उद्योग संगठन मोरङले २० जना युवालाई उद्यमी बनाउने «

उद्योग संगठन मोरङले २० जना युवालाई उद्यमी बनाउने


उद्योग संगठन मोरङले नयाँ व्यवसायको सिर्जना गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने उद्देश्यले स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमको सुरुवात गरेको छ ।
उद्योग संगठनले २० जना व्यावसायिक युवालाई उद्यमीमा रुपान्तरण गर्ने अभियान सुरु गरेको हो । खुल्ला रुपमा आवेदन माग गरेर नविन व्यावसायिक सोच विचार तथा अवधारणा भएका युवाहरूलाई १८ महिनाभित्र उद्यमशील बनाउने योजना सारिएको हो ।
संगठनले स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमको शुभारम्भ गर्दै साउन ३२ गतेसम्मका लागि व्यावसायिक योजना भएका युवाहरूसँग आवेदन माग गरेको छ । उद्योग संगठन मोरङअन्तर्गत स्टार्टअप तथा इनोभेशन समितिका संयोजक सुरेन्द्र गोल्छाका अनुसार योजनामा मात्र भएका वा सञ्चालित भई दुई वर्ष नकटेका व्यवसायीहरूले आवेदन दिन सक्ने संगठनका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए ।
उनले भने, “यसका लागि नविन व्यावसायिक अवधारणा, स्तरोन्नती तथा अनुशरण भएका कृषि तथा कृषिजन्य व्यवसायको शृंखलाभित्र पर्ने स्थानीय कच्चा पदार्थमा आधारित चालु उद्योग व्यवसायको अग्र वा पृष्ठ सम्बन्ध कायम हुनुपर्नेछ ।”
महत्वकांक्षी तर नमुना कार्यक्रमको पहिलो चरणमा आवेदकमध्ये २० युवा व्यवसायीलाई छनौट गरिनेछ । परेका आवेदनको छनौट गर्दा नविन व्यावसायिक सोच तथा अवधारणलाई प्राथमिकतामा राखिने संगठनको स्टार्टअप एण्ड इनोभेसन कार्यक्रमका संयोजक सुरेन्द्र गोल्छाले जानकारी दिए । व्यवसायीहरूलाई उद्यमशिलतामा रुपान्तरणका लागि प्राविधिक एवं व्यावसायिक विकास, वित्तीय एवं अन्य लगानीको पहुँचका लागि सहजीकरणको भूमिका उद्योग संगठनले गर्ने गोल्छाले बताए ।
यो कार्यक्रम सञ्चालनका लागि विश्वविद्यालय, प्राविधिक शिक्षालय, गैरसरकारी क्षेत्र, अनुसन्धान केन्द्रसँग समेत समन्वय गरिने भएको छ ।
समितिका संयोजक गोल्छाका अनुसार पूर्वाञ्चल विश्वविद्यालय, मनमोहन प्राविधिक विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, राष्ट्रिय आविष्कार केन्द्र, अन्तरप्रेरणा प्रालिसँग कार्यक्रमका लागि सहकार्य गरिने भएको छ । त्यसबाहेक स्थानीय तह र प्रदेश सरकारसँग समेत संगठनले कार्यक्रम अवधारणका बारेमा जानकारी गराएर सहजीकरण गर्ने अध्यक्ष प्याकुरेलले जानकारी दिए ।
अध्यक्ष प्याकुरेका अनुसार आवेदकमध्ये छनौट भएका व्यवसायीलाई योजना तर्जुमा, वित्तीय व्यवस्था, व्यवसाय दर्ता, कानुनी परामर्श, प्रशासनिक परामर्श, बजार व्यवस्थापन तथा ब्राण्डिङ, लेखा व्यवस्थापन, कर प्रशासन, मानव संशाधन तथा जिन्सी व्यवस्थापनसँग सम्बन्धित परामर्श निःशुल्क प्रदान गरिनेछ । यसैगरी उद्योगी–व्यवसायी, लगानीकर्ता र वितरकहरूसँगको सञ्जालीकरण, वित्तीय पहुँचका लागि लगानीकर्ता, बैंक तथा वित्तीय संस्थासँग समेत सहजीकरणमा पहल संगठन लिने अध्यक्ष प्याकुरेलले बताए ।
कार्यक्रमको बारेमा पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै संगठनका अध्यक्ष प्याकुरेलले प्रदेशस्तरबाटै आवेदन माग गरिएको बताए । छनौटमा परेका उनीहरूका लागि नविल बैंकको दिगो बैंकिङ कार्यक्रममार्फत १५ लाख, २५ लाख र एक करोड रुपयाँसम्म लगानी गरिने भएको छ । बैंकका प्रदेश प्रमुख सुबोध लोहोनीले बैंक आफैं व्यवसायी खोज्दै हिड्नुपर्ने अवस्थामा संस्थागत पहलमा जोडिने व्यवसायीका लागि निर्धक्क लगानी गरिने उल्लेख गरे ।
प्याकुरेलले आवेदन आह्वान गरिएकाले परेका आवेदनमध्येबाट छानेर उत्कृष्ट व्यावसायिक सोच भएका युवाहरूलाई उद्यमी बन्न सहयोग गरिने जानकारी दिए । उद्योग संगठनले सुरुवात गरेको कार्यक्रम नयाँ नभई भारतलगायत थुप्रै देशमा कार्यान्वयनमा आइसकेको प्याकुरेलले बताए । भारतमा २० हजार स्टार्टअपहरूले व्यवसाय सञ्चालन गरिरहेका र नेपालमा पनि ५ सय बढी स्टार्टअपले व्यवसाय गरिरहेकोे प्याकुरेलले गराए ।
व्यावसायिक सोच भएका युवाहरूको आइडिया (परियोजना) लाई छनौट गर्ने र उनीहरूलाई लगानी, मार्केटिङ, ब्रान्डिङ र अन्य कानुनी विषयमा पनि सहयोग गरिनेछ । संगठनले यसका लागि आवेदन आह्वान गरेको छ । आवेदन आगामी साउन ३२ गतेभित्रमा दिइसक्नु पर्नेछ । पत्रकार सम्मेलनमा उपाध्यक्ष राजकुमार गोल्छा, नन्दकिशोर राठी, चूडामणि भट्टराई, कार्यकारी सदस्य पारस लुनिया, कार्यक्रमका सहसंयोजक प्रा.डा. विजुकुमार थपलियालगायतले परियोजनालाई सफल बनाउन सबैको साथ र सहयोग अपरिहार्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्