पाँचखाल सेजका लागि रुख कटान सुरु «

पाँचखाल सेजका लागि रुख कटान सुरु

काभ्रे-पाँचखालमा विशेष आर्थिक क्षेत्र निर्माणका लागि रुख काट्न सुरु गरिएको छ । पाँचखाल विशेष आर्थिक क्षेत्र प्राधिकरणले (सेज) निर्माणस्थलमा भएका रुख कटान सुरु गरी सेज निर्माण चरणमा प्रवेश भएको जनाएको छ । धेरै लामो समयदेखि चर्चामा रहेको सेजमा रुख कटान सुरु भएपछि सेज वनने कुरामा स्थानीयसमेत ढुक्क भएका छन् ।
२०६८ सालमै सेज स्थापना गर्ने भनेर जग्गासमेत प्राप्त भए पनि गत बिहीबारबाट रुख कटानसँगै विशेष आर्थिक क्षेत्र निर्माण सुरु भएको हो । पहिलो चरणमा एक हेक्टर (२० रोपनी) क्षेत्रमा फैलिएको ४ सय ५० रुख कटान गर्न लागिएको पाँचखाल विशेष आर्थिक क्षेत्र प्राधिकरणका सूचना अधिकारी सुन्दर थापाले जानकारी दिए । पाँचखाल नगरपालिकामा पर्ने दुईवटा सामुदायिक वनभित्रका रुख काट्नुपर्ने र वनबाट रुख कटानको आदेश प्राप्तिमा ढिलाइ हुँदा काम पनि ढिलो भएको सूचना अधिकारी थापाको भनाई छ ।
आगामी १५ दिनभित्र एक हेक्टर क्षेत्रफलका रुख काटिसक्ने र संरचना निर्माण थालनी हुने पाँचखाल सेजका इन्जिनियर अरुण भट्टले जानकारी दिए । “गत वर्ष नै एउटा ठेक्का सम्झौता भइसकेको छ, त्यसको काम पनि सुरु हुन्छ,” इन्जिनियर भट्टले भने । उनका अनुसार पहिलो चरणमा रुख कटान, जग्गा सम्याउने, प्रशासनिक भवन निर्माण र कम्पाउण्ड पर्खाल लगाउने योजना छ । यसपटक प्रशासनिक भवन निर्माण गर्न १२ करोड र पर्खाल निर्माण गर्न ४ करोड रूपैया बजेट प्राप्त भएको छ ।
पाँचखाल सेजको निर्माणका लागि २ अर्ब ९५ करोड २७ लाख १७ हजार रूपैयाँको अनुमानित लागत तयार भएको छ । प्राधिकरणले भैरहवा सेज र निर्माणाधीन सिमरा सेजभन्दा फरक खालका पूर्वाधारहरू सञ्चालन गर्ने योजना वनाएको सूचना अधिकारी थापाको भनाइ छ । उनका अनुसार सेज परिसरमा मनोरञ्जन केन्द्र र स्विमिङ पुलसमेत वनाउने योजना छ ।
पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले पाँचखालमा विशेष आर्थिक क्षेत्र वनन लागेकोमा खुसी व्यक्त गर्दै यसले धेरै रोजगारी सिर्जना गर्ने भएको हुनाले नगरपालिकाको तर्फवाट सबैखाले सहयोग गर्ने बताए । वनका कटान भएका रुखहरू जिल्ला वन कार्यालयमार्फत स्थानीय उपभोक्तालाई हस्तान्तरण गरिने नगर प्रमुख खरेलले जानकारी दिए । प्रत्येक वर्ष बजेट फ्रीज हुँदै आएकोमा यस बर्षबाट बल्ल काम सुरु भएकोमा खुशी लागेको स्थानीय कञ्चन अधिकारीले बताए । उनले निर्माण कार्यमा स्थानीय समुदायको साथ र सहयोग रहने बताए ।
चीनसँग व्यापारका लागि पाँचखाल सेज उपयुक्त भएकाले यसलाई मोडेलका रूपमा हेरिएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरकृष्ण बैद्य बताउँछन् । उनले सेज निर्माणको सार्थकता पूरा गर्न तत्काल तातोपानी नाका सञ्चालनको लागि पहल गर्न सरकारसँग आग्रह गरे । पाँचखालको देवीस्थान पाँडुल्ला सुवर्णेश्वरी सामुदायिक वनको ६ सय रोपनी र शिखरपुरको ४ सय गरी १ हजार रोपनी जग्गा सेज निर्माणका लागि वनले २० करोड रुपैयाँमा उद्योग मन्त्रालयलाई प्रदान गरेको हो । सेजका लागि ५० हेक्टर (१ हजार रोपनी) वनक्षेत्र किनिएको भए पनि हाललाई एक हेक्टर क्षेत्रफलको रुख काट्नमात्रै वनबाट स्वीकृति पाएको प्राधिकरणले जनाएको छ ।
पाँचखाल सेजभित्र कम्तीमा ५२ वटा निर्यातमूलक उद्योग स्थापना गर्न सकिने गुरुयोजनामा उल्लेख छ । निर्यातमूलक उद्योगलाई एकै ठाउँमा स्थापना गरेर निर्यातलाई प्रोत्साहन दिनसरकारले पाँचखाललाई विशेष आर्थिक क्षेत्रको (सेज) वनाउन लागेको हो । चिनियाँहरूको विशेष चासो नेपालमा फर्निचर उद्योग स्थापना गरेर युरोपमा निकासी गर्ने रहेको पाइएकोले गुरुयोजनाले समेत पाँचखालमा बाँसजन्य, काष्ठ उद्यमका साथै फर्निचरलगायत सामग्रीका उद्योग उपयुक्त हुने देखाएको छ ।
-कपिल कोइराला

प्रतिक्रिया दिनुहोस्