चालकसँग अतिरिक्त शुल्क असुल्दै ट्राफिक प्रहरी «

चालकसँग अतिरिक्त शुल्क असुल्दै ट्राफिक प्रहरी


सर्वसाधारणले प्रयोग गर्ने सार्वजनिक यातायातको भाडादर विमानको भाडा नजिक पुग्न थालेको छ । ट्राफिक प्रहरीले अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातलाई कोरोना र जिल्ला प्रशासनको पास खोज्दै अतिरिक्त रकम असुल्न थालेपछि चर्को भाडाको कारण यात्रुबाहकको भाडा विमानको भाडा नजिक पुग्न थालेको हो ।
प्रदेश २ का विभिन्न जिल्लाबाट बागमती प्रदेशको काठमाडौंसम्मको साविक भाडामा ट्राफिक प्रहरीलाई प्रत्येक चेक पोष्टमा अतिरिक्त रकम बुझाउनु परेपछि चर्को भाडा तिर्न सर्वसाधारण बाध्य छन् । सिमरा विमानस्थलमा यात्रुको चाप बढेपछि हवाइ मार्ग हुँदै काठमाडौं जान दुई दिनसम्म कुर्नुपर्ने विमानस्थलले जनाएको छ ।
सार्वजनिक यातायातमा पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएपछि सार्वजनिक यातायातको भाडा विमानको भाडाकै हाराहारीमा पुगेको छ ।
हाल सिमरा–काठमाडौं हवाइ मार्गको भाडा दुई हजार आठ सय ५० रहेको छ भने सिमराबाट काठमाडौं जाने टाटासुमो तथा यात्रुबाहकको भाडा दुई हजारदेखि २२ सयसम्म रहेको छ । प्रदेश–२ ट्राफिक प्रहरीले लहान, वर्दिवास, चपुर, पथलैया, र बागमती प्रदेशको ट्राफिक प्रहरीले रातोमाटे, भैंसे, सिस्नेरी, फर्पिङमा राजधानी छिर्ने प्रत्येक सवारी साधनबाट प्रत्येक पटक पाँच सय रुपैयाँ लिएपछि ट्राफिक प्रहरीले बिना पास नै छोडिदिने गरेको सवारी चालकहरु बताउँछन् ।
ट्राफिक प्रहरीले कोरोना र सवारी पासको आधार बनाई अवैध रकम असुल्न थालेपछि राजधानी जाने यात्रुलाई प्रहरी खर्च बढी लाग्ने भन्दै बढी भाडा लिने गरेको हो ।
प्रदेश १ को झापादेखि पथलैयासम्म प्रत्येक ट्राफिक प्रहरी पोष्टमा रकम दिँदै आएका यात्रुबाहक रात्री बस प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले दुई दिनसम्म राखेर बढी रकम असुल्दै छाड्ने गरेको छ । राजमार्गमा ट्राफिक प्रहरीले कसुरको जरिवाना भन्दा अबैध असुलीमा नजर पु¥याउन थालेपछि यातायात व्यवसायी संघहरु आक्रोसित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्