प्रादेशिक मौद्रिक नीतिको सान्दर्भिकता «
Logo

प्रदेशगत रूपमा आन्तरिक ऋण उठाउने विषयलाई प्रस्ट रूपमा मार्गदर्शन गर्न पनि प्रादेशिक मौद्रिक नीतिको आवश्यकता खड्किएको छ ।

प्रादेशिक मौद्रिक नीतिको सान्दर्भिकता

नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेसँगै बजेटले लिएका लक्ष्यहरू हासिल गर्नमा महŒवपूर्ण भूमिका खेल्ने आर्थिक नीतिका रूपमा रहेको मौद्रिक नीतिको तर्जुमामा नेपाल राष्ट्र बैंक जुटिरहेको छ । यसबीचमा प्रादेशिक रूपमा मौद्रिक नीति ल्याइनुपर्ने बहस पछिल्लो समयमा बाक्लै रूपमा चलिरहेको छ । संघीय अर्थव्यवस्था सुहाउँदो मौद्रिक नीतिका लागि प्रादेशिक रूपमा यस्तो नीति आवश्यक रहेकाले सोहीअनुरूप मौद्रिक नीति तर्जुमा गर्न विगतदेखि नै अर्थविद् एवं सरोकारवालाहरूले नेपाल राष्ट्र बैंकलाई सुझाउँदै आएका थिए । केही दिनअघि गण्डकी प्रदेश सरकारले प्रादेशिक रूपमा मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको विषय सार्वजनिक भएसँगै यससम्बन्धी बहसले थप स्थान पाएको हो ।
मौद्रिक नीतिले मुद्राप्रदाय, कर्जा र ब्याजदरको व्यवस्थापनमार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि र रोजगारी सिर्जनामा सहयोग पु-याउने उद्देश्य राखेको हुन्छ । यसका साथै तरलता व्यवस्थापनका विभिन्न उपकरणहरूको परिचालन, विनिमय दर तथा विदेशी मुद्रा परिचालन, कर्जा नीति, बैंक तथा वित्तीय संस्थाहरूको नियमन, सरकारी ऋणको व्यवस्थापनजस्ता अर्थतन्त्रका अति संवेदनशील विषयहरू मौद्रिक नीतिको अभिन्न अंगका रूपमा रहने गर्छन् । सरकारले आफ्ना नीति तथा कार्यक्रम कार्यान्वयनका लागि वार्षिक बजेटको तर्जुमा र कार्यान्वयन गर्छ भने बजेटले तय गरेको आय र व्ययको सन्तुलन मिलाउने हतियारका रूपमा नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्ने गर्छ । संघीयता कार्यान्वयनमा आइसकेको सन्दर्भमा केन्द्रीय बैंकले जारी गर्ने मौद्रिक नीतिले प्रादेशिक यथार्थतालाई समेट्न सके यसको प्रभावकारिता अभिवृद्धि भई देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अवस्था रहन्छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा कायम रहेका सातवटा प्रदेशहरू आर्थिक सम्भावनाका हिसाबले पृथक् विशिष्टता बोकेका विविधतायुक्त रहेका छन् । हरेक प्रदेशको सामथ्र्य, उपलब्ध स्रोतसाधन, जनशक्ति, उत्पादनका क्षेत्र, व्यावसायिक दक्षता, तुलनात्मक लाभका क्षेत्र, बजारसँगको पहुँच, भू–धरातल, हावापानीलगायतमा पृथक्ता रहेको छ । यस किसिमको पृथक्पनले आर्थिक गतिविधिहरूलाई सोझो रूपमा नै प्रभावित गर्ने भएकाले प्रदेशगत आर्थिक सम्भावनालाई प्रस्फुटन गर्न सोहीअनुरूपको मौद्रिक नीति आवश्यक रहेको देखिन्छ । अर्कातर्फ हरेक प्रदेश सरकारहरूले छट्टाछुट्टै रूपमा प्रदेशगत बजेट तर्जुमा र कार्यान्वयन गर्ने गरेका छन् । बजेटले लिएका लक्ष्यहरू हासिल गर्नमा महत्वपूर्ण भूमिका खेल्ने आर्थिक नीतिका रूपमा रहेको मौद्रिक नीति राष्ट्रिय रूपमा जारी गरिँदा यसले प्रदेशगत बजेट कार्यान्वयनमा समेत जटिलता निम्त्याउने गरेको देखिन्छ । केही दिनअघि प्रदेशहरूले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट हेर्ने हो भने पनि प्रादेशिक बजेटमा आन्तरिक ऋण परिचालन गर्ने प्रावधानसमेत राखेको देखिन्छ । मौद्रिक नीतिमा यससम्बन्धी आवश्यक व्यवस्था गरी प्रदेशगत रूपमा आन्तरिक ऋण उठाउने विषयलाई प्रस्ट रूपमा मार्गदर्शन गर्न पनि प्रादेशिक मौद्रिक नीतिको आवश्यकता खड्किएको छ ।
