वाईवाईको ‘डायनामाइट एक्स्ट्रा स्पाइसी चिकेन’ को बिक्री सुरु

नेपालमा सर्वाधिक बिक्री हुने वाईवाई चाउचाउले नयाँ स्वाद थप गर्दै उत्पादन र बिक्री सुरु गरेको छ । ‘डायनामाइट एक्स्ट्रा स्पाइसी चिकेन’ स्वादको वाईवाई एक सय ग्राम तौलको प्याकमा उपलब्ध छ, जसको बजार मूल्य ५० रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।
यो चाउचाउको प्याकमा सिजनिङ स्यासे, स्वाद बढाउने मसला पेस्ट र सुकाइएका तरकारी राखिएका छन् । यो नयाँ उत्पादन पनि अन्य स्वादका चाउचाउ जसरी नै पकाउन सकिने बताइएको छ । वाईवाई चाउचाउलाई प्याकेट खोलेर उम्लिरहेको पानीमा हाल्ने, ५ मिनेटसम्म पाक्न दिने, त्यसपछि प्याकेटमा भएका मसला स्वादहरू मिसाएर राम्ररी चलाउने गरेपछि आफ्नो रुचि अनुसारका अन्य साग सब्जी र माछा मासु पनि मिसाउन सकिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
वाईवाई सबै उमेर समूह र समुदायमा प्रिय र नेपालमै सर्वाधिक रुचाइएको चाउचाउ हो । यो सामान्य खुद्रा पसलदेखि सुपर मार्केटसम्म सजिलै उपलब्ध हुन्छ । पकाएर वा त्यत्तिकै पनि खान सकिने वाईवाईलाई नेपालभर ‘स्टेपल फुड’का रूपमा पनि उपभोग गर्ने गरिएको छ । वाईवाई चाउचाउ हाल २७ फरक स्वादमा उपलब्ध रहेको बताइएको छ ।