नगरपालिकामा मोबाइल एप्स «

नगरपालिकामा मोबाइल एप्स

सल्यान- शारदा नगरपालिकाले जनगुनासो सुन्न मोबाइल एप्स सार्वजनिक गरेको छ । सर्वसाधारण तथा सेवाग्राहीले राखेका गुनासो, सुझाव तथा समस्याको सुनुवाइ गर्न भन्दै शारदा नगरपालिकाले मोबाइल एप्स सार्वजनिक गरेको हो । आफूले प्रदान गरेका सेवाप्रवाहलाई प्रविधिमैत्री बनाउने हिसाबले मोबाइल एप्स सार्वजनिक गरेको नगरप्रमुख सुरेश अधिकारीले बताए ।
एप्समा नगरपालिकाको परिचय, सबै वडाको विभाजित नक्सा, त्यहाँको प्राकृतिक, भौगोलिक, साँस्कृतिक तथा सामाजिक अवस्था, नगरपालिकाले दिने सेवा, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, ऐन कानुन, महत्वपूर्ण स्थान, आपतकालीन नम्बरबारे जानकारीसमेत दिइएको अधिकारीले बताए ।
एप्समा उपलब्ध गराइएको नक्साबाटै नगरपालिकाले कुन स्थानमा कस्तो काम गरिरहेको छ, कति बजेट छुट्याइएको छ भन्ने विषयमा जानकारी लिन सकिने प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर शाहीले बताए ।
नगरपालिकाको आम्दानी र खर्च विवरण, नगरप्रोफाइल, सबै मोबाइल एप्समा सजिलै हेर्न सकिने उनको भनाइ छ । मोबाइल एप्समार्फत नै सेवा प्रदान गर्नका लागि प्राप्त निवेदनको विषयमा काम कारबाही अघि बढाउन वडाध्यक्ष र सचिवहरूका लागि तालिम दिएपश्चात मोबाइलबाटै सेवा लिन सकिने पनि नगरपालिकाले जनाएको छ । जन्म दर्ता, मृत्यु दर्ता, घटना विवरण, नगरपालिकाका योजनागत कार्यक्रम, नगरपालिकाको प्रगति विवरण, नगरक्षेत्रका सबै वडा कार्यालय समेटेर एप्स बनाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्