माघ १ देखि भक्तपुरमा तरकारीको होलसेल बजार «

माघ १ देखि भक्तपुरमा तरकारीको होलसेल बजार

भक्तपुर-भक्तपुरको ठिमी चारदोबाटोस्थित हनुमन्ते किनारमा थोक तथा तरकारी बजार खुल्ने भएको छ । काठमाडौं कालिमाटीपछिको दोस्रो ठूलो दाबी गरिएको उक्त थोक तथा खुद्रा बजार आगामी माघ १ गतेदेखि सञ्चालनमा आउन लागेको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा तरकारी बजार सञ्चालक श्यामसुन्दर बस्नेतले भक्तपुरमा पहिलो ठूलो तरकारी बजार सञ्चालन गर्न लागिएको जानकारी दिए । आठ रोपनी क्षेत्रफलमा सुरु हुन लागेको सो व्यवस्थित तरकारी बजारमा दुई रोपनी क्षेत्रफलमा पार्किङसमेतको व्यवस्था गरिएको छ । तरकारी बजारमा करिब साढे ६ करोड रूपैयाँ लगानी हुने बस्नेतले जानकारी दिए ।
तरकारी व्यवसायमा रहेको बिचौलिया प्रवृत्ति अन्त्य गर्ने अठोटका साथ तरकारी बजार सञ्चालन गर्न लागेको बस्नेतको भनाइ छ । उनी नेकपाका भक्तपुर जिल्ला कमिटी सदस्य पनि हुन् ।
बजारमा पुग्न मध्यपुर ठिमीको चारदोबाटो, गठ्ठाघर र सूर्यविनायकको बालकोटको मुख्य सडकबाट दुईतर्फी पक्की सडकसमेत विस्तार गरिएको छ । तरकारी बजारमा १३० सटर र १५० स्टल गरेर २८० तरकारी पसल रहनेछन् ।
माघे संक्रान्तिलाई लक्षित गरेर यही पुस २५ गतेदेखि सस्तोमा तरुल बिक्री सुरु गर्ने र माघ १ गतेदेखि सबै तरकारी पाउने गरी सञ्चालन गरिने बस्नेतले जनाए । ७० प्रतिशत सटर बुकिङ भइसकेको उनको भनाइ छ । “कृषकलाई बजार खोज्न नपर्ने र उपभोक्तालाई सस्तो मूल्यमा ताजा तरकारी उपलब्ध गराउने लक्ष्य छ,” पत्रकार सम्मेलनमा बस्नेतले भने, “म राजनीतिक मात्रै होइन, सामाजिक मान्छे पनि हुँ । कृषकले गरेको मेहनत र दुःखको मूल्य नतिर्ने र बिना लगानी ३०० प्रतिशतसम्म नाफा खाने बिचौलियाको अन्त्य गर्ने लक्ष्यले मैले बजार सञ्चालनमा ल्याएको हुँ ।”
कालीमाटी, बल्खुलगायत अन्य तरकारी बजारभन्दा सस्तोमा उपभोक्तालाई सहजै ताजा तरकारी उपलब्ध गराउने, कृषकको मेहनतअनुसार उचित मूल्य दिएर गाउँगाउँबाट तरकारी संकलन गर्ने गरी व्यवस्था गरिएको उनले बताए ।
भक्तपुरका चारवटै नगरपालिकाका कृषकले उत्पादन गरेको तरकारी संकलन गर्न चारवटै नगरपालिकाको प्रत्येक वडामा एक–एक वटा तरकारी संकलन केन्द्र खोलिने उल्लेख गर्दै सञ्चालक बस्नेतले तत्कालका लागि १८ स्थानमा संकलन केन्द्र खोलिने जानकारी दिए ।
मौसमी तथा बेमौसमी तरकारी, फलफूल, दुर्गम गाउँमा उत्पादित विभिन्न प्रकारका तरकारी, जिउँदो माछा, मासु, मसला, डेरी, बेकरी क्याफे, सौन्दर्यका सामग्रीदेखि व्यापारीलाई कारोबार गर्न सहज हुने गरी सहकारी संस्थासमेत सञ्चालन गरिने उनको भनाइ छ । बजारभित्र १८ वटा सिसी क्यामरासमेत जडान गरिएको छ ।
तरकारी बजार र संकलन केन्द्रबाट प्रत्यक्ष रूपमा १०० जनाभन्दा बढीलार्ई रोजगारी प्राप्त हुने तथा सबै पसलमा गरी करिब ८ सयले प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा रोजगारी पाउने सञ्चालक बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्