आफूलाई चाहिने प्याड आफै बनाउँदै «

आफूलाई चाहिने प्याड आफै बनाउँदै

झापा –महिनावारीको समयमा सुरक्षित रहन झापामा महिलालाई सेनेटरी प्याड बनाउन सिकाइएको छ । महिनावारी सरसफाइ सम्बन्धी प्रशिक्षणसहित प्याड बनाउन सिकाइएको हो ।
रोट्रक क्लब अफ बिर्तामोड मिडटाउनको आयोजना र अर्जुनधारा नगरपालिका–५ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा नगरका ३६ जना महिलालाई प्याड बनाउन सिकाइएको हो । आफू र परिवारका अन्य सदस्यलाई आवश्यक प्याड आफैँ बनाउन सक्ने अवस्था सिर्जना गर्न स्थानीय महिलालाई सीप प्रदान गरिएको रोट्रक क्लब अफ बिर्तामोड मिडटाउनकी संरक्षक प्रकृति न्यौपानेले बताइन् ।
“महिनावारीलाई सुरक्षित तवरले व्यवस्थापन नगरेकै कारण धेरै महिला रोग पाल्न बाध्य छन् । केही हदसम्म यसलाई न्यूनीकरण गर्ने उद्देश्यले हामीले प्याड बनाउने कार्यक्रम सञ्चालन गरेका हौं,” न्यौपानेले भनिन्, “यो सीप अझ धेरै महिलालाई प्रदान गर्न सके महिनावारीले निम्त्याउने धेरै समस्या हल गर्न सहज हुने थियो ।”
आर्थिक अभावका कारण अझै पनि धेरै महिला महिनावारी व्यवस्थापन गर्न नसकेको अर्जुनधारा –५ की कमलादेवी भट्टराईले बताइन् । “बजारमा पाइने प्याड महँगो र केमिकल प्रयोग गरिएको हुन्छ । पुराना र सुतिको कपडाको प्रयोग गरी अब म आफैँ प्याड बनाउन जान्ने भएकी छु,” भट्टराईले भनिन् । यहाँ सिकेको सीप गाउँघरका अरु महिला र महिला समूहका सदस्यलाई समेत सिकाउने भट्टराईले बताइन् ।
अर्जुनधारा–५की सीता सिवा पनि प्याड बनाउन जान्ने भएको सुनाउँछिन् । “हामी महिनावारीलाई सामान्य रुपमा हेर्दा रहेछौँ, बजारमा पाइने प्याड किन्न सधैँ पैसा हुँदैन,” सिवाले भनिन्, “यहाँ आएपछि थाहा पाएँ, सुरक्षित प्याड आफैँ बनाउन सकिने रहेछ । सफा प्याडको प्रयोग गर्दा धेरै रोगबाट छुटकारा मिल्ने रहेछ ।”
हट प्याड काठमाडौँको प्राविधिक सहयोगमा प्याड बनाउन सिकाइएको हो । हट प्याडका तीर्थराज कोइराला र श्रद्धा थापाले प्याड बनाउन सिकाएका थिए । देशको विभिन्न स्थानमा गएर सेनेटरी प्याड बनाउन सिकाउँदै आएको सहजकर्ता कोइरालाले सुनाए । उनले भने, “हामीले प्रथम चरणमा जेलमा रहेका महिलालाई मध्यनजर गरेर कार्यक्रम सुरु गरेका हौँ । अहिले हाम्रो कार्यक्षेत्र फराकिलो बनेको छ । आफैँले बनाएको प्याड एक पटक प्रयोग गरेपछि पुनः धोएर प्रयोग गर्न सकिन्छ ।” धोएर, आइरन गरे स्वास्थ्यका दृष्टिले अझ राम्रो हुने उनले सुनाए ।
प्याड बनाउन सिकाउँदै विभिन्न स्थानमा पुग्दा ग्रामीण क्षेत्रका मात्र नभएर तुलनात्मक रूपमा स्वास्थ्य सुविधा पुगेका सहरी क्षेत्रका महिला पनि स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेको अनुभव आफूले गरेको अर्की सहजकर्ता थापाले सुनाइन् । “महिलाका अनेक स्वास्थ्य समस्यामध्ये पाठेघरको क्यान्सर पनि हो,” थापाले भनिन्, “पाठेघरको समस्या देखिनुमा महिनावारी सरसफाइमा ध्यान नदिनु प्रमुख कारण रहेको पढ्न र सुन्न पाइन्छ । त्यसैले हामी यस क्षेत्रमा काम गर्दै आएका छौँ ।” यसरी आफैँ बनाइएको प्याड वातवरणमैत्री हुने उनले बताइन् ।
रोटरी क्लब अफ बिर्तामोड मिडटाउन र रोट्राक क्लबअफ बिर्तामोड मिडटाउनका सदस्यलाई सहजकर्ता उत्पादन गर्ने उद्देश्यले बिर्तामोडमा शुक्रबारदेखि तालिम दिँदैछ । “पाठेघरको क्यान्सरबाट मृत्यु हुने महिलाको संख्या बढ्दै गएको पाइन्छ । त्यसमा पनि ग्रामीण भेगका महिला उक्त समस्याबाट बढी पीडित छन्,” रोट्राक क्लबअफ बिर्तामोड मिडटाउनकी श्रद्धा प्रसाईँले भनिन्, “क्यान्सरबाट महिलालाई बचाउन सुरक्षित प्याड नै आवश्यक रहेकाले संस्थाका सदस्यलाई सक्षम बनाएका हौँ ।”
महिनावारीको समयमा सरसफाइको कमीले महिलाको पाठेघरमा ‘हुमन प्यापोलमा’ भाइरसको संक्रमण हुने महिला रोग विशेषज्ञ डा. स्मृतीमुल जोशीले बताइन् । यसको संक्रमणले पाठेघरको मुखमा क्यान्सर हुने डा. जोशी बताउँछिन् । “महिनावारीको समयमा सरसफाइमा ध्यान नदिँदा संक्रमण हुने ‘हुयम प्यापोलमा’ भाइरसले गर्दा केही वर्षमै पाठेघरको मुखमा क्यान्सर हुन्छ,” डा. जोशीले भनिन् । नेपालमा करिब १५ प्रतिशत महिलाको पाठेघरको क्यान्सरकै कारण ज्यान जाने गरेको डा. जोशीले बताइन् । जसका कारण असुरक्षित महिनावारी नै रहेको डा. जोशी सुनाउँछिन् ।

प्रतिक्रिया दिनुहोस्