिने निर्णय गरेको थियो ।