३ करोडको सम्पत्ति पुस्तकालयलाई «

३ करोडको सम्पत्ति पुस्तकालयलाई

धनकुटा- धनकुटा नगरपालिका–५ देवानटारका ८९ वर्षिय टीकाप्रसाद लामिछानेले करिब तीन करोड रुपैयाँ मूल्यको सम्पत्ति आफैंले स्थापना गरेको पुस्तकालयलाई दिएका छन् । लामिछानेले उक्त सम्पत्ति आफैंले स्थापना गरेको गर्गचार्य सामुदायिक विश्वभाषा पुस्तकालयलाई सुम्पिएका हुन् ।
चार दशकदेखि साहित्य साधनमा लागेका लामिछानेले धनकुटा बजारको मध्यभागमा रहेको आठ आना जग्गासहित त्यसमा बनेको दुईतले पक्की घर, विभिन्न भाषामा लेखिएका हजारौं विधाका करिब ३५ हजार पुस्तक र त्यहाँका सम्पूर्ण भौतिक सामग्री पुस्तकालयको नाममा रजिस्ट्रेसन पास गरी जिम्मा दिएका हुन् । सम्पत्तिमात्र केही नभएर देश, जनता र समाजका लागि केहि सानो योगदान दिनका लागि आफूले सबै सम्पत्ति पुस्तकालयलाई हस्तान्तरण गरेको लामिछाने बताउँछन् ।
उनले भने, “पश्चिमा संस्कारको प्रभाव र आधुनिकताले पठन संस्कार हराउँदै गएको छ । त्यसैले गाउँ र नगरका हरेक वडामा पुस्तकालय अनिवार्य गरिनुपर्दछ ।”
२०२० सालमा त्रिभुवन विश्वविद्यालयबाट संस्कृत साहित्यमा शास्त्री उपाधि लिएका साहित्यकार लामिछानेका कथा, कविता, अभिव्यक्ति, खोज र अनुसन्धान विधाका २० वटा पुस्तक प्रकाशित भएका छन् । विश्वविद्यालयका कतिपय विद्यार्थीले साहित्यसेवी लामिछानेकै जीवनीमाथि शोधपत्र तयार पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्