१७ वर्षदेखि रोकियो ६ हेलिकप्टर दिने अमेरिकी प्रस्ताव «

१७ वर्षदेखि रोकियो ६ हेलिकप्टर दिने अमेरिकी प्रस्ताव

–२०५८ सालमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारसँग अमेरिकाले नेपाली सेनाका लागि ६ वटा सैनिक हेलिकप्टर अनुदानमा उपलव्ध गराउने प्रतिबद्धता जनाएकोमा अहिलेसम्म कार्यान्वयन भएको छैन ।

संयुक्त राज्य अमेरिकाले १७ वर्षअघि गरेको सैन्य सहायता प्रतिबद्धता अझै पूरा गरेको छैन । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा अमेरिकाले नेपाली सेनालाई ६ वटा हेलिकप्टर अनुदान सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । तर, प्रतिबद्धता जनाएको १७ वर्ष वितिसक्दा पनि अमेरिकी अनुदान सहयोगका कुनैपनि हेलिकप्टर नआएको नेपाली सेनाका अधिकारीले जानकारी दिए ।
अमेरिकाले अफगानिस्तान मिसनमा प्रयोग गरिएका हेलिकप्टर नेपाली सेनालाई दिने उल्लेख गरेको थियो । माओवादी द्वन्द्व नियन्त्रणका लागि अमेरिकाले नेपाली सेनालाई सैनिक सहायता अन्तर्गत ती हेलिकप्टर दिने उल्लेख गरेको थियो ।
“तत्कालिन माओवादीका सशस्त्र गतिविधि नियन्त्रण तथा प्रभावित क्षेत्रमा फौज ओसारपसारका लागि अमेरिकाले २०५८ सालमै ६ वटा सैनिक हेलिकप्टर दिने प्रतिबद्धता जनाएको थियो,” नेपाली सेनाका एक उच्च अधिकृतले कारोबारसँग भने, “तर प्रतिबद्धता जनाएको १७ वर्ष बितिसक्यो, प्रतिबद्धताअनुसार कुनै प्रगति भएको छैन ।” अमेरिकाले सहयोग दिने छाँटकाँट नदेखेरै सेनाले ८ वटा हेलिकप्टर खरिद गर्नु परेको दावी गरेको छ ।
सैनिक स्रोतका अनुसार वि.सं. २०५८ सालमा जनाएको प्रतिबद्धता हेरफेर गर्दै अमेरिकाले २०७० मा ४ वटा हवाइसाधन दिने र त्यसमध्ये एउटा कार्गो विमान रहने भनिएकोमा अहिलेसम्म प्रतिबद्धता कार्यान्वयन नभएको सेनाले बताएको छ । नेपाली सेनाका पूर्व उपरथी बिनोज बस्न्यात पनि अमेरिकाले नेपाललाई सैनिक सहायता प्रतिबद्धता गर्दै जाने र त्यसअनुसार सामग्री उपलब्ध नगर्नुमा रणनीतिक स्वार्थ लुकेको बताउँछन् ।
“द्वन्द्वकालमा जनाएको सैनिक सहायता प्रतिबद्धता अहिलेसम्म नआउनुमा उसको रणनीतिक स्वार्थ हो,” पूर्व उपरथी बस्न्यात भन्छन्, “सर्सती हेर्दा सहयोग रोकिएको जस्तो लाग्न सक्छ तर यो क्षेत्रीय सुरक्षासँग जोडिएको गम्भीर विषय हो ।”
बस्न्यातले किन अमेरिकाले यतिधेरै सैन्य सहायता प्रतिबद्धता जनायो र किन अहिलेसम्म उपलब्ध गराएन भन्नेबारे सरकारले गम्भीर रुपमा समीक्षा गर्नुपर्ने बताए । केही दिनअघि सञ्चारकर्मीहरुमाझ नेपाली सेनाको हवाई महानिर्देशनालयले सार्वजनिक गरेको हवाई क्षमता विस्तारसम्बन्धी कार्ययोजनामा पनि अमेरिकाबाट ४ वटा हेलिकप्टर आउने उल्लेख छ । कार्ययोजना तर्जुमा गर्नेमध्येका सैनिक अधिकारी नै अमेरिकाबाट हेलिकप्टर आउनेमा आशावादी नै छैनन् ।
“सन् २००२ मा अमेरिकाले हामीलाई ६ वटा हेलिकप्टर दिने भनेको हो । सहायता प्रस्ताव पनि उनीहरुले नै गरेका हुन्,” २ दशकअघि अमेरिकाले गरेको प्रतिबद्धता सम्झदै एक एक उपरथी भन्छन्, “अफगानिस्तान मिसनमा प्रयोग भएका हेलिकप्टर उनीहरुले दिने भनेका थिए, प्रतिबद्धताअनुसार सहयोग दिएनन्, २०१४ मा आएर उनीहरुले जहाज दिन्छौं, हेलिकप्टर होइन पनि भने, त्यो भनेको पनि ५ वर्ष बितिसक्यो, अहिले फेरी अर्कै बहाना बनाएर अलमल्याएका छन् ।”
अहिले आएर अमेरिकी सेनाको इण्डो प्यासिफक कमाण्डले नेपाललाई दिने भनिएको हवाई सहायता सिनेटबाट पास हुनुपर्छ भन्दै अलमल्याएको सैनिक अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्