सरकारले अर्थतन्त्रको श्वेतपत्र जारी गर्ने

अर्थमन्त्री जनार्दन शर्माले हालको अर्थतन्त्रको अवस्थाको सम्बन्धमा श्वेतपत्र जारी गर्ने बताएका छन् ।
शुक्रबार अर्थ मन्त्रालयमा पत्रकारहरुसँग परिचयात्मक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सरकारले अहिलेसम्मको आर्थिक अवस्था समेटेर श्वेतपत्र जारी गर्ने बताएका हुन् । उनले भने – ‘अहिलेसम्मको अवस्था के छ अर्थतन्त्रको भनेर यथार्थ विवरण, श्वेतपत्र तयार गरी केही दिनमा मन्त्रालयको तर्फबाट प्रस्तुत गर्नेछौँ ।’
अर्थमन्त्री शर्माले पुँजि बजारमा समस्या रहेको पनि बताए । पूँजी बजारको समस्या समाधान गर्न सर्वसाधारणको हित हुनेगरी नीति निर्माण गर्ने उनले बताए । उनले भने – ‘पूँजीबजार लगायतका समस्याहरु छन् । त्यसलाई पनि सर्वसाधारण जनतालाई कसरी उनको हितमा हुन्छ भन्ने बारेमा पनि हामी नीति, निर्माण गर्नेछौँ ।’
अर्थमन्त्री शर्माले अध्यादेशमार्फत् आएको आर्थिक वर्ष २०७८÷७९ को बजेट आगामी संसद बैठकमा पेश हुने र बजेट पास हुने, नहुने त्यसपछि नै निक्र्यौल हुने बताए । उनले भने – ‘अहिले बजेट लगायतका विषयहरु छ । अध्यादेश छ । अध्यादेश सदनमा प्रस्तुत हुन्छ । सदनले नै के गर्छ भन्ने कुरा भएको हुनाले, त्यो सदनको विषय नै भएको हुनाले अहिले त्यसमा, सदन ३ गते बोलाइसकिएको छ । त्यहाँ नै यसलाई टेबुल गरिदैँछ । त्यहाँबाट छलफल गरेर त्यो कसरी अगाडी बढ्छ, त्यसलाई स्वीकार, अस्वीकार, प्रतिस्थापन के हुन्छ भन्नेकुरा त्यहाँ गइसकेपछि तपाइहरुलाई जानकारी हुने नै छ ।’
सरकारको समग्र योजना निर्माण भइसकेपछि त्यसैको आधारमा अर्थ मन्त्रालयको भावी योजना र कार्यक्रमबारे बताईने पनि उनको भनाई छ ।