वाइडबडी प्रकरणबारे प्रतिवेदन स्वीकार्य छैन : सरकार «

वाइडबडी प्रकरणबारे प्रतिवेदन स्वीकार्य छैन : सरकार

काठमाडौं-सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले वाइडबडी प्रकरणबारे प्रतिनिधिसभाको लेखा समितिअन्तर्गतको उपसमितिले तयार पारेको प्रतिवेदन स्वीकार्य नभएको बताएका छन् ।
बिहीबार सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बास्कोटाले यस्तो प्रतिक्रिया दिएका हुन् । लेखा समितिअन्तर्गतको उपसमितिले तयार पारेको प्रतिवेदनलाई अन्तिम निर्णय जस्तो गरी प्रचार गरिएको भन्दै उनले सरकारलाई प्रतिवेदन स्वीकार्य नभएको बताए । उनका अनुसार प्रतिवेदनलाई उपसमितिले समितिमा पेस गरेको छ । त्यसकोे निर्णयपछि मात्र वाइडबडी प्रकरणमा सरकारले निर्णय गर्नेछ । यो विषयमा सरकारले छुट्टै समिति बनाएर छानबिन गर्नसक्ने पनि उनले बताए ।
संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले नेपाल वायुसेवा निगमले दुइटा वाइडबडी जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको निश्कर्ष निकालेको थियो । उपसमितिले पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, पूर्वसचिव वायुसेवा निगमको सञ्चालक समितिका अध्यक्ष रहेका प्रेमकुमार राई र शंकर अधिकारीलाई समेत तत्काल निलम्बन गरी कारबाही गर्न सिफारिससहितको प्रतिवेदन पेस गरेको छ । साथै पूर्व पर्यटनमन्त्रीहरू जीवनबहादुर शाही र जितेन्द्र नारायणदेवले पनि यो प्रकरणको जिम्मेवारी लिनुपर्ने उपसमितिले निश्कर्ष निकालेको छ ।
तर, सो प्रकरणबारे पत्रकारले राखेको प्रश्नको जवाफमा मन्त्री बाँस्कोटाले भने, “अभियोग लाग्दैमा कोही दोषी हुँदैन । अभियोग पूरा गर्न विभिन्न अवस्था पार गर्नुपर्छ । त्यो अवस्था आएको छैन ।”

प्रतिक्रिया दिनुहोस्