‘१८ घण्टा खटेर मेलम्चीको पानी ल्याउँछौं’ «

‘१८ घण्टा खटेर मेलम्चीको पानी ल्याउँछौं’

मेलम्चीको पानी काठमाडौं उपत्यकामा आपूर्ति गर्न आफूहरू सक्षम रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का कर्मचारीले बताएका छन् ।
केयूकेएल अन्तर्गतका कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन र स्वतन्त्र कर्मचारी संगठनको शुक्रबार भएको एकता भेलामा कर्मचारीले १८ घण्टासम्म खटेर भए पनि मेलम्चीको पानी काठमाडौं उपत्यकामा सहज ढंगले वितरण गर्न सक्षम रहेको बताएका हुन् ।
खानेपानीमन्त्री बीना मगरको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा कर्मचारी युनियन एकीकरण कार्यदलका उपसंयोजक सुरेश कर्माचार्यले मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्न आफूहरू १८ घण्टासम्म खट्न तयार रहेको बताए । कर्माचार्यले मेलम्चीको पानी उपत्यकावासीलाई खुवाउन केयूकेएलका कर्मचारी दिनरात खटिन तयार रहेको प्रतिबद्धता जनाएका छन् । भेलालाई सम्बोधन गर्दै उनले भने, “मेलम्ची आएपछि हामी पानीको आपूर्ति व्यवस्थापन गर्न सक्षम छौं । दिनरात नभनी काम गर्छौं । हामी आफैं सक्षम छौं ।”
भेलामा अधिकांश कर्मचारीले छिटोभन्दा छिटो मेलम्चीको पानी ल्याउन सरकारले कुनै कसर बाँकी राख्न नहुने बताएका थिए ।
खानेपानीमन्त्री मगरले केही तत्वले भ्रम फैलाउन खोजे पनि मेलम्चीको पानी काठमाडौंमा ल्याएरै छाड्ने प्रतिबद्धता जनाएकी छन् । “केही त्यस्ता तत्वले मेलम्ची नआओस् भन्ने चाहेको छ,” उनले भनिन्, “मेलम्ची राष्ट्रिय गौरवको आयोजना भएकाले सरकारलाई विफल बनाउन स्वार्थ बोकेर केही व्यक्ति लागेका छन् । सरकारप्रति जनताको अविश्वास पैदा गराउन केही व्यक्तिले भ्रम सिर्जना गरिरहेका छन् । तर सरकार कहीँ कतै विचलित हुने छैन । काममा दृढ संकल्पका साथ मन्त्रालय अघि बढेको छ ।”
मन्त्री मगरले मेलम्चीको पानी काठमाडौं उपत्यकामा सहज ढंगले वितरण गर्न कर्मचारीमा सामूहिक प्रतिबद्धता आवश्यक रहेको औंल्याइन् । उनले मेलम्ची आयोजनामात्रै नभई देशैभरि रहेका मुख्यमुख्य सहरमा खानेपानीको आपूर्ति गर्न केही ठूला आयोजना सुरु गर्न लागिएको जानकारी दिइन् । मन्त्री मगरले खानेपानी तथा सरसफाइको क्षेत्रमा पहिलो पटक मन्त्रालयले साझा ऐन कानुन बनाउन लागेको स्पष्ट पारेकी छन् । अहिलेको अवस्था र भोलिको आवश्यकतालाई ध्यानमा राखेर खानेपानीको क्षेत्रमा विधेयक बनाउन लागिएको मन्त्री मगरले जानकारी गराएकी छन् ।

प्रतिक्रिया दिनुहोस्