एकै महिनामा ४० हजार मेट्रिक टन ग्यास आयात «

एकै महिनामा ४० हजार मेट्रिक टन ग्यास आयात

नेपाल आयल निगमले एकै महिनामा ४० हजार मेट्रिक टन ग्यास आयात गरेको छ । चिसोसँगै बजारमा ग्यासको खपत बढेपछि निगमले डिसेम्बर महिनामा मात्र ४० हजार मेट्रिक टन ग्यास आयात गरेको हो ।
अन्य समयको तुलनामा चिसो मौसममा ग्यासको खपत १५ देखि २० प्रतिशतले वृद्धि हुने गर्छ । सोही अनुसार बजारमा ग्यासको आयात बढ्दै गएको हो । नेपाल आयल निगमका अनुसार गएको डिसेम्बर महिनामा मात्र ४० हजार ९ सय ५ मेट्रिक टन ग्यास आयात भएको छ । निगमका प्रवक्ता विरेन्द्र गोइतले डिसेम्बरमा ग्यासको आयात अहिलेसम्मकै उच्च भएको बताए । “अन्य समयको तुलनामा चिसो समयमा ग्यासको खपत धेरै हुने गर्छ,” उनले भने, “ग्यास आयातमा कोटा प्रणाली हटाएपछि ग्यास उद्योगीले आवश्यकताअनुसार ग्यास ल्याउने गर्दा धेरै भएको हो ।” विगत ६ महिनामा सबैभन्दा धेरै ग्यास डिसेम्बरमा आयात भएको निगमको तथ्यांकले देखाएको छ ।
निगमका अनुसार नोभेम्बरमा ग्यासको आयात २५ हजार ४ सय ४१ मेट्रिक टन थियो । सो अवधिमा ग्यास ढुवानी गर्ने बुलेट संख्या कम भएकाले पनि आयात कम भएको हो ।
इन्डियन आयल कर्पोरेसन (आईओसी)ले बुलेट भाडामा लिन टेन्डर आह्वान गरेका कारण नोभेम्बरमा धेरै बुलेट आइओसीको टेन्डरका लागि भारतीय व्यवसायीले ‘होल्ड’ गरेका थिए । जसले गर्दा नोभेम्बरमा ग्यासको आपूर्ति कम भएको थियो । यस्तै अक्टोबरमा ३४ हजार ३ सय ३३, सेप्टेम्बरमा ३३ हजार २ सय २८ मेट्रिक टन ग्यास आयात भएको थियो । गत अगष्टमा निगमले २६ हजार ७ सय ४६, जुलाईमा २८ हजार ६ मेट्रिक टन ग्यास आयात गरेको थियो । त्यस्तै जुनमा २१ हजार ९ सय ५३, मे मा २७ हजार ४ सय ४०, अप्रिलमा २८ हजार ९ सय ७२, मार्चमा ३३ हजार ३ सय ७८, फेब्रुअरीमा २६ हजार १ सय ७४ र जनवरीमा ३५ हजार ३ सय ५७ मेट्रिक टन ग्यास आयात भएको निगमको तथ्यांकले देखाएको छ ।
ग्यास आयातमा निर्धारण कोटा प्रणाली हटाएपछि आयात बढ्दै गएको छ । सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रसम्म ग्यासको प्रयोग बढ्दै गएकाले पनि बर्सेेनि खपत बढ्दै गएको निगमको भनाइ छ । मुलुकबाट ग्यासका लागि बर्सेनि २० देखि २५ अर्ब रूपैयाँ बाहिरिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्