‘रअ’का नक्कली एजेन्ट काठमाडौंबाट पक्राउ «

‘रअ’का नक्कली एजेन्ट काठमाडौंबाट पक्राउ

भारतको बाह्य गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ (रअ)मा जागिर लगाइदिने प्रलोभन देखाएर ठगी गर्ने ६ जना काठमाडौंबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले रअअन्तर्गत नेपालस्थित भारतीय राजदूतावासको कर्मचारी बनाइदिने प्रलोभनमा करिब ३ सय जनाबाट रकम असुल्ने गिरोहका ६ जना पक्राउ परेका हुन् ।
महाशाखाका अनुसार राजविराज नगरपालिका–२ का ४१ वर्षीय रमानन्द नोनिया, सुरी गाउँपालिका–२ दोलखाका २८ वर्षीय सन्तोष कार्की र ३० वर्षीय विनोद कार्की, नार्गे गागर्चे गाउँपालिका–५ काभ्रेका ४१ वर्षीय पदमबहदुर श्रेष्ठ, दोरम्बा गाउँपालिका–७ रामेछापका चित्रबहादुर श्रेष्ठ र महारजगञ्ज–काठमाडौंकी ३२ वर्षीय गीता महर्जनलाई पक्राउ गरिएको हो ।
यो गिरोहले यस्तै प्रलोभनमा पारी करोडौं रकम ठगी गरेको हुनसक्ने अनुसन्धान अधिकृतले जानकारी दिए । आरोपित विरुद्ध हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले ७ दिनको म्याद दिएको छ । प्रहरीका अनुसार रविभवन बस्दै आएका राजविराजका नौनियाले प्रतिव्यक्ति ३ लाखदेखि ५ लाख रुपैयाँसम्म असुल गरेर भारतीय राजदूतावास अन्तर्गत गुप्तचरमा जागिर लगाइदिने प्रलोभन दिएका थिए । नौनियाकै योजना अनुसार अन्य अभियुक्तले विभिन्न व्यक्तिबाट रकम असुल्दै आएको खुलेको छ । नौनियाले नेपालस्थित भारतीय राजदूतावासको लेटरप्याड प्रयोग गरी नक्कली नियुुक्तिपत्र थमाएर रकम असुल्ने गरेको पनि खुलेको छ । प्रहरीले रअमा जागिर खान गिरोहको सम्पर्कमा गएका युवायुवतीमाथि पनि अनुसन्धान अघि बढाइएको जनाएको छ । महशाखाले नौनिया र अन्य अभियुक्तसँग राजदूतावासका कर्मचारीसँग सम्पर्क भए–नभएको बारे पनि अनुसन्धान थालेको छ । प्रलोभनमा पारिएका व्यक्तिलाई मासिक ५० हजार देखि ८० हजार रुपैयाँसम्म तलब दिने सम्झौतासमेत गराइएको थियो । महाशाखामा यो गिरोहबाट ठगिएको भन्दै करिब १ दर्जन बढी उजुरी परेको छ ।

प्रतिक्रिया दिनुहोस्