नेपालमा रहेका सातवटा प्रदेशहरूबीचमा जनसांख्यिक, सामाजिक, आर्थिक तथा वित्तीय रूपमा विविधता रहेको तथ्यलाई नेपाल राष्ट्र बैंकले २०७५ सालमा जारी गरेको प्रदेशगत प्रोफाइलले समेत पुष्टि गरेको छ । उक्त प्रोफाइलमा उल्लेख भएअनुसार सातवटा प्रदेशहरूबीचमा जनसांख्यिक हिसाबले विविधता रहनुका साथै जनसंख्याको वितरणसमेत असमान रहेको देखिन्छ । यसैगरी देशको कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशले करिब ३२ प्रतिशत योगदान दिने गर्छ भने जीडीपीमा कर्णाली प्रदेशको हिस्सा केवल ४ प्रतिशत मात्रै रहेको छ । कृषि, उद्योग र सेवा क्षेत्रहरूमा समेत प्रदेशगत योगदानको अन्तर व्यापक रहेको देखिन्छ । कृषिक्षेत्रमा प्रदेश नं. १ को अंश २१ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशको अंश सबैभन्दा न्यून ६ प्रतिशत रहेको छ । यस्तै, उद्योग क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको अंश ३१ प्रतिशत रहँदा कर्णाली र सुदूरपश्चिम प्रदेशको केवल ३ प्रतिशत मात्रै हिस्सा रहेको देखिन्छ । समग्र सेवा क्षेत्रको प्रदेशगत अवस्थामा समेत उत्तिकै अन्तर रहेको छ । समग्र सेवा क्षेत्रको उत्पादनमा बागमती प्रदेशको अंश ४४ प्रतिशत रहँदा कर्णाली प्रदेशको अंश ३ प्रतिशत रहेको अवस्था छ ।
कुल राजस्व संकलन तथा सरकारी खर्चमा समेत प्रदेशगत रूपमा व्यापक अन्तर रहेको देखिन्छ । नेपाल राष्ट्र बैंकको अध्ययन प्रतिवेदनअनुसार बागमती प्रदेशमा कुल राजस्वको ५० प्रतिशत अंश संकलन हुने र कुल सरकारी खर्चमा ५१ प्रतिशत अंश सोही प्रदेशले ओगट्ने गर्छ । अर्कातर्फ, कर्णाली प्रदेशले देशको कुल राजस्व संकलनमा ०.२ प्रतिशत मात्रै योगदान गर्ने गर्छ भने कुल सरकारी खर्चको ६ प्रतिशत अंश उक्त प्रदेशमा खर्च हुने गर्छ । यसैगरी नेपालमा आर्थिक रूपमा सक्रिय जनशक्तिको हिस्सा करिब ४० प्रतिशत रहेकोमा प्रदेश नं. २ बाहेक अन्य प्रदेशमा आर्थिक रूपले सक्रिय जनसंख्या राष्ट्रिय औसतभन्दा बढी रहेको छ भने प्रदेश नं. २ मा यस्तो संख्या न्यून अर्थात् ३१ प्रतिशत रहेको तथ्यांक छ । यसबाहेक बैंक तथा वित्तीय संस्थाको स्थिति र पहुँच, सहकारी क्षेत्रको उपस्थिति, गरिबीको अवस्था, आयस्तरजस्ता वित्तीय क्षेत्रका सूचकहरूमा पनि प्रदेशगत रूपमा व्यापक विविधता रहेको तथ्य नेपाल राष्ट्र बैंकले जारी गरेको प्रदेशगत प्रोफाइलले उजागर गरेको छ ।
यसरी प्रदेशगत रूपमा देखिएको विविधता एवं प्रादेशिक तहको अवस्था र त्यहाँको संसाधन उपलब्धताअनुसारको आर्थिक गतिविधि अघि बढाउन नीतिगत विविधिकरणमा ध्यान दिन एकदमै आवश्यक देखिन्छ । यस खालको आवश्यकतालाई सम्बोधन गर्ने एउटा उत्तम उपाय प्रादेशिक मौद्रिक नीति हो । नेपाल राष्ट्र बैंकले अध्ययन प्रतिवेदनमार्फत औंल्याएका सूचकहरूसँगै पछिल्लो समयमा चरणबद्ध रूपमा देखा परेको कोभिड महामारीका कारण अर्थतन्त्रमा परेको प्रभावका हिसाबले समेत प्रदेशगत रूपमा भिन्नता रहेको छ । यो यथार्थलाई मध्यनजर गरी जारी हुन लागेको मौद्रिक नीतिले कोरोनाको आर्थिक कहरमा मल्हमपट्टी लगाउने सन्दर्भमा समेत प्रदेशगत रूपमा छुट्टाछुट्टै नीति अंगीकार गर्नुपर्ने आवश्यकता रहन्छ । कोभिड–१९ का कारण प्रभावित क्षेत्र र उपक्षेत्रलाई प्राथमिकता दिंदै प्रादेशिक अर्थतन्त्रमार्फत समग्र अर्थतन्त्रको शीघ्र पुनरुत्थान हुने गरी अर्थतन्त्रलाई सकारात्मक प्रभाव पार्न सक्ने सन्तुलित मौद्रिक नीतिको तर्जुमा गर्ने हो भने प्रादेशिक मौद्रिक नीति उत्तम विकल्पका रूपमा रहेको देखिन्छ ।
नेपालको संविधान जारी भई देश संघीयता कार्यान्वयनमा गएको र प्रदेश सरकारहरू गठन भएको पाँच वर्ष पुग्न लाग्दासमेत प्रादेशिक मौद्रिक नीति जारी नहुनु मुलुकी अर्थतन्त्रका लागि सुखद अवस्था होइन । यो अवस्थालाई चिर्दै जारी हुन लागेको आसन्न मौद्रिक नीतिमा प्रादेशिक विविधतालाई समेट्नतर्फ नेपाल राष्ट्र बैंकको ध्यान पुग्नैपर्छ । यसो हुन सकेमा मात्रै प्रदेशगत सम्भावना, आवश्यकता र प्राथमिकताहरूको यथोचित सम्बोधन भई संघात्मक शासन व्यवस्था एवं जारी हुन लागेको मौद्रिक नीतिको समेत सान्दर्भिकता रहन सक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्