चर्को शुल्क नलिएको हिमालय एयरलाइन्सको स्पष्टीकरण

नेपाल–चीन संयुक्त उद्यम एअरलाइन्स्ले काठमाडौंदेखि दमामसम्मको उडानका क्रmमा चर्को मूल्यवृद्धि गरेको भन्ने समाचारको खण्डन गरेको छ ।
कम्पनीले विज्ञप्ति जारी गरेर हवाइ उडानमा चर्को भाडा र क्वारेन्टाइन सेवा शुल्क लिएको भन्ने सञ्चारमध्यममा आएको समाचारमा सत्यता नभएको दावी गरेको छ । एयरलाइन्सले तथ्यहीन समाचारको स्रोत र आधिकारीकता पुष्टि गर्न चुनौतीसमेत दिएको छ ।
एयरलाइन्सले नेपाल र साउदी अरब सरकारले जारी गरेको निर्देशिका अनुसार नै हवाइ भाडा, प्रवासमा क्वारनटाइन सुविधा र सम्बन्धित कोभिड–१९ स्वास्थ्य सुविधाको शुल्क लिएको जनाएको छ । साउदी सरकारको निर्देशिका अनुसार, यात्रुहरु स्वयं क्वारेन्टाइनमा बस्ने अनुमति नभएको र त्यहाको सरकारले तोकेको क्वारेन्टिन होटेलमा बस्नु पर्ने नियम रहेकाले नियमित उडान भन्दा केही महंगो भएको एयरलाइन्सले जनाएको छ ।
नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एअरलाइन्स्, अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी वायुसेवा कम्पनी हो । एअरलाइन्स्ले कतारसहित युएई, मलेशिया, साउदी अरेबिया, बंगलादेश र चीनमा उडान गर्दै आएको छ ।