कर्णाली प्रदेशको बजेट खर्च ६५ प्रतिशत «

कर्णाली प्रदेशको बजेट खर्च ६५ प्रतिशत


कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको ६५.८ प्रतिशत बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षको लागि ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार कुल बजेट विनियोजन गरेकोमा २१ अर्ब ९६ करोड २ लाख रुपैयाँ खर्च गरेको हो । जसमा पुँजीगततर्फको ७०.६३ र चालुतर्फको ५७.८७ प्रतिशत बजेट खर्च गरेको छ । पुँजीगततर्फ १९ अर्ब ६ करोड ९१ लाख र चालुतर्फ १४ अर्ब ६७ करोड २२ लाख रुपैयाँ प्रदेश सरकारले विनियोजन गरेको थियो ।
चालु आर्थिक वर्षमा प्रदेश सरकाले अहिलेसम्मकै बढी बजेट खर्च गरेको छ । प्रदेश सरकारले गत आर्थिक वर्षको तुलनामा ३२.४४ प्रतिशत धेरै रकम खर्च गरेको छ । गत वर्ष ४९.१४ प्रतिशत मात्र बजेट खर्च गरेको भएको थियो भने प्रदेश सरकारले अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा ३५.३७ प्रतिशत मात्र बजेट खर्च गरेको थियो ।
प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार मन्त्रालयहरु मध्ये सबैभन्दा बढी बजेट खर्च गर्नेमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ८२.०५ प्रतिशत खर्च गरेको छ भने दोस्रोमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले ७१.५२ प्रतिशत खर्च गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ६८.६० प्रतिशत, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ८६.३१ प्रतिशत खर्च गरेका छन् । सामाजिक विकास मन्त्रालयले ६६.७३ र भौतिक पूर्वाधार विकास मन्त्रालयले ६२.६७ प्रतिशत खर्च गरेका छन भने सबै भन्दा कम आर्थिक मामिला तथा योजना मन्त्रालयले खर्च गरेको छ ।
प्रदेश सरकारअन्तर्गत खर्च गर्ने निकायहरु मध्य प्रदेशसभाले विनियोजित सत प्रतिशत बजेट खर्च गरेको छ । यस्तै मुख्य न्यायधिवक्ताको कार्यालयले ९५.४९ प्रतिशत, स्थानीय तहहरुले ८७.०३ प्रतिशत र लोक सेवा आयोगले ३२.८७ प्रतिशत खर्च गरेको छ ।

१ महिनामा १२ अर्ब, ५ दिनमा ५ अर्ब बजेट खर्च
कर्णाली प्रदेश सरकारले आर्थिक वर्षको अन्तिममा ठूलो मात्रामा बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षको ११ महिनामा नौ अर्ब खर्च गरेको कर्णाली सरकारले असार २५ देखि ३० गतेसम्म अर्थात ५ दिनमा ५ अर्ब १३ करोड २३ लाख रुपैयाँ खर्च गरेको हो ।
असार २५ सम्म १६ अर्ब ८२ करोड ७९ लाख खर्च गरेकोमा ३० गतेसम्म २१ अर्ब ९६ करोड २ लाख रुपैयाँ खर्च गरेको छ । असार महिनामा मात्र १२ अर्ब २५ करोड १० लाख खर्च गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल ६५.८ प्रतिशत बजेट खर्च गरेको छ ।

प्रतिक्रिया दिनुहोस